काठमाडौं । काठमाडौंका ग्राहकलाई लक्षित गर्दै चित्लाङको ॐ अध्याय रिट्रिटले गर्मी छल्ने विशेष प्याकेज घोषणा गरेको छ । चित्लाङमा रहेको रिसोर्टले बढ्दो गर्मीबाट बच्नका लागि काठमाडौंबाट आउने ग्राहकका लागि छुटको प्याकेज ल्याएको जनाएको छ । गर्मी महामेला नाम दिइएको प्याकेजमा असार १ गते देखि ७ गतेसम्म चल्ने छ।
चन्द्रागिरी र दामनको काखमा अवस्थित मकवानपुरको थाहा नगरपालिका ६ मा अवस्थित रिसोर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बढ्दो गर्मीलाई लक्षित गर्दै यो महामेला आयोजना गर्न लागेको जनाएको छ ।
महामेलामा काठमाडौंदेखि टिस्टुङ आवतजावत गर्न निःशुल्क बसको व्यवस्था गरिएको छ भने रिट्रिटमा निःशुल्क स्विमिङको प्रबन्ध मिलाएको छ ।
योजना अन्तर्गत बिहान ८ बजे काठमाडौंबाट आरामदायी बस छुट्ने छ । बस छुटेको करिव डेढ घण्टामा टिस्टुङ पुगेर स्विमिङको मजा लिन सकिने छ ।
दिनभर घुमफिर गरेर साँझ ५ बजे पुनः सोही बसमार्फत काठमाडौं फर्किने व्यवस्था मिलाएको पनि रिसोर्टले जनाएको छ । रिट्रिटमै रात बसेर फकिर्ने ग्राहकलाई पनि अर्को दिन निशुल्क बस उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
टिस्टुङ घुम्न जान मन लाग्दा लाग्दै पनि सवारीसाधन र आर्थिक समस्याले जान नपाएकाहरूलाई यस्तो प्याकेज ल्याइएको कम्पनीको दाबी छ । यसरी जाने आन्तरिक पर्यटकका लागि रिसोर्ट अन्य प्याकेजहरूमा पनि ३० प्रतिशत छुट दिइने कम्पनीको भनाई छ।
नेपाल सरकारबाट थ्रिस्टार मान्यता प्राप्त रिसोर्टमा स्विमिङ पुलसहित सुविधासम्पन्न ४६ कोठाहरू छन् । यहाँ आउटडोर तथा इन्डोर गेम्स, हर्स राइडिङ, सुन्दर बगैंचा, चिल्ड्रेन पार्क, स्पा लगायतको सुविधा रहेको छ ।