काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिन अस्वीकार गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा चलेको प्रधानमन्त्री र सांसदको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ नदिएका हुन् ।
संसदमा प्रधानमन्त्री ओलीलाई १० जना सांसदले प्रश्न सोधेका थिए । अन्तिममा सांसद साहले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । उनले प्रधानमन्त्रीलाई बिभिन्न ८ विषयमा कडा प्रश्न गरेका थिए । तर प्रधानमन्त्रीले उनको कुनैपनि प्रश्नको जवाफ दिएनन् । उल्टो उनले साहमाथि आक्रोस पोखे ।
ती मध्ये अन्तिममा थिए, आम जनता पार्टीका सांसद प्रभु साह । उनले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखे ।
यस्ता छन् प्रभु साहले प्रधानमन्त्रीलाई साेधेकाे प्रश्न ।
१. नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरूको संख्या कति छ ? उनिहरुको पैतृक सम्पति के कति थियो र अहिले कुन अवस्थामा छ ? ति अबैध सम्पतिहरूलाई राज्यको स्वामित्वमा ल्याउन तपाईले के के गर्नु भो ? खुलेआम हुण्डीबाट ति अबैध सम्पतिहरू विदेश लैजादा रोक्न नसक्ने तपाईलाई हामी सक्षम भन्ने कि असक्षम ? प्रधानमन्त्रीज्यू ति अबैध सम्पतिलाई अब स्वदेश फिर्ता ल्याउने तपाईको योजना के छ?
२. झण्डै ७० लाख भन्दा बढी नेपाली युवाहरू अहिले बैदेशिक रोजगारमा छन् । उनीहरूको श्रम समझौता अनुसार प्रत्येक वर्ष झण्डै ४० खर्ब भन्दा बढी रेमिट्यान्स नेपाल आउनु पर्ने हो ? तर अहिलेसम्मको रिपोर्ट बुझदा यो वर्ष जम्मा १३-१४ खर्ब मात्र आउने संभावना छ । मेरो प्रश्न छ, हामा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुण्डीमार्फत खुलेआम कालो धनसँग मिलान भैराख्दा तपाई किन मौन बस्नु भयो ? नेपाली युवाहरू भ्रष्टाचारीहरुको कालाधन साटनलाई बिदेशमा मरिरहेका छन ? हैन भने संख्याको अनुपातमा ती रेमिट्यान्स किन नेपाल आएन ?
३. वैदेशिक रोजगारमा जाने नेपाली मजदूरहरूले बिदेशमा आफनो ट्रेडयूनियनको हक पाएको छैन । किन ट्रेडयूनियनको हक न पाउने गरी श्रम समझौता गर्नु भो ? अहिलेको २,औँ शताब्दीमा नेपाली मजदूरलाई दासताको नारकीय जिवनमा धकेलदा तपाईहरूले के कति लाभ पाउनु भएको हो?
४. नेपालमा जीडीपी र राजस्वको अनुपात हेर्दा सरकारले जीडीपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ | ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढी राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको देखिन्छ, जो जीडीपीको ३०% हुन आउछ | यसलाई कर आतंक न भन्ने त के भन्ने प्रधानमन्त्रीज्यू ? के यस्तै कर प्रणालीले हाम्रो अर्थतन्त्र सुधार हुन्छ ? हुँदैन भने, यो कर आतंकलाई रोक्ने योजना के छ?
५. तपाईंले सार्वजनिक रुपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जाँदैछु भनेको कहिले हो ? निम्तो नै नआईकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनूभूति हुँदैन?
६. यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आँफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहुमत समेत नहुँदा अहिले बिचल्लीमा परेको जस्तो अनुभूति हुँदैन ? सत्ता-सहयात्रामा रहेका दलले नै अध्यादेश अस्विकार गर्ने निर्णय गरिसकेपछि अब तपाईं कुन नैतिकताले पदमा बस्नु हुन्छ ?
७. संघीय राजधानी जोड्ने सबै राजमार्गहरु अस्तव्यस्त छन् । तर प्रधानमन्त्री जीले चारैतिर विकासको चकाचाँध मात्र देखु हुन्छ । यदी त्यसो हो भने, ती राजमार्गहरुमा तपाई आफैं किन यात्रा गर्नुहुन्न ? त्याहाँ लगातार भैरहेको घटना दुर्घटनाको जिम्मा कसले लिने ?
८. आवासविहीनहरुलाई घर बनाउन 'सुरक्षित आवास' भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितहरूसँग मजाक गर्नुभयो ? प्रधानमन्त्री जी यसको जवाफ दिनुस् ? धन्यवाद !
तर, प्रधानमन्त्रीले यी कुनै पनि प्रश्नकाे जवाफ दिएनन् । प्रधानमन्त्रीले भने, ‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा,’ प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै प्रश्न गरे, ‘के म मेनपावरको मान्छे हुँ ? अहिले म सरकारमा आएपछि यो ८ महिनाबाट सुरु भएको हो । तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?’
त्यसपछि सांसद शाहले प्रतिवाद गर्न खोजेका थिए । तर भामुख देवराज घिमिरेले समय दिएनन् ।
प्रधानमन्त्रीले फेरि भने, ‘माननीयजीले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन । मैले धेरै जवाफ दिइरहनुपरेन । यहाँलाई धन्यवाद छ ।’