उदयपुर । उदयपुरको कटारी नगरपालिका –१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोरा शङ्कास्पद अवस्थामा मृत फेला परेका छन्। बिहीबार बिहान सोरुङ्गछविसेमा अन्दाजी ४० वर्षीय निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा घरभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुको आफ्नै घर भित्र रगतले लतपतिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईँले बताए। बालकको घाँटीमा धारिलो हतियारले काटेको जस्तो देखिएको छ भने महिलाको शव घोप्टिएको अवस्थामा फेला परेको वडाअध्यक्ष क्षेत्र बहादुर खड्काले जानकारी दिए । ‘खाटमाथि सुतेका बालकको शरीरमा निकै चोटपटक लागेको जस्तो देखिन्छ’, उनले भने, ‘आमा घोप्टो परेर सुतेको देखिएकाले कहाँ चोट लाग्यो भनेबारे कटारी बाट प्रहरी आएपछि थाहा हुनेछ, तर अवस्था हेर्दा यो कसैले हत्या नै गरेको हो भन्ने अनुमान लगाउन सकिन्छ । ’
स्थानीयले आमाछोरा मृत अवस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । घटनास्थल विकट क्षेत्रमा रहेकाले प्रहरीको टोली घटनास्थल पुगि नसकेकाले घटनाको थप विवरण आउन बाँकी रहेको डिएसपी चापागाईले बताए ।
मृतकका श्रीमान अशोक थापा कान्छी श्रीमती लिएर विगत तीन वर्षदेखि भारतको दिल्लीमा बस्दै आएको वडा अध्यक्ष खड्काले बताए। श्रीमानले कान्छी श्रीमती लिएर दिल्ली गएपछि निर्मलाले आफ्नो गुजारा चलाउन सामान्य पसल गरेर गाउँमै बस्दै आएकी थिइन् ।
घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ ।