नेभिगेशन
सबै कुरा

बाख्रीको मासुमा खसीको राजखानी सिलाएर टाँसेर बिक्री

वीरगञ्ज । वीरगञ्जमा बाख्रीको मासुलाई खसिको भनेर झुक्याएर बेच्ने गरेको फेला परेको छ । बाख्रीको भन्दा खसीको मासु महँगो हुने भएकाले अधिक नाफा कमाउन एक व्यापारीले बाख्राको मासुमा सिलाएर खसीको अण्डकोष टाँसेको फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साको बाख्रीको मासुमा खसिको अण्डकोष सिलाएर टाँसिएकै अवस्थामा रङ्गेहात २ पर्साका हारुन मियाँ अन्सारीलाई पक्राउ गरेको छ । 

पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालकाअनुसार वीरगञ्ज महानगर १३ का ४१ वर्षीय अन्सारीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । बाख्रीको मासुलाई खसिको भन्दै झुक्याएर बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले बिक्रीका लागि राखेको मासुमै खसिको अण्डकोष (राजखानी) सिलाएर टाँसेको भेटिएको सूचना अधिकारी लम्सालले बताए । 

महानगरको १३ वडास्थित आसमिन फ्रेस हाउसबाट यस्तो अवस्थामा १५ किलो मासु पनि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । पर्सामा खसिको मासुको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ र बाख्रीको मासुको मूल्य ६ सय रुपैयाँमा बिक्री हुन्छ । 

बाख्रीको मासुमा खसिको राजखानी टाँस गर्दा किलोमै ४ सय रुपैयाँ  नाफा हुने भएपछि यस्तो गरिएको हुनसक्ने प्रहरीको भनाई छ । पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानका लागि अदालतले ५ दिनको म्याद दिएको पनि प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्