काठमाडाैँ । गत असार २९ गते काठमाडौंको ढलमा पोलियोको भाइरस फेला परेको पुष्टी भयो । स्वास्थ्य मन्त्रालय मातहतको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले सङ्कलन गरेको नमूना परीक्षण गर्दा खोपबाट उत्पन्न पोलियो भाइरस भेटिएको थियो । महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार नेपाल पोलियो मुक्त भएको १० वर्षपछि काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट सङ्कलन गरेको ढलको नमूनाले वातावरणमा पोलियो भाइरस भेटिएको हो ।
यद्यपि अहिलेसम्म बालबालिकामा पोलियो संक्रमण भएको पुष्टि भने नभएको गौतम बताउँछन् । उनका अनुसार हालसम्म उपलब्ध नमूना र परिक्षण रिपोर्टहरूका आधारमा काठमाडौँ उपत्यका नै पोलियोको जोखिममा परेपछि महाशाखाले खोप अभियान सुरु गरेको छ । साउन ९ गतेबाट उपत्यकाका बालबालिकालाई पोलियोबाट जोगाउन खोप अभियान सुरु भएको डा गौतम बताउँछन् । उनका अनुसार उपत्यकामा पोलियोको जोखिममा पर्न सक्ने ५ वर्ष उमेर भन्दा मुनीका झण्डै २ लाख ८० हजार बालबालिकाहरू छन् ।
पोलियो भाइरस के हो ? बालबालिकालाई कसरी पोलियोबाट जोगाउने ? पोलियोको खोप अभियान र बालबालिकाका लागि अभिभावकले अपनाउनुपर्ने राजधानीबारे सिधाकुराका लागि लक्ष्मण गिरीले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।
काठमाडौँको ढलमा कसरी भेटियो पोलियो भाइरस ?
स्वास्थ्य सेवा विभाग मातहतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जेठ १३ गते सो क्षेत्रबाट ढलको नमुना सङ्कलन गरेको थियो । उक्त नमुनाको रिपोर्ट असार २९ गते आएको थियो । सो क्रममा पोलियोको नयाँ भेरियन्ट फेला परेको हो । काठमाडौँको थापाथली आसपास भएर बग्ने टुकुचा खोला र बागमती नदीको संगमस्थल परिसरको ढलमा पोलियो जीवाणु भेटिएको हो ।
निरन्तर परीक्षण गर्ने विभागले सन् २०१० यता नेपालमा पोलियोको जीवाणु पाएको थिएन । त्यसो त सन् २०१४ मा नेपाल पोलियोमुक्त देश समेत बनेको थियो तर त्यसको एक दशकपछि ढलमा पोलियोको नयाँ भेरियन्ट ‘भ्याक्सी डेरिभ्ड पोलियो भाइरस–टाइप ३’ फेला परेको हो । सन् २०१७ देखि देशका विभिन्न स्थानमा पोलियो परिक्षण गर्दै आएको प्रयोगशालाले हालसम्म ७ सय ५० वटा नमुना सङ्कलन गरिसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले (डब्ल्यूएचओ) ले सन् २०२६ सम्म विश्वलाई पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ, जसका लागि कुनै पनि राष्ट्रमा पछिल्लो १० वर्षमा मानिसमा पोलियो देखिनु हुँदैन । तर, पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको नेपालमा उक्त जीवाणु देखिएसँगै स्वास्थ्य क्षेत्र तरङ्गित बनेको छ ।
पोलियो भाइरस के हो ? यो कसरी सर्छ ?
पोलियो बालबालिकालाई पक्षघात गराउने सरुवा भाइरस हो । यो भाइरसद्वारा लाग्ने रोग हो । व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्वारा यो रोग फैलिन्छ । संक्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गर्छ । पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक–फरक हुन्छन् ।पोलियो दुषित खानेपानी अथवा खानेकुरा जसमा पोलियोको विषाणू अर्थात भाइरस छ र त्यो खायो भने मानिसमा पोलियो लाग्ने हो । यदि पोलियो समाजको एउटा व्यक्तिलाई भयो भने अर्को व्यक्तिलाई पनि सर्छ । यसलाई सरुवा रोग पनि भन्न मिल्छ ।
पोलियोका लक्षणहरु के के हुन ?
हिजोसम्म खेलिरहेको बच्चालाई आज लुलो पक्षघात भयो भने अर्थात हातखुट्टा अचानक नचल्ने वा भनौँ शरिरका कुनै पनि अंगहरु अचानक चलेनन् भने त्यो पोलियोको लक्षण हो । त्यस्तो लक्षण देखिएमा बच्चाको दिसाको जाँच गर्नुपर्छ । यदी पोलियो भएर पक्षघात भयो भने त्यस्ता बालबालिका जीवनभर रोग पालेर बाँच्नुको विकल्प हुँदैन ।
त्यस्तै पक्षघात विस्तारै शरिरका विभिन्न भागमा फैलन्छ र बच्चालाई श्वास फेर्न गाह्रो भएर मृत्यु पनि हुनसक्छ । त्यस्ता धेरै उदाहरण विश्वमा छन् । त्यो संगसँगै कतिलाई ज्वरो आउने, जीउ दुख्ने, रुवाखोकी लाग्ने, पखाला हुने जस्ता लक्षण देखा पर्छन् ।
अहिले फेला परेको पोलियोको भाइरस कस्तो हो ?
हामीले यस अघि पनि निरन्तर पोलियोको भाइरस जाँच गरिररहेका थियौँ । यस्तो जाँचमा बालबालिकालाई खुवाएको वा इन्जेक्ट गरिएको पोलियो खोप दिशामार्फत पानीमा बगेर आएको मात्रै पाइएको थियो । तर, यस पटक त्यो पोलियोसँग मिलेर (म्युटेसन) भएर नयाँ भाइरस बनेको देखियो ।
यसको जोखिम क्षेत्र चै के हो ?
हामीले प्राप्त गरेको नमूना परीक्षणबाट यो सिङ्गो उपत्यकामा पोलियोको जोखिम देखियो । किन भने परिक्षण भएका भाइरसको नमूना टुकुचा खोलाको मात्रै नभई बागमति नदीको पनी हो । अव यसको स्रोत पहिचान गर्न सिङ्गो उपत्यका नै अनुसन्धानको विषय हो । उपत्यका झण्डै २ लाख ८० हजार ५ वर्ष मुनीका बालबालिका रहेको तथ्याङ्क छ । यसर्थ उनीहरुको सुरक्षाका लागि पोलियो विरुद्धको अतिरिक्त डोज खोजको अभियान सरकारले चालेको हो । कुनै पनि यो समूहका बालबालिकालाई खोज लगाउनबाट नछुटुन भन्ने नै अहिलेको प्रमख आवश्यकमा हो त्यसैअनुसार अभिभावकले पनि तदरुकता देखाउन म आग्रह गर्छु ।
खोपले सुरक्षित राख्छ तर पोलियोबाट जोगिन व्यक्ति र परिवारको पनि दायित्व हुन्छ नी हैन ?
अवश्य हुन्छ । सबै भन्दा पहिले खानपानको स्वच्छतामा ध्यान दिनु पर्यो । सफा पानीको प्रयोग प्रयोग गर्नु प¥यो । भाइरस भएको खानेकुरा खाँदा पनि पोलियोको जोखम हुन्छ यसर्थ यी कुरामा परिवार देखि नै सचेत बनौँ । बालबालिकामा हिजोको आजै पोलियोसँग मिल्दोजुल्दो लक्षण देखिए चिकित्सकको सम्पर्कमा पुगौँ । महत्वपूर्ण कुरा के हो भने यो रोग समाजमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र यो रोगबाट पक्षघात भएमा निको हुँदैन । ज्यान जाने जोखिम रहन्छ ।
सुरक्षाको पूर्व तयारी घरमै कसरी गर्ने ?
उमालेको वा उमालेर सेलाएको स्वच्छ पानी पिउनु पर्छ । दूषित खानेकुरार्ला त्याग्नु पर्छ । खाना खानु अघि र पछि सफासँग हात, खुट्टा धुनुपर्छ । बालबालिकाको दिशा पिसाब स्वच्छतरिकाले शौचालयमै बिर्सजन गर्नुपर्छ । खोपलाई कसैगरी पनि नछुटाउनु हुन अनुरोध ।
सरकारले प्रतिकार्यमा के के काम गर्दैछ ?
हामीले अहिले खोपको मात्रा पुरा गरे नगरेका बालबालिकाहरुको विवरण हेरिरहेका छौँ समुदाय स्तरमा पोलियोको बिरामी बालबालिका छकी छैन भन्ने सर्भिलेन्स सुरु भएको छ । खोप अभियान र समाजमा रोगको अवस्था पहिल्याउन स्वास्थ्यकर्मीको अभिमुखीकरण र परिचालन सुरु भइसकेको छ । खोप अभियान हिजो देखि सुरु भएको छ ।