नेभिगेशन
सबै कुरा

विद्यार्थीलाई होस्टलमै राख्न र घटनाको निस्पक्ष अनुसन्धान गर्न केआईआईटी प्रतिवद्ध छः भारतस्थित नेपाली दूतावास

काठमाडौँ । भारतको उडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनाबारे भारतस्थित नेपाली दूतावासले आवश्यक प्रबन्ध मिलाइरहेको बताएको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै सो बारे जानकारी गराएको हो । 

दूताबासले उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रावासबाट निकालिएको सूचना प्राप्त हुनासाथ उक्त शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरुसँग छलफल गरेको बताएको छ । 

‘उक्त छलफलमा यस राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो । त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो । यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा वस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।  

त्यस्तै दूतावासले उक्त शैक्षिक संस्थाकी विद्यार्थी स्व. प्रकृति लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएको र शैक्षिक संस्थाले पनि गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तीमा जनाइएको छ । 

विज्ञप्तीमा भनिएको छ, ‘घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसंग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरुबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ ।’

दूतावासले मृतक प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्