काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले व्यापारीको घरमा गरेको सहमतीलाई राष्ट्रिय सहमती मान्न नसकिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले मध्यरातमा २ दलबीच गुपचुप भएको सहमतिलाई राष्ट्रिय सहमति मान्न नसकिने बताएका हुन् ।
‘सहमतिको विषय यो सदनमा धेरै चल्यो । त्यसकारण हामीले सहमति गरेका हौँ, उसकारण हामीले सहमति गरेका हौँ, हामीले यो कारण सहमति गरेको हो भन्ने कुरा आयो । तर दुखका साथ भन्नुपर्छ, नेपाली जनताले मत दिएर पठाउनुभएका केही माननीयज्यूहरु यहीँ हुनुहुन्छ ।’, उनले भने, ‘अधिकांश त के, १/२ जना बाहेक कसैलाई हो भनेर गरिएको त्यो सहमतिबारेमा अलिकति पनि जानकारी छैन । बिना जानकारीको यो सहमति न राष्ट्रलाई थाहा छ । न सहमति गर्ने दलका सांसदहरुलाई थाहा छ ने नेताहरुलाई थाहा छ । यो कस्तो सहमती होला ?’
देश, जनता र स्वमं आफ्ना दलका नेता कसैलाई थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नम दिएर उक्त शब्दको मानमर्दन भएको गृहमन्त्री लामिछानेले बताएका छन् । उनले भने, ‘अनि यो कस्तो सहमति होला सभामुख महोदय, मध्यरातमा कुनै एउटा व्यापारीको घरमा बसेर गर्नुपर्ने ? अनि त्यसलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने ? राष्ट्र, राष्ट्रिय जस्ता गहन शब्दहरु यसको परिभाषा कुनै एउटा व्यापारीको घरमा आजसम्म देशलाई, जनतालाई, आफ्ना दलका नेता कसैलाई थाहा नदिई गरिएको गरिएको सहमतिलाई राष्ट्रिय भनेर लेपन लगाउँदा मानमर्दन भएको छ । राष्ट्र र राष्ट्रिय शब्दको मानमर्दन भएको छ सभामुख महोदय । त्यो सहमति हुन सक्ला, राष्ट्रिय सहमति हुन सक्दैन ।’