काठमाडौँ : इजरायलमा अध्ययनका लागि पुगेका सबै नेपाली विद्यार्थीलाई एकैसाथ नेपाल ल्याउने तयारी रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा एक पत्रकार सम्मेलन गर्दै उनले २६५ जना विद्यार्थी अध्ययनका लागि गएको र १० जनाको निधन साथै केही सम्पर्कमा नरहेको जानकारी गराउँदै सबै नेपाली विद्यार्थीलाई एकैपटक नेपाल ल्याउने तयारी रहेको बताइन् ।
नेपाल सरकारले इजरायलमा रहेका नेपाल फर्किन चाहने नेपालीहरुका लागि बिहिबार बिहान २ : ३० बजे नेपाल एयरलाइन्सको चार्टर विमान पठाउने भएको छ ।
२५० सिट भएको विमानमा सकेसम्म सम्पर्कमा आएर नेपाल आउन चाहने सम्पूर्ण नेपालीलाई ल्याउने तयारी रहेको उनले बताइन् । साथै बाँकी रहेका केहीलाई अर्को चरणमा ल्याइने साथै नियमित उडानमार्फत समेत उनीहरु आउन सक्ने उनले जानकारी गराइन् ।
केयर गिभरका रुपमा गएका नेपालीहरुलाई जोखिम कम भएका कारण पहिलो प्राथमिकता विद्यार्थीहरुलाई दिइएको उनले बताइन् ।
इजरायमा हाल ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत छन् भने २ सय ६५ जना विद्यार्थी अध्ययनका लागि गएको मन्त्रालयले जनाएको छ ।