काठमाडाैँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाकाृ मृत्यु भएको छ । दुर्घटनापछि खोज तथा उद्धारमा जुटेको नेपाल नागरिक उड्यायन प्राधिकरणले विमान चालकबाहेक बाँकी १८ जना जहाजमा सवार यात्रुहरुको मृत्यु भएको पुष्टी गरेको हो ।
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।
सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । जहाज दुर्घटनामा कोपाइलट शुसान्त कटवाल, यात्रुहरु अमित मान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्भेस मरासिनी, श्याम दुन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा,अधिराज शर्मा, उद्धप पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महत्तो, पुण्यरत्न शाही र विदेशी नागरिक अरिफ रेडाको मृत्यु भएको हो । पाइलट मनिष शाक्यको भने केएमसी आस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा परेका मध्ये प्रिजा खतिवडा र एक नाबालक अधिराज शर्मा एअरलाइन्सका इन्जिनियर मनुराज शर्माका श्रीमति र छाेरा हुन् ।