काठमाडौं । विवकेशील साझा पार्टीले, संसद् अधिवेशन छलेर अध्यादेश जारी गर्ने कदमलाई सरकारको कुत्सित नियत भएको बताएको छ ।
सरकारले संसद छलेर पाँच वटा अध्यादेश जारी गरेपछि विवकेशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको हो ।
पार्टी प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति जारी गर्दै संसद छलेर कानून निर्माण गर्नुलाई ‘जनताको प्रतिनिधित्व गर्ने निकाय संसदलाई पंगु बनाउने सरकारको नियत’ भएको उल्लेख गरिएको छ ।
पार्टीले ‘दुई तिहाइ सन्निकट सरकारको अध्यादेश मोह, कुशासनको प्रतिक’ भएको दाबी गर्दै संसद् छलेर सीमित व्यक्तिहरूको स्वार्थपूर्तिकालागि बदनियतपूर्वक कानून निर्माण गरिएको आरोप लगाएको हो ।
विज्ञप्तिमा ‘सरकारले हिउँदे अधिवेशन बोलाएर दफावार छलफलपछि कानुन निर्माण गर्नुको सट्टा अत्यन्त विशिष्ट अवस्थामा अभ्यास गरिने अध्यादेशलाई रोज्नु सरकारको कुत्सित नियत भएको विवेकशील साझाको ठहर छ’, उल्लेख गरिएको छ । विवकेशील साझा पार्टीले भनेको छ, ‘सामान्य अवस्थामा अध्यादेशमार्फत राज्यलाई दिर्घकालीन असर गर्ने कानुन निर्माण गर्नु संवैधानिक मर्म, लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ ।’
सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन),भूमिसम्बन्धी अध्यादेश सहित पाँच वटा अध्यादेश ल्याएको छ ।