नेभिगेशन
सबै कुरा

एनपिएल हेर्न त्रिवि क्रिकेट मैदानमा प्रख्यात क्रिकेटर ब्रायन लारा

काठमाडाैँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपिएल हेर्न वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा त्रिवि क्रिकेट मैदानमा पुगेका छन् । शुक्रबार बिहान काठमाडौँ ओर्लिएका उनी काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सको खेल भइरहेको समयमा त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् । 

उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का महासचिव पारस खड्का लगायत पदाधिकारीले स्वागत  गरेका थिए । 

लारा क्यानको निमन्त्रणमा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण हेर्न नेपाल आएका हुन्। वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपिएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ । 

क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए। उनले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेलेका छन् । एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाएका थिए । उनले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गरेका छन् भने ४८ अर्धशतक प्रहार गरेका छन्।  

उनले टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाएका छन् । लाराले सन् २००४ अप्रिल १२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाएका थिए ।

त्यसैगरी लाराले वेष्टइण्डिजका लागि दुई सय ९९ एक दिवसीय खेल खेलेका थिए । एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उनले १० हजार चार सय पाँच रन जोडेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्