नेभिगेशन
सबै कुरा
इजरायलमा हमास आतंक :

इजरायलमा अस्ताए कैलालीका नारायण, आफन्त भन्छन्ः “सरकारले ज्युँदो ल्याउन नसकेपनि मृत शरीर छिट्टै ल्याइदियोस्”

कैलाली : शनिबार बिहानै प्यालेस्टाइनको हमास समूहले इजरायलमा रकेट बम हानेका समाचार सामाजिक सञ्जाल भरी फैलिए । कृषिको अध्ययन तथा रोजगारीका लागि नेपालबाट करिब ५ हजार विद्यार्थी तथा श्रमिक इजरायल पुगेका थिए । 

प्यालेस्टाइनको गाजा क्षेत्रबाट बम आक्रमण भएको विषय धेरैका लागि समाचार मात्रै थियो तर इजरायलमा छोराछोरी तथा आफन्त भएकाहरूका लागि भने त्यो भयानक संकेत थियो । 

Dish Home
Global Ime Bank

विशेषगरी प्रयोगात्मक सिकाइ सँगै कमाइ गर्ने अवसर खोज्दै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू गाजा क्षेत्रबाट नजिक रहेको इजरायलका फार्म हाउसहरुमा पुगेका थिए ।

इजरायलमा छोराछोरी र आफन्त भएकाहरूले सम्पर्क गर्न प्रयास गरिरहेका थिए । अधिकांश सम्पर्कमा आएका थिएनन् । सम्पर्कमा आएकाहरूको अवस्था भयानक थियो । कोही घाइते भएर अस्पतालमा छटपटाइरहेका थिए त कोही बङ्करबाट गुहार मागिरहेका थिए । 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत कैलालीका नारायण प्रसाद न्यौपाने भदौ २५ गते विश्वविद्यालयबाटै इजरायल पुगेका थिए ।

४ दिन अघि बाबुसँग फोनमा कुर गर्दै घरमा वाइफाइको पैसा रिजार्च गरिदिएर फोन राखेका थिए नारायणले । त्यसपछि भने उनको फोन आएन, उनी हमास समूहको आक्रमणमा परेको खबर आयो, इजरायलस्थित नेपाली दुतावासले हमासको आक्रमणमा परि मृत्यु हुनेको सूचीमा उनको नाम पनि सार्वजनिक गर्यो । 

उक्त समाचारले न्यौपाने परिवार अहिले विक्षिप्त छन् । छोराको निधनको पीडाले आइतबार साँझदेखि नारायणका बाबुले पानी समेत पिएका छैनन् । 


पढाईमा अब्बल नारायण छिमेकमा कसैसँग नराम्रो नबोल्ने स्वभावका थिए । गाउँघरमै ३५ हजारसम्मको रोजगारी त्यागेर राम्रो ठाउँमा पढ्छु, पैसा पनि कमाउँछु भन्दै गएको छोराको निधन भएपछि यतिबेला नारायणमात्र हैन, पुरै गाउँनै स्तब्ध भएको छ । 

अहिले पनि नारायणको मृत्यु भयो होला भन्ने स्वीकार गर्न परिवारले सकिरहेको छैन । “कतैबाट कसैले यो खबर असत्य हो भनिदिनोस्” नारायणका बुबा प्रार्थना गर्छन् । नारायण सानै हुँदा आमाको निधन भएपछि बाबुले तीन छोरा हुर्काए । अहिले जेठो छोरा भारतको बैङग्लोरमा छन् भने कान्छा सानै छन् । 

छरछिमेकीहरू अहिले नारायणको परिवारलाई सम्झाउन सकिरहेका छैनन् । उनीहरु भन्छन् “सरकारले ज्युँदो ल्याउन नसकेपनि मृत शरीर छिट्टै ल्याइदियोस्” । 

नारायण इजरायलमा कृषिको सीप पनि सिकिने र कमाई पनि राम्रो हुने भएकाले केही पैसा जम्मा गरेर नेपालमै कृषि क्षेत्रमा राम्रो व्यवसाय गर्ने सपना सुनाउँथे । 

आतङ्कवादी हमास समूहको आक्रमणमा परी नारायणको शरीरमात्रै हैन उनीसँगै इजरायलमै उनको सपना पनि विलीन भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation