नेभिगेशन
सबै कुरा

‍‍...अनि नख्खुको भेलमा बगिरहेकालाई बचाउन चनिकलाल बाढीमा हामफाले

ललितपुर। चनिकलाल तामाङको घर काभ्रेको तिमाल ९ हो । उमेरले ३६ वर्षिय उनी नख्खु सुगम टोलमा बस्छन्  । उनी पेशाले पेन्टर हुन् । दशैंमा घर फर्किनु अघि उनी दिनरात नभनी पेन्टिङको काममा व्यस्त थिए ।

तर, केही दिनयता भीषण वर्षाका कारण उनको काम भइरहेको थिएन । शुक्रबार बेलुकी देखिनै भीषण वर्षा र बाढीले वितण्डा मच्चाउन थाले उनीहरु पनि चिन्तित थिए । शनिबार बिहान पनि अवस्था उस्तै थियो ।

तामाङ र उनका छिमेकी पूर्ण केसी अर्का एक साथीको सामान सारिदिन नख्खु खोलामा झरे । उनीहरु त्यहाँको सामान सार्दा सार्दै खोलाले ३ जना मान्छे बगाएर ल्याएको उनीहरूले देखे ।

खोलाको अघि अघि बगिरहेका एक पुरुषलाई बचाउन भन्दै चनिकलाल खोलामा हामफाले । तर, उनले ति पुरुषलाई बचाउन सकेनन् । उनी खोलामा रहेकै बेला एक बच्चा र अर्को एक पुरुष खोलामा बगेर आइरहेको चनिकलालले देखे । भिषण बाढीमा बगेका उनीहरु एकले अर्कालाई समातेका थिए । 

बाढीमा बगिरहेका उनीहरूलाई चनिकलाले छोपे र तानेर किनारामा ल्याए ।

उनीहरूले किनारामा ल्याउँदा बाढीमा बगेकी बालिका बेहोस थिइन ।  चनिकलालसंगै रहेका पूर्णले पनि उनीहरूलाई किनारामा ल्याउन साथ दिए । केहीबेर उनीहरूले त्यहाँ बालिका र उनका काकालाई प्राथमिक उपचार गरे । पेट थिचेर पानी निकाले पछि होसमा आएकी बालिकाले बाबा खोई भनेर सोधेको चनिकलाल बताउँछन् । 

केही सेकेन्ड अघि चनिकलालले समाउन नसकेका ति बालिकाका बुबालाई पनि अर्को टोलीले अल्ली तल समात्यो । त्यसपछि उनीहरूले तुरुन्तै उद्धार गरिएका तीनै  जनालाई पाटन अस्पताल पठाए । भीषण बाढीमा बगेकाहरुलाई एक्लो प्रयासमा उद्धार गरेपछि चनिकलालको चौतर्फी प्रशंसा भएको छ ।  

बाढीमा बगेकाको उद्धार पछि उनलाई धन्यवाद भन्नेको ओइरो छ । शनिबार बेलुकी सिधाकुरासँग कुरा घटनाबारे गफिदै  चनिकलालले आफूले विशुद्ध मान्छे बचाउने उद्देश्यले मात्रै नदीमा हामफालेको सुनाए । 

‘सुनकोशीमा पौडी खेलेको अनुभव थियो । मलाई के हुन्छ भन्दा पनि उनीहरूलाई बचाउन पर्छ भन्ने मात्रै मेरो मनमा आयो,’ उनले सिधाकुरासँग भने,‘ बाढीमा हामफाले र बचाउन सकेँ पनि ।’ चनिकलालले बचाएका तिनै मान्छेहरू हुन जो ६ घण्टा देखि नख्खु खोलाको कान्तिपुर कोलोनी नजिकै जस्ताको टहरामाथी बसेर उद्धारको हारगुहार गरिरहेका थिए । 

शुक्रबार रातिदेखि बाढीले घेरेको टहरोमा भित्रै बाढी पसेपछि नख्खु खोला किनारामा वेल्डिङ व्यवसाय गर्ने राज साहको परिवार शनिबार बिहान जस्ता फुकालेर छानोमा चढेका थिए । छानामा बसेर घण्टौँसम्म  राज, उनका भाई राजु र छोरी ६ वर्षीया मेघ्ना साह र अर्का एक काम गर्ने व्यक्ति देवराज कार्की गुहार माग्दा माग्दै उनीहरु ४ जनालाई बाढीले बगाएको थियो । 

बगाएका मध्ये ३ देवराज अहिलेसम्म फेला परेका छैनन् । उनीहरुको बेलैमा उद्धार हुन नसकेको भन्दै सरकारको तिब्र आलोचना भएको थियो । गृहमन्त्री रमेश लेखकले मौसम प्रतिकुलताका कारण उनीहरूलाई बचाउन नसकेको भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए । गृहमन्त्रीले बचाउन सकिएन भनेका व्यक्तिहरुलाई चनिकलालले बचाउन सफल भएका थिए ।       


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै