नेभिगेशन
सबै कुरा

घरायसी झगडाले गोली हानी श्रीमतीको हत्या, बुवा घाइते

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । एक जना साथीसँगै गएराति पौने २ बजेतिर मोटरसाइकल चढेर आएका हरिपूर्वा नगरपालिका ५ घर भएका धिरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् ।  सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धिरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार थिए ।

टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर धिरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् । रायको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ ।

सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले धिरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए । 

प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ । हतियार भने फेला नपरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले सुनाए ।

स्थानीयका अनुसार  धिरेन्द्र एक महिनाअघि वैदेशिक रोगजारीबाट घर फर्किएका थिए । घरायसी विवाद भएपछि उनी घरमा नबस्ने गरेको बुझिएको छ । गएराति भने धीरेन्द्र एक्कासी हतियारसहित घरमा आएर श्रीमती र बुवामाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

घटनास्थलको अनुसन्धानपश्चात मृतक चित्रलेखाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation