नेभिगेशन
सबै कुरा

पर्सामा दुई जनामा देखियो जापानिज इन्सेफ्लाइटिस राेग, एक जनाको मृत्यु

पर्सा । गएको २ महिनामा पर्सा जिल्लामा दुई जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) रोग देखा परेको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–१, बजारछपकैया निवासी ३० वर्षीय युवकको भदौ १७ गते उपचारको क्रममा मृत्यु भएको हो । 

जेई रोगको संक्रमण पुष्टि भएपछि गत भदौ ८ गते ती युवकलाई चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको भदौ १७ गते मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि, भदौ ५ गते पुष्टि भएकी पटेर्वासुगौली गाउँपालिका–३ की तीन वर्षीया बालिकाको भने हाल नारायणी अस्पताल, वीरगंजमा उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार गत वर्ष पनि पर्सा जिल्लामा दुई जनामा जापानिज इन्सेफ्लाइटिस देखिएको थियो, तर दुवै जना उपचारपछि निको भएका थिए । हालसम्म देशभर २२ जिल्लामा ३३ जना जापानिज इन्सेफ्लाइटिसका बिरामी फेला परेका छन् । तीमध्ये सबैभन्दा बढी कैलाली जिल्लामा ६ जना र झापा जिल्लामा ३ जना रहेका छन् ।

पर्सा जिल्ला पनि जापानिज इन्सेफ्लाइटिसको जोखिममा रहेको उल्लेख गर्दै ठाकुरले यो रोग विशेष गरी धानखेती हुने क्षेत्र र सुँगुर, बङ्गुर तथा हाँस पालन गर्ने समुदायमा बढी देखिने बताए। यो रोग मुख्यतः १५ वर्ष मुनिका बालबालिकामा बढी लाग्ने सम्भावना रहेपनि सबै उमेर समूहका मानिसहरूमा देखापर्ने उनले बताए ।

जापानिज इन्सेफ्लाइटिस रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट हुने कीटजन्य रोग हो। यो भाइरसबाट सङ्क्रमित सुँगुर, बङ्गुर, वा हाँसलाई लामखुट्टेले टोकेपछि मानिसमा सङ्क्रमण हुन सक्छ। तर यो रोग मानिसबाट मानिसमा भने नसर्ने ठाकुरले बताए ।

यस रोगको लक्षणमा एक्कासी उच्च ज्वरो, टाउको दुख्ने, वाकवाकी लाग्ने, घाँटी कडिने, जीउ काम्ने, बेहोश हुने र पक्षघात हुने जस्ता समस्या देखिने गरेको छ । सङ्क्रमितमध्ये ३० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्कबाट देखिएको ठाकुरले जानकारी दिए । उनले धानबालीमा काम गर्ने किसानहरूलाई बिहान र साँझ खेतमा नजाने र सुँगुर, बङ्गुर तथा हाँस पाल्नेहरूलाई घरमा झुल टाँगेर सुत्न सुझाव दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation