नेभिगेशन
सबै कुरा

श्रम मन्त्रालयको रोजगारी दिने कार्यक्रम ‘श्रमाधान रोजगार मेला’ (भिडियाे)

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो पटक यस्तो वृहत, महत्वकाङ्क्षी र व्यवहारिक योजना अघि बढाउँदै छ जहाँ हजारौँ नेपालीले काम पाउन सक्नेछन् ।

मन्त्रालयले देशैभरि आगामी जेठ १७ देखि जेठ ३० गतेदेखि ‘श्रमाधान रोजगार मेला’ सञ्चालन गर्दै छ । देशका बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको यो योजनाले नेपाली नागरिकको रोजगारी प्राप्त हुने, श्रमको आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने लक्ष्य राखेको छ । 


यस योजनामा रोजगारी नपाएर छटपटिरहेका युवा र रोजगारी दिन सक्ने रोजगारदाता समावेश हुन्छन् । जसका लागि श्रम मन्त्रालयले वेबसाइट नै सञ्चालनमा ल्याएको छ । उक्त वेबसाइटमा रोजगारी चाहने र रोजगार दिन चाहनेहरूले फर्म भर्न सक्नेछन् । जसले श्रम मेलालाई थप सहजीकरण गर्नेछ । 

यदि अनलाइनमा फर्म भर्न नसक्नेका लागि मेलामा छुट्टै रजिष्ट्रेसन बुथ उपलब्ध  हुनेछ । उक्त बुथबाट पनि रोजगारदाता र युवाहरूबीच सम्पर्क हुन सक्छ । 

श्रमाधानलाई हरेक नेपालीसँग जोड्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्दै छ । उक्त कार्यक्रममा मन्त्रालयले विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेर सीप विकास कार्यशालाहरू सञ्चालन गर्ने, नेटवर्किङ सत्रहरू आयोजना गर्ने, विभिन्न स्टलहरू र रोजगारीका अवसरहरूका प्यानल छलफलहरू गर्ने जस्ता लक्षित कार्यक्रममार्फत युवाहरूलाई रोजगारीका क्षेत्रमा जोड्ने उद्देश्य लिएको छ । 

इन्द्रेणीका सात रङ्गहरूसँग मेल खाने गरी उक्त मेलामा प्रत्येक कार्यक्रमलाई एक विशेष रङ्गसँग जोड्ने उद्देश्य लिएर सञ्चालन गर्न लागिएको छ । जहाँ समस्याहरूको तुरुन्तै समाधान 'कल सेन्टर', भोलिको तयारी आजैबाट अर्थात 'कनेन्ट', श्रम सम्बन्धी कानुन सबैले जानुन भन्ने ध्ययले 'ल', विविधताको एकता श्रममा समता भन्ने 'समता', 'सेकेन्ड इनिङ्स'मा अवकासपछिको आरम्भ र 'रोजगार बैँक' अर्थात पेशागत यात्राको सहयात्री हुनेछ । 

मन्त्रालयले सुरु गर्न लागेको यो कार्यक्रमले राष्ट्रलाई थप समृद्धि र सफलतातर्फ लैजान सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयले गर्न लागेको ‘श्रमाधान रोजगार मेला’ मा के के गरिन्छ ?

१. रोजगार खोज्नेहरूलाई विभिन्न क्षेत्रका रोजगारदाताहरूसँग भेट गराउँछ र रोजगारीका अवसर सृजना गर्छ । 

२. जागिर खोज्नेहरूको सीप अभिवृद्धि र रोजगारी बढाउन कार्यशालाहरू र नेटवर्किङ सत्रहरू सञ्चालन गर्नेछ ।

३. उद्यमशीलता र स्वरोजगारको लागि अवसरहरू देखाउने छ ।

४. रोजगारी खोज्नेहरूका बिच नवप्रवर्तन र व्यवसाय विकासलाई प्रोत्साहन गर्नेछ ।

५. रोजगारी सृजना, उद्योगहरूको प्रवर्द्धन र गतिशील रोजगार बजारलाई बढवा दिएर नेपालको समग्र आर्थिक वृद्धिमा योगदान दिने छ ।

६.अन्तरक्रिया, नेटवर्किङ, र सहयोगको लागि प्लेटफर्म सिर्जना गरेर जागिर खोज्नेहरू र रोजगारदाताहरू बिचको खाडललाई कम गर्नेछ । 

८. युवाहरूलाई विभिन्न रोजगारीका अवसरहरू सृजना गरेर व्यावसायिक विकासका लागि स्रोतहरूमा पहुँच प्रदान गरेर सशक्त बनाउने छ ।

९. रोजगारीका चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारी निकायहरू, निजी क्षेत्रका रोजगारदाताहरू र नागरिक समाजका संस्थाहरू बिच साझेदारी र सहकार्यलाई बढवा दिने छ ।

मन्त्रालयले कुन कुन समयमा कहाँ कहाँ यी कार्यक्रमहरू आयोजना गर्दैछ ?

नेपालका सात वटै प्रदेशमा गर्न लागिएको यो कार्यक्रम प्रत्येक प्रदेशमा दुई दुई दिनको हुनेछ । जहाँ १७ जेठमा कोशी प्रदेशबाट सुरु हुने सो कार्यक्रम ३० जेठमा बागमती प्रदेशबाट सम्पन्न हुने बताइएको छ । 

जेठ १७ र १८ गते विराटनगरबाट सुरु हुने श्रम रोजगार मेला १९ र २० मा जनकपुरमा, २१ र २२ मा पोखरामा, २३ र २४ मा बुटवलमा, २५ र २६ मा सुर्खेतमा , २७ र २८ मा धनगढीमा हुँदै २९ र ३० गते ललितपुरमा आएर सम्पन्न हुनेछ ।

उक्त कार्यक्रममा विभिन्न बुथहरू राखिनेछन्, जहाँ रोजगारी खोज्ने र रोजगारदाताबिच भेटदेखि श्रम बजारसँग सम्बन्धित विविध छलफल हुनेछ । उक्त कार्यक्रमस्थलमा रोजगारका नयाँ अवसरसँग जोडिन सरकारी र निजी  रोजगार बुथहरू हुनेछन् भने वैदेशिक रोजगारका विभिन्न पक्षहरूबारे थाहा पाउन वैदेशिक रोजगार बोर्ड बुथ हुनेछ । 

त्यस्तै श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक बारे जानकारी दिन सामाजिक सुरक्षा कोष बुथ, विभिन्न व्यावसायिक सीपहरू बारे थाहा पाउन व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुथ, सुरक्षित आप्रवासनबारे थाहा पाउन सामी बुथ, विदेशबाट फर्किएका कामदारहरूलाई समाजमा पुनर्स्थापित गर्ने बारे थाहा पाउन रेमी बुथ, उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित लगायत बहुआयामिक कुराहरू थाहा पाउन नेपाल उद्योग वाणिज्य महासङ्घ बुथ, नेपाल उद्योग परिसंघ बुथ, नेपाल च्याम्बर अफ कमर्स बुथ, तालिम तथा रोजगारबीचको अन्तर्य लगायत अन्य विभिन्न कुरा थाहा पाउन नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ बुथ, होटल व्यवसाय सँग सम्बन्धित रोजगारका विभिन्न पक्षहरूबारे थाहा पाउन होटल व्यवसायी महासंघ बुथ, श्रम सम्बन्धी कानुन सजिलो सँग जान्न ल बुथ हुनेछ । 

त्यस्तै भविष्यको श्रम बजारका लागि आजैदेखि तयारी गर्न कनेक्ट बुथ, वैदेशिक रोजगारबाट फर्केका नागरिकका सीप र दक्षतालाई उद्यमशीलतासँग जोड्न सेकेन्ड इनिङ्स बुथ, श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्या तत्काल सम्बोधन गर्न कल सेन्टर बुथ, श्रमका बहुआयामिक विषयहरूमा विज्ञहरू सहितको नीति मन्थन, नेटवर्किङ सत्र र अन्य धेरै साइडलाइन इभेन्ट समेत हुने मन्त्रालयले जनाएको छ । 

श्रमाधान रोजगार मेलाबारे जानकारी दिँदै श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुवात मात्रै भएको बताए । आगामी दिनमा मेलालाई जिल्ला, पालिका र वडासम्म पनि पुर्याउने उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्