नेभिगेशन
सबै कुरा

सुनवल नगरपालिकामा पेचिलो बन्दै ढकाल सरको सरुवा

नवलपरासी । राम प्रसाद ढकाल पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको लुम्बिनी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक हुन् । 

लामो समय शिक्षण पेशामा रहेका ढकाललाई अघिल्लो पटकको निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले विद्यालयबाट झिकेर पालिकाको शिक्षा शाखामा पाचौँ तहको काम गर्नेगरी काजमा खटायो । 

प्रावि तृतीय तहका शिक्षक ढकाल माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा आसीन रहेकै बखत ढकाल शिक्षा शाखामा ल्याउनुको कारण थियो -तत्कालीन पालिका प्रमुखले उक्त विद्यालयमा आफ्नो राजनीति सुहाउँदो अर्को प्रधानाध्यापक लैजानु । 

ढकालले विवाद नगरी तत्कालीन जनप्रतिनिधिलाई अनुकुल हुनेगरि आफू शिक्षा शाखामा खटिए । पालिकाले आफ्नो ४ नम्बर वडामा रहेको रमवापुर माविबाट उनको तलब भत्ताको निधो गर्यो । केही वर्ष यसैगरी चल्यो । २०७९ मा स्थानीय तहमा नयाँ जनप्रतिनिधि चयन भएसँगै शिक्षक ढकाल नयाँ जनप्रतिनिधिको तारो बने, पालिकामा जिम्मेवारीविहीन भए । 

आफ्नो संगठनको भागशान्तिका लागि प्रधानाध्यापकको जिम्मेवारीबाट हटाइएका ढकाललाई फेरि यस्तै स्वार्थका लागि अर्को विद्यालयमा सार्न पालिकाले अनेक हतकण्डा अपनाई रहेको छ । तर, यसअघि नै पालिकाको राजनीतिको शिकार भएका ढकाल यतिबेला भने नीतिगत स्पष्टता र पालिकाभरी समान नीति लागू गर्न माग गरिरहेका छन् । ‘मलाई अन्यायपूर्ण ढंगबाट व्यवहार गरिएको छ । अख्तियारदेखि सबै निकाय लगाइएको छ,’ शिक्षक ढकाल भन्छन् ,‘बरु म बेतलबी बिदा लिन्छु तर अन्याय सहन्न ।’ ढकालले आफूलाई पहिलोको भन्दा तल्लो जिम्मेवारीमा खटाउन लागेको भन्दै पालिका भरी समान प्रकृतिको नीतिगत जिम्मेवारी तोकेर आफ्नो सरुवा गर्न माग गरिरहेका छन् । 

पालिकाको नगर शिक्षा शाखाकाअनुसार शाखामा रिक्त रहेको पदका कारण उनलाई शाखामा राखेर यस अघि जिम्मेवारी दिइएको हो । शिक्षा शाखा अधिकृत पशुपति भट्टराईका  अनुसार पहिलो खाली दरबन्दीमा शिक्षक ढकालको पालिकामा पदस्थापन भएको थियो । तर, अहिले उनलाई विद्यालयमै फर्काउन ताकेता आइरहेको भट्टराई बताउँछन् । 


यता शिक्षकलाई सम्बन्धित विद्यालयमा हाजिर गराउन अख्तियारको समेत पत्र आएको नगर प्रमुख विमला अर्याल बताउँछिन् । अख्तियारको पत्रअनुसार नगरले उनलाई विद्यालयमा खटाउन पत्राचार गरेको अर्यालको भनाई छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation