नेभिगेशन
सबै कुरा
नाति बाजेको एकैरात हत्या :

सुस्तामा ७ महिनामा दोस्रो पटक उस्तै प्रकृतिको जघन्य अपराध, खोसियो मनोज र बबिताको खुसी 

पश्चिम नवलपरासी : मंसिर अन्तिम साता पश्चिम नवलपरासी सुस्ताकी बबिता चमार र उनको श्रीमान् मनोज चमार छोरा र छोरी लिएर रोजगारीका लागि भारत गए । नाजुक आर्थिक अवस्थाका कारण जीवन धान्नै धौ धौ भएपछि भारतमा मजदुरी गरेर केही कमाउन सकिन्छ की भन्ने आशले उनीहरु भारत पुगे । उनीहरु भारत लागेपछि घरमा ६५ वर्षीय यक्षलाल चमार एक्लो भए ।


रोजगारीका लागि हिँडेका छोरा बुहारीलाई उनले रोक्न पनि चाहेनन् । तर, बुढ्यौली र तराईको ठन्डीले जीवन कष्टकर बन्न थालेपछि यक्षलालले दुई साता अघि बुहारीलाई फोन गरे,  ‘मलाई त बुढ्यौलीले साह्रै गाह्रो भयो । केही सहारा खोजिद्याओ न,’ छोरा बुहारीले बुबाको साथी र सहाराका लागि भन्दै १३ वर्षीय छोरा गौचरणलाई घर पठाए । तर घर आएर हजुरबुबाको सहारा बनेको एक साता नबित्दै ६५ वर्षीय हजुरबुबा र १३ वर्षीय नातिको २९ माघको राती सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रयोग गरेर हत्या भयो । 

तस्विर: हत्या हुँदा नातिबाजे सुतेको खाटमा लत्पतिएको रगत

बुधबार सिधाकुरा टीम पश्चिम नवलपरासीको सुस्ता पुग्दा अर्धचेत अवस्थामा छाति पिटिपिटी रहिरहेकी थिइन् बबिता चमार । भारतमा काम गरी दुई पैसा जोड्ने प्रयत्न गरिरहेका उनीहरुले आफ्नो घरमा भएको हत्याको खबर पाएपछि घर फर्किएका थिए । घरको विभत्स घटनाले उनीहरु मुर्छित छन् ।

तस्विर: छोरा र बुबाको हत्या भएपछि मुर्छित मनोज र बबिता

गाउँको फुसको खरदेखि करिब ५ सय मिटर दूरीमा नदी छ । पानी लाउन सहज हुने भएपछि त्यही नदी किनारमा नाती बाजेले गहुँ छरेका थिए । त्यही गहुँलाई पशुपंक्षीबाट जोगाउन नाति र बाजे सानो टहरो बनाएर खेतमै गहुँ कुरेर बस्थे । बसेकै ठाउँमा सोमबार राति धारिलो हतियार प्रहार गरि उनीहरूको हत्या भयो ।

तस्विर: चमार नातिबाजे सुत्ने कटेरो

आफू बुढेसकाल लागेको भन्दै ससुरा यक्षलालले सहारा मागेपछि बुहारी बबिताले साथमा लगेको जेठो छोरोलाई ६ दिनअघि मात्र घर पठाएकी थिइन । यक्षलालले नाति गौचरणलाई पढाउनका लागि स्थानीय श्री शिवशम्भु प्राथमिक विद्यालयमा कक्षा २ मा भर्ना गरिदिएका थिए ।  

गाउँबासीका प्रिय थिए यक्षलाल । गरिब भए पनि उनी छिमेकीलाई सहयोग गर्न कहिल्यै गरिब भएनन् । स्थानीहरू उनको कोही कसैसँग झैझगडा समेत नभएको बताउँछन् । ‘धनका लागि हत्या भएको भन्ने हो भने यक्षलालका नाति कापी नभएका कारण विद्यालय गएका थिएनन् । नाति विद्यालय नै जान छोडेपछि हजुरबुबाले छिमेकीसँग पैसा मागेर सोही दिनमात्रै ३ कापी किनेर ल्याइदिएका थिए । त्यस्ता साधुजस्ता यक्षलाल र उनका नातिलाई कसले मार्यो भन्नेमा गाउँनै स्तब्ध छ,’ स्थानीय श्रीपुजन धरिकार बताउँछन् ।

तस्विर: हत्या गरिएका गौचरणले काठमा कोरेको चित्र र हत्या हुँदा लत्पतिएको रगत

उनका अनुसार यक्षलाल एकदम सोझा थिए । गरिब भएपनि उनी कसैसँग मागेर समेत नखाने स्वभावका थिए । उनको कोहीसँग रिसिइबी समेत नभएको अवस्थामा घटना कसरी भयो भनेर अचम्म लागेको उनले बताए । 

हजुरबुबा र नातिको एकैरात हत्या भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले घटनाको अनुसन्धान गर्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको बताएको छ तर हालसम्म घटनामा संलग्न कोही पक्राउ परेका छैनन् । 

त्यसो त गत जेठ महिनामा सोही घटनास्थलको केही मिटर दूरीमा अर्का २ जनाको हत्या भएको थियो । त्यस समयमा पनि भैँसी गोठमा सुतेका श्रीमान श्रीमतीको हत्या भएको थियो । उक्त घटनामा पनि लामो समयपछि प्रहरीले २ जनालाई पक्राउ गरि थुनामा राखेको छ ।  यसरी बारम्बार एकै प्रकृतिको हत्या भइरहँदा प्रहरी र प्रशासन सजग नभएको स्थानीयको आरोप छ । ‘६ महिनाअघि मात्र हाम्रो गाउँमा २ जनाको हत्या भयो, फेरी अर्को त्यस्तै प्रकृतिको घटना दोहोरियो । यसलाई हेर्दा राज्यले जनताको सुरक्षाका लागि खटाएको प्रशासनले हामीमाथि खेलवाड गरेको हो कि जस्तो लाग्छ,’ सुस्ताका इन्द्रजित हरिजन गुनासो गर्छन् ।

उता घटनास्थलमा ढिलोगरी आइपुगेको प्रहरीले पनि आफूहरूले घटनाको अनुसन्धान अघि बढाएको र मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा पठाएको बताएको छ । एउटै गाउँमा उस्तै प्रकृतिका जघन्य हत्या हुँदा स्थानीहरू त्रसित छन् । तर, प्रहरी प्रशासन भने सीमा नाकामा तस्करसँग रमाइरहेको स्थानीयको आरोप छ । 

तस्विर: घटनास्थलको मुचुल्का उठाउँदै प्रहरी

स्थानीयको आरोपमा बल पुग्ने तर्क जिल्ला प्रहरीका कार्यालयको पनि छ । जिल्लाका प्रहरी प्रमुख काजी कुमार आचार्य घटना घटिरहने र अपराधी समातिरहन्छन् भन्दै सिधाकुरासँग पन्छिए । ‘घटना कहिले लगातार र कहिले ग्यापमा हुन्छन् । 

अहिले हेर्ने हो भने २/३ वटा घटना लगातार भएको देखिन्छ । यसको मतलब घटना घटिरहन्छ र सँगै प्रहरीले पनि अनुसन्धान गरिरहेको हुन्छ,’ प्रहरी प्रमुख काजी कुमार आचार्यले भने । तथापि उनी चमार नाति र बाजेको हत्यामा संलग्नलाई पनि जतिसक्दो चाँडो नियन्त्रणमा लिन सबै संयन्त्र प्रयोग गरिएको दाबी गर्छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation