नेभिगेशन
सबै कुरा
एउटा किर्ते नागरिकताले झिकेको कलह :

दाई भन्दा भाइ जेठो, दाजुलाई वंशज, भाइलाई अंगीकृत नागरिकता

नवलपरासी ।नवलपरासीमा एक युवकले वंशजको नागरिकता लिन १७ वर्ष अघि गरेको उमेर किर्ते अहिले उनकै परिवारको टाउको दुखाई बनको छ ।

अंगीकृत नागरिकता प्राप्त बुबाबाट नयाँ नागरिकता बनाउँदा १२ वर्ष उमेर घटाएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका ९ का नाथु प्रसाद गुप्ता र उनकी श्रीमती दुर्गा देवी गुप्ताका कारण उनीहरूको परिवारमा किचलो मात्रै छैन् । दाजु भाइ, बाबु छोरा र आमा छोराको उमेरसमेत गोलमाल भएको छ ।

सिधाकुरालाई प्राप्त विवरणअनुसार नाथु प्रसाद र दुर्गाका कारण एउटै घरमा दाजुको वंशज र भाइको अंगीकृत गरी फरक फरक हैसियतको नागरिकता बनेको छ भने दाइ भन्दा भाइ जेठो र बाबु आमा र छोराको उमेर अन्तर १० वर्षको देखिएको छ ।

पश्चिम नवलपरासीका भागिरथी तेली अंगीकृत नेपाली नागरिक हुन् । उनका २ छोरा, जेठो नाथु प्रसाद गुप्ता र कान्छो ओम प्रकाश गुप्ता छन् । 

तेलीले २०६३ सालमा दुई छोराको नागरिकता जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट बनाइदिए । सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रशासनले दुवै दाजु भाइलाई एकै दिन (२०६३ फागुन ३०) गते नागरिकता दियो । प्रशासनले दाजु नाथु प्रसाद गुप्तालाई वंशजको नागरिकता दियो भने भाइ ओम प्रसाद गुप्तालाई अंगीकृत नागरिकता ।

 

एकै घरका दुई दाजु भाइका लागि फरकफरक हैसियतको नागरिकता जारी भएपछि अहिले परिवारमा आपसी द्वन्द्व चर्किएको छ । प्रशासनले जारी गरेको दाइको नागरिकतामा दाइलाई राजनीतिक अधिकारसहितको नेपालीको हैसियत छ भने भाइको नागरिकता विदेशीले पाएको नेपाली नागरिकताको हैसियतको छ । 

दाइ र आफ्नो नागरिकताको हैसियत फरक परेपछि ओमप्रकाश गुप्ता प्रशासनदेखि परिवारका सदस्यससँग समेत असन्तुष्ट छन् । 

‘म भाइ मैले चाहिँ अंगीकृत नागरिकता पाएँ, मेरो दाइ उहाँले चाँहि कसरी वंशजको नागरिकता पाउनुभयो रु,’ उनी प्रश्न गर्छन्, ‘एकै दिन नागरिकता लिएका हौँ हामीले । मलाई किन अन्याय भयो ?’

प्रशासनले एकै घरका दुई दाजुभाइलाई विभेद गरेको भन्दै सो विषयमा उनी नागरिकता पाएदेखि हालसम्म पनि प्रशासन र परिवारसँग आन्दोलनरत छन् । उनले आफूमाथि के कारणले विभेद गरिएको हो भन्ने विषय खुलाइपाऊँ भन्दै प्रशासनदेखि अख्तियारसम्म निवेदन दिएका छन् । तर, वर्षौँ बित्यो उनको माग सम्बोधन भएको छैन । 

‘मैलै ममाथि अन्याय भएको भन्दै प्रशासनमा निवेदन दिएको थिएँ । त्यहाँको जवाफ चित्त नबुझेर मैले अख्तियारमा उजुरी हालेको थिएँ । त्यसको पनि केही सम्बोधन भएन,’ ओम प्रकाश भन्छन् । 

दाइ भन्दा भाइ जेठो 

प्रशासनले नाथु प्रसाद गुप्ताको वास्तविक उमेर समेत घटाएर नागरिकता प्रदान गरेको छ । नाथुको वास्तविक जन्ममिति २०२८ असोज २५ गते भएपनि प्रशासनले उनको जन्ममिति घटाएर २०४० साउन १५ गते बनाइदिएको छ । नागरिकतामा दाजुको उमेर १२ वर्ष घटेपछि दाजु भाइ र भाइ दाइ बनेका छन् । आफूभन्दा दाइ कान्छो भएपछि यो न्यायोचित नभएको ओम प्रकाश दुखेसो गर्छन् । 

त्यसो त वंशजको नागरिकता पाएका नाथु प्रसाद गुप्ताले आफ्नो जन्ममिति गडबड भएको स्वीकार गरेका छन् । बाबुले लगेर नागरिकता बनाइदिएका कारण त्यसबारे आफूलाई केही थाहा नभएको उनी बताउँछन्  ।

‘मलाई पनि थाहा छैन । बुबाले लगेर एकैचोटि विवरण पेश गरेर नागरिकता बनाइदिनु भएको हो,’ उनले थपे, ‘मेरो विवरण गलत भयो भन्ने कुरा छ । त्यसको पनि त मान्यता होला । त्यही भएर नै प्रशासनले नागरिकता दिएको हो ।’

दाजु र भाइबीच नागरिकता विवाद भइरहँदा उता नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय भने आफूहरूले कानुनबमोजिम नै गरेको बताउँछ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार उनीहरूलाई नेपाल नागरिकता नियमावली अनुरूप नागरिकता प्रदान गरिएको हो । 

नियमावलीको दफा ७ को उपदफा ५ बमोजिम अंगीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेका सन्तानले अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न चाहेमा अनुसूची-७ बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारी  समक्ष निवेदन दिन सक्ने व्यवस्था छ ।

अर्थात यस उपदफाअनुसार बुबालाई अंगीकृत नेपाली नागरिकता प्रदान गरेपछि जन्मिएका सन्तानले वंशजको नागरिकता पाउने र नागरिकता पाउनुपूर्व जन्मिएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था छ । 

नियमावलीको यही दफालाई टेकेर भागिरथी तेलीले छोरा नाथु र ओमप्रकाशको नागरिकता बनाउन प्रशासन पुगेका हुन् । जहाँ नागरिकता बनाउन पेश गर्ने कागजातमा उनले नेपाल सरकारको अंगीकृत नेपाली नागरिकता पाएको मिति २०३९ चैत ६ गते उल्लेख छ । उनले जेठो छोराको नागरिकता बनाउन छोराको जन्मदर्ता पेश गरेका छन् । जहाँ जेठो छोरा अर्थात नाथु प्रसाद गुप्ताको जन्म मिति २०४० साउन १४ गते उल्लेख छ । 


त्यस्तै उनले कान्छो छोरा अर्थात ओम प्रकाश गुप्ताको नागरिकता बनाउनका निम्ति उनी पढेको विद्यालय आदर्श माध्यमिक विद्यालयले प्रदान गरेको रूपान्तरण प्रमाणपत्र पेश गरेका छन् । जहाँ ओम प्रकाश गुप्ताको जन्ममिति २०३२ बैशाख १ गते उल्लेख छ ।


बाबुले पेश गरेका यही विवरणलाई हेर्ने हो भने बाबुले नागरिकता पाएपछि नाथुप्रसाद गुप्ताको जन्म भएको हो भने त्यसपूर्व नै ओम प्रकाशको जन्म भएको देखिन्छ । सोही आधारमा प्रशासनले समेत नागरिकता प्रदान गरेको जनाएको छ । ‘बाबुले प्रमाणित गराएर जे कागजात पेश गर्नुभयो त्यही अनुरूप प्रशासनले नागरिकता वितरण गर्ने हो । यो विषयमा पनि भएको त्यही हो ।,’ प्रमुख जिल्ला अधिकारी पन्थीले भने । 

बाबुले पेश गरेको कागजातका अनुसार कानुनबमोजिम नागरिकता बनाउँदा भाइ दाजु बनेको र दाजु भाइ बनेको साँचो रहेको प्रशासनको भनाई छ । ‘भाइले यस विषयमा छानबिन गरि पाउँ भन्दै विभिन्न छानबिन गर्ने निकायमा निवेदनसमेत दिएको विषय छ । त्यो अब ति निकायले हेर्दा । तर, प्रशासनबाट जे हुनुपर्ने हो, त्यही भएको छ,’ प्रजिअ पन्थीले भने । 

आमा–छोराको उमेर अन्तर १० वर्ष

नागरिकता बनाउन नाथुप्रसाद र उनकी श्रीमती दुर्गा देवी गुप्ताको उमेर घटाउँदा उनीहरूको पहिलो सन्तान अम्बरीश गुप्ता र उनीहरूको उमेर १० वर्षको अन्तर मात्र देखिएको छ । नागरिकताको विषय खोजी गर्दै जाँदा नाथु प्रसाद गुप्ताकी श्रीमती दुर्गादेवी गुप्ताको जन्म मिति २०४१ कात्तिक १८ गते उल्लेख छ भने नाथु प्रसाद गुप्ताको जन्ममिति २०४० साउन १५ । उनीहरूको पहिलो सन्तान अम्बरीश गुप्ताको जन्म २०५२ जेठ १० मा भएको देखिन्छ ।


नागरिकताका यिनै मितिलाई आधार मान्ने हो भने आमा दुर्गादेवी गुप्ता र छोरा अम्बरीश गुप्ताबिचको उमेर अन्तर १० वर्षको देखिन्छ । अर्थात आमाको उमेर १० वर्षको हुँदा र बाबुको उमेर ११ वर्षको हुँदा छोरा जन्मिएको देखिन्छ । यो प्राय असम्भव जस्तै हो । नागरिकतामा बाबुको उमेर छल्न खोज्दा आमा छोरा तथा बाबु छोराको उमेरको अन्तर अस्वभाविक देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation