नेभिगेशन
सबै कुरा

बजेट अर्धवार्षिक समीक्षाः सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडौँ । आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ । 

चालु आवका लागि सरकारले कूल रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएकोे छ । कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रु पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर हो । छ महिनामा कर राजश्वतर्फ ३३ दशमलव ९८ प्रतिशत अर्थात् रु चार खर्ब ४३ अर्ब ५५ करोड २० लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २३ प्रतिशत अर्थात् रु ५२ अर्ब ९४ करोड ७८ लाख बराबर असुली भएको छ ।

Dish Home
Global Ime Bank

चालु आवका लागि कूल रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ । चालु आवका लागि कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा रु पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२ दशमलव ३५ प्रतिशत बराबर हो । चालुगत शीर्षकमा कूल रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ३८ दशमलव ३१ प्रतिशत अर्थात् रु चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८ दशमलव ३१ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा १६ दशमलव तीन प्रतिशत अर्थात् रु ४९ अर्ब २३ करोड ५८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थामा रु तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा २६ दशमलव दुई प्रतिशत अर्थात् रु ८० अर्ब ४३ लाख बराबर खर्च भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation