नेभिगेशन
समाज

दुर्गा प्रसाईँः ‘कमरेड’देखि ‘कमान्डर’सम्म

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाकाे माग गर्दै दुर्गा प्रसाईँको नागरिक बचाउ अभियानले चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्याे।  सो प्रदर्शनमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै घोषणा गरिएको नवराज सुवेदीको समिति पनि मिसियो । राप्रपाका नेताहरू पनि मिसिए । 

प्रदर्शनको दुई दिन अघि प्रसाईँले पूर्व राजा भेट्न निर्मल निवास पुगेका थिए ।  तर चैत १५ को प्रदर्शन, प्रदर्शनमा सीमित भएन । प्रदर्शन उग्र भयो ।  

Global Ime Bank

एक जना पत्रकार जलेको अवस्थामा मृत भेटिए, अर्का सर्वसाधारण बाटोमै गोलीले ढालियो । अन्य २० जनालाई गोली लाग्यो, दर्जनौँ घाइते भए । 

tinkune-photo-1743157407.jpg
 

केही निजी घरसहित जडीबुटीको सन्चो उत्पादन गर्ने सरकारी उद्योगमै आगजनी भयो । दर्जनौँ निजी तथा सरकारी सवारी साधन जले । प्रदर्शन अराजक भयो । सरकारले यी सबै घटनाको जिम्मेवार आन्दोलनका कमान्डरसमेत रहेका दुर्गा प्रसाईँलाई ठहर्यायो । 

कार्यक्रम सुरु नहुँदै आक्रोशित बनिरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस र गोली चलाएपछि प्रदर्शन थप उग्र बन्यो । दुर्गा प्रसाईँ निषेधित क्षेत्र तोड्ने भन्दै प्रहरीका घेरा तोड्दै अघि बढे ।  प्रहरीले उनलाई केही बेर समाए पनि फेरी प्रदर्शनमै छोड्यो । 
घरका छतबाट प्रहरीले अश्रु ग्यास हानेको भन्दै घरमै ढुंगामुढा र आगजनी भयो । 

Durga-Prasai-gadi-1744380222.jpg
 

यति घटनाक्रम हुँदासम्म तीनकुनेमै एउटा सटरमा बसेका प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिने हल्ला चलेसँगै उनी सुटुक्क भागे । उनी पहिले धर्मगुरु पुष्कर खतिवडाको घरमा पुगेर खाजा खाएर भारततर्फ लागे ।

यता प्रदर्शनलाई अराजक बनाएको बन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शम्शेर जबरा सहित १ सय जना बढी पक्राउ परे । 

Rabindra-Mishra-1744378146.jpg
 

दुर्गा प्रसाईँ आफू काठमाडौँमै रहेको, आफूलाई प्रदर्शनका क्रममा सुटर खटाएर मार्ने योजना भएकाले ज्यान जोगाउन सुरक्षित ठाउँमा पुगेको भन्दै भिडियो पोस्ट गरे । 

२ दिन अघि मात्रै उनले आफूलाई ५ जना कानुन व्यवसायी र ५ जना मानवअधिकारकर्मी सँगै कुरा गर्ने भए २४ देखि ३६ घण्टा भित्र सार्वजनिक हुने चुनौती दिँदै थिए 

उनले चुनौती दिएको ३६ घण्टा नपुग्दै उनी आसामबाट नेपाल प्रहरीको नियन्त्रणमा आए । 

आसाममा कहाँ बसेका थिए दुर्गा प्रसाईँ ?
पक्राउ पर्नु पूर्व आफू नेपालमै रहेको भन्दै भिडियो पोस्ट गरिरहेको प्रसाईँ बिहीबार भारतको आसाममा भेटिए । प्रहरी स्रोतका अनुसार उनी उनी आसाम राज्यको धनसिरीपुर ठाडा लाइन क्षेत्रबाट पक्राउ परेका हुन् । उनी त्यही घरमा थिए, जहाँ उनले फरार भएकै बेला आफू नेपालमा रहेको भन्दै एउटा मन्दिर अघि उभिएर भिडियो सार्वजनिक गरेको थिए । स्रोतका अनुसार उक्त मन्दिर भएकै घरबाट प्रसाईँ पक्राउ परेका हुन् । उनी बसेको घर भारतका नेपाली भाषी अभिचन्द्र पाठकको घर हो । यही घरबाटै उनलाई आसाम प्रहरीले नियन्त्रणमा लिएको थियो । 

नेपाल प्रहरीको विषेश ब्युरोको टोली यस अघि नै उनलाई खोज्न भारत पुगेको थियो । भारतको आन्तरिक सुरक्षा र प्रतिजासुसी संस्था इन्टेलिजेन्स ब्युरो आइबीको सहयोगमा उनलाई भारतीय प्रहरीले नै नियन्त्रणमा लिएको थियो । उक्त समय नेपाल प्रहरीको विशेष टोली पनि सँगै थियो । उनी आसाम पुग्नुअघि नेपालबाट भारतको प्रयागराज, लखनउ हुँदै नयाँ दिल्ली पुगेका थिए । नयाँ दिल्लीबाट उनी आसाम आएका प्रहरी स्रोतको दाबी छ । 

आसाममा पक्राउ परेका उनलाई भारतीय प्रहरीको सहयोगमा नेपाल भारत सीमा झापाको काँकडभिट्टासम्म ल्याइएको थियो । त्यहाँबाट भने नेपाल प्रहरीले उनलाई औपचारिकरुपमा पक्राउ गरेर विमान मार्फत काठमाडौँ ल्याएको हो । 

बिहीबार प्रसाईँ नियन्त्रणमा लिएको सूचना प्रहरीले किन लुकाउन चाहान्थ्यो ?
बिहीबार साँझ दुर्गा प्रसाईँ पक्राउ परेको सूचना सञ्चारमाध्यमा चुहिएपनि नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले भने नकारेका थिए । उनले विज्ञप्ति नै जारी गर्दै पक्राउ परेको भन्दै आएको समाचारमा सत्यता नभएको दाबी गरे । 

तर नेपाल प्रहरीले आज बिहान झापाको भद्रपुरबाट दुर्गा प्रसाईँ र उनका अंगरक्षक दीपक खड्का पक्राउ परेको भन्दै अर्को विज्ञप्ति जारी गर्याे । 

nepal-police-1744378818.jpg

 

आज पक्राउ परेको स्विकार गर्ने प्रहरीले बिहीबार राती भने सूचना लुकाएको थियो । 

सामान्यतया औपाचारिक रुपमा एक देशबाट अर्को देशमा अपराधका आरोपी वा पुष्टि भएकालाई लेनदेन गर्न सुपुर्दगी सन्धि आवश्यक पर्छ । नेपाल र भारतबिच पनि सुपुर्दगी सन्धि छ । नेपाल र भारतबिच सन् १९५३ मा सुपुर्दगी सन्धि भएको छ । तर यसकाे प्रक्रिया लामो हुने भएकाले नेपाल र भारतले एक अर्काकाे देशमा भेटिने अपराधमा जोडिएका एक अर्काका देशका आरोपितलाई सुरक्षाकर्मीहरुले आपसी सहमतिमा पक्राउ गर्ने गराउने गर्छन् । त्यसका लागि उनीहरूले सीमा क्षेत्रमा पक्राउ परेको भनेर सार्वजनिक गर्ने गरेका छन् । 

Dipak-Kumar-Acharya-1744378926.jpg

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश कुमार आचार्य

यसअघि पनि नेपालमा अपराध गरेर भारत पुगेका वा भारतमा अपराध गरेर नेपालमा लुकेका आरोपितहरुलाई दुवै देशका सुरक्षाकर्मीले सीमासम्म ल्याउने पुर्याउने गर्दै आएका थिए । दुर्गा प्रसाईँको हकमा पनि यस्तै भएको हो । भारतमै पक्राउ परेको सूचनालाई नेपाल प्रहरीले आधिकारिकता दिएको भए प्रसाईँलाई नेपाल ल्याउन भारत तथा नेपालको सन्धि अनुसार प्रक्रिया चलाउन पर्ने थियो । प्रहरीले यही प्रक्रिया छल्न बिहीबार राति झुट बोलेको थियो । 

अब दुर्गा प्रसाईँ माथि कुन कुन मुद्दामा अनुसन्धान हुन्छ ?
काठमाडौँ जिल्ला अदालतबाट १२ दिनकाे म्याद लिएर दुर्गा प्रसाईँ र उनका अङ्गरक्षक दीपक खड्कालाई अहिले काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएकाे छ । 

काठमाडौँ प्रहरी परिसरका अनुसार दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दामा अनुसन्धान सुरु गरेको छ ।  प्रहरीको कसुर दर्ता किताबमा उल्लेख भए अनुसार अहिले उनीविरुद्ध राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको छ । अनुसन्धानका क्रममा अन्य कसुर पनि जोडिन सक्ने प्रहरीले जनाएको छ । 

Prahari-Parisar-Kathmandu.jpeg-1744379046.png

जिल्ला प्रहरी परिसर काठमाडाैँ 

दुर्गा प्रसाईँको हिरासत बसाई यो पहिलो पटक भने होइन । यस अघि २ पटकसम्म साइबर क्राइम मुद्दामा पक्राउ परेका उनलाई लरेन्स विश्वनाेइको नाममा धक्की दिएर चन्दा उठाएको आरोपमा समेत प्रहरीले अनुसन्धान गरेको थियो । अहिले पनि उनी विरुद्ध साइबर क्राइममा दुई वटा उजुरी चलिरहेका छन् । 

ओली र प्रचण्डले हुर्काएका प्रसाईँ
अहिले राजा फर्काउने अभियान चलाएपछि गणतन्त्रवादीहरुको तारो बनेका दुर्गा प्रसाईँ यीनै गणतन्त्रवादी दलहरुकै सदस्य थिए । दुर्गा प्रसाईँले विभिन्न ठाउँमा दिएको अभिव्यक्ति अनुसार २०५७ सालदेखि नै उनी माओवादीसँग नजिक थिए । २०६० सालमा उनलाई सेनाले पक्राउ गरेको समेत उनले बताउने गरेका छन् । प्रसाईँकै अनुसार उनी ६ महिना नेपाली सेनाको हिरासतमा बसेका थिए । उनले सो समयमा माओवादी अध्यक्ष प्रचण्डको नजिक भएर धेरै फाइदा उठाएको निकटस्थहरू बताउँछन् । 

Durga-prasain-and-puspakamal-dahal-prachanda-sidhakura-1744379171.jpg

दुर्गा प्रसाईँ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

त्यसपछि उनले आफ्नो व्यवसायिक साम्राज्य विस्तार गर्दै लगे । उनी रियल स्टेट हुँदै ठुला मेडिकल व्यवसायी बने । यति बेलासम्म उनको त्यति चर्चा चुलिएको थिएन । उनले सञ्चालन गरेको बि एण्ड सी अस्पतालको सम्बन्धन नपाएपछि उनको टकराब गोविन्द केसीसँग बढ्दै गयो । उनले गोविन्द केसीको चर्को कटाक्ष गर्न थाले । यता गोविन्द केसीले उनको नामको अगाडि माफिया उपमा जोड्न थाले । उनको मेडिकल माफिया भन्दै चर्को विरोध हुन थाल्यो । 

त्यसपछि उनको राजनीतिक व्यक्तिहरूसँग राम्रै साँठगाँठ चल्न थाल्यो । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई एकता गराउन उनले नै केपी ओली र प्रचण्डलाई आफ्नै निवासमा बोलाएर मार्सी चामलको भात खुवाएका थिए । उनले २०७४ फागुन ४ गते ओली र प्रचण्डलाई मार्सी भात खुवाएका थिए । त्यसपछि एकता भएर दुई पार्टी मिलेर नेकपा बन्याे । 

marsi-khana-khadai-durga-prasain,-kp-sharma-oli-and-prachanda-1744379367.jpg

दुर्गा प्रसाईँकाे निवासमा मार्सी खाना खाँदै ओली र प्रचण्ड

तर सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरिदियो । त्यसपछि एमाले र माओवादी भिन्नभिन्नै पार्टी बने । त्यसपछि दुर्गा प्रसाईँले एमाले पार्टी रोजे । 

२०७८ कात्तिक ७ गते झापाको विर्तामोडमा भएको भव्य समारोहमा दुर्गा प्रसाईँ एमालेमा प्रवेश गरे । २०७८ मङ्सिरमा नेकपा एमालेले उनलाई केन्द्रीय सदस्यमा मनोनीत समेत गर्यो ।

kp-sharma-oli-durga-prasai-1744379669.jpg
 

उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको विषयमा त्यतिबेला पार्टीभित्र विधान विपरित मनोनयन गरिएको भन्दै एमालेभित्रै विवाद चर्केको थियो । तर त्यति बेला प्रसाईँको एमाले अध्यक्ष केपी ओलीसँग हजुरबुबा नातिको सम्बन्ध थियो । विवाद भए पनि कसैले रोक्न सकेनन् । 

kendriya-sadasya-manonit-1744379540.jpg

दुर्गा प्रसाईँ लगायतलाई सपथ खुवाउँदै ओली

तर आफ्नाे स्वार्थपुर्ति नभएपछि पार्टीविरुद्ध निरन्तर खनिएका उनलाई  नेकपा एमाले सचिवालय बैठकले २०७९ फागुन १३ मा पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको भन्दै प्रसाईँलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो । 

त्यसपछि उनी सहकारी र लघुवित्रको ऋण मिनाहा गर्ने अभियानमा लागे । उनले राष्ट्र,राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक जोगाउन महाअभियान चलाउन थाले । सो अभियानमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि समावेश गराए । २०७९ मै पूर्वराजालाई प्रमुख अतिथि बनाएर उनले अभियानको उद्घाटन गरे ।

raja-1744379739.jpg

पूर्वराजाकाे उपस्थितिमा राष्ट्र,राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक जोगाउन महाअभियानकाे घाेषणा

त्यसपछि उनले कहिले बैंकका कर्मचारीलाई कालोमाेसो दल्नेदेखि अनेक खाले कारवाही गर्न थाले । उनले कालो मोसो दल्नकै लागि एउटा टिम नै बनाए थिए । र बिस्तारै उनी हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै अभियानमा लाग्न थाले । 

kalomoso-dalne-tean-1744379878.jpg

दुर्गा प्रसाईँकाे कालाेमाेसाे दल्ने टिम

उनले काठमाडौँदेखि देशका विभिन्न ठाउँमा ठूलो सङ्ख्यामा जनता उतार्ने गरेका थिए । शायद यही देखेर होला पूर्वराजाले उनलाई राजा फर्काउने जनआन्दोलनको कमान्डर नै बनाइदिए । र तीनै जनकमान्डरले तीनकुनेको १५ गतेको आन्दोलनकाे नेतृत्व गरेका थिए । सोही आन्दोलनमा हिंसा भड्काएको आरोपमा उनी प्रहरी हिरासतमा  पुगेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेद्वारा सर्वोच्च अदालतमा दायर गरेकाे निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ ।  न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश गरेको हो...
अवैध हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

अवैध हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका प्रमुख सन्तोश बस्नेतका अनुसार शनिबार राति ९ः१० बजेको समयमा नेपाल भारत सीमा क्षेत्रमा पर्ने राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर...
शिक्षक आन्दोलनको १२ औँ दिन (तस्विरहरु)

शिक्षक आन्दोलनको १२ औँ दिन (तस्विरहरु)

आफुहरुसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरुले माइतिघर–बबरमहल क्षेत्रमा आजपनि प्रदर्शन गरेका हुन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका उनीहरुले चैत २५ गतेदेखि शैक्षिक...
परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैनः प्रचण्ड

परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैनः प्रचण्ड

‘सरकारति हाम्रो चाहीँ त्यती ध्यान छैन । तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने पनि देखिरहेको छ । त्यसकारण कुनै पनि...