नेभिगेशन
सिधाकुरा विशेष

जसले पैसा सापटी दियो उसैको हत्या !

काठमाडौँ । काठमाडौँको माकलबारीमा एक युवकले आफूलाई पैसा सापटी दिने साथीको प्राण पखेरो उडाइदिएका छन् । १ महिनामा पैसा फिर्ता गर्छु भनेर सापटी मागेका युवकले ९ महिनासम्म पैसा फिर्ता गर्नु त परको कुरा अन्त्यमा साथीकै हत्या गरेर ४/४ दिन आफ्नै ग्यारेजमा खाल्डो खनेर पुरे । सपनाको सहर काठमाडौँमा साथीको सपना पुरा गर्न साथ दिँदा एक युवकको सास नै खोसिएको सो घटनाले काठमाडौँको माकलबारीलाई त्रसित बनाएको छ । 

मितिः २०८१ चैत ११ गते
समय: अन्दाजी दिउँसो ३ बजे
काठमाडौँको गोकर्णेश्वरको बाहुनधारा बस्ने सर्लाहीका १९ वर्षीय राहुल साहलाई एक फोन आयो । राहुललाई फोन गर्ने व्यक्ति थिए, गोकर्णेश्वरकै माकलबारी बस्ने २२ वर्षीय निपु मण्डल ।  मण्डल र साह दुवै जनाको घर सर्लाही हो । उनीहरु मिल्ने साथी हुन् । उनीहरु दुवैजनाको परिवार लामो समयदेखि काठमाडौँमै बस्दै आएका थिए । दुवै जनाको घरमा आवतजावत समेत हुने गथ्र्यो ।

मण्डल माकलबारीमा आर.के मोटरसाइकल नामक वर्कशप सञ्चालन गरेर बसेका थिए भने साह आफ्ना बाबुआमासँग बसेर कलेज पढिरहेका थिए । सोही क्रममा गत साउन महिनामा मण्डललाई वर्कशपमा पार्टपुर्जा थप्नुपर्ने भयो । त्यसका लागि पैसाको जोहो गर्न मण्डलले साहसँग सहयोग मागे । 

सानैदेखिको मिल्ने साथी, व्यवसाय गर्न कठिन परेको बताएपछि साहले बाबुआमालाई थाहा नदिई अरुसँगै ऋण गरेर मण्डललाई १ लाख रुपैयाँ थमाए । मण्डलले १ महिनामा फिर्ता गर्छु भनेर मागेको पैसा महिनौँसम्म फिर्ता दिएनन् । उता साहले ऋण गरेको ठाउँबाट उनलाई पैसा फिर्ता गर्न दबाब आउन थाल्यो । 

कमाएर ऋण बुझाउने अवस्था नभएपछि साहले बाबुआमालाई आफूले साथीलाई ऋण खोजिदिएको बताए । लामो समयदेखि छोरोले मानसिक यातना भोगेको थाहा पाएपछि साहका परिवारले समेत मण्डललाई पैसा फिर्ता दिन अनुरोध गरे । तर मण्डलले आफूसँग अहिले पैसा नभएको भन्दै २ वटा चेक थमाए । चेक पाएपछि पैसा पाउने आशामा घर फर्किएका साह सो चेक लिएर बैँक पुगे तर बैँकमा पैसा थिएन । उनी सो चेक लिएर पटकपटक बैँक पुगे तर पैसा पाएनन् । 

बैँक धाउँदा सास्ती व्योहोरेका साहले अन्ततः चेक बाउन्स गर्ने भन्दै मण्डललाई सम्पर्क गरे । तर मण्डलले साहलाई आफ्नो चेक फिर्ता गरेपछि आफू पैसा नै दिने बताए । साहले पुनः मण्डलको विश्वास गरे । उनले लगेर सो चेक साहलाई नै फिर्ता गराइदिए तर पनि मण्डलले पैसा फिर्ता गरेनन् । 

१९ वर्षमा भर्खरै प्रवेश गरेका साहलाई सो विषयले तनावग्रस्त बनाएको थियो । उनीसँग, सापटी ल्याएर साथी मण्डललाई दिएको पैसा फिर्ता गर्ने कुनै आधार थिएन । उता मण्डलले पैसा फिर्ता गर्न अनेक बहाना बनाइरहेका थिए । सोही पैसा फिर्ता गर्छु भन्दै गत चैत ११ गते मण्डलले साहलाई आफ्नो वर्कशपमा बोलाएका थिए ।

लामो समयपछि साथीले पैसा फिर्ता दिने बताएपछि साहले आफ्ना आमाबाबुलाई सो विषय जानकारी गराए र मोटरसाइकल लिएर  माकलबारीतर्फ लागे । करिब ४ किलोमिटर दुरीमा रहेको साथीको वर्कशपमा गएको छोरो घण्टौँसम्म नफर्किएपछि राहुलका बाबुआमा डराउन थाले । छोरो फर्कने बाटो कुर्दा साँझको करिब ८ बजिसकेको थियो तर पनि साह फर्किएनन् । 

त्यसपछि उनीहरु आफ्न्त बोलाएर मण्डलको वर्कशपमा पुगे । वर्कशपमा पुग्दा निपु मण्डल र उनका साथीहरु वर्कशपमा काम गरिरहेका थिए । त्यहाँ उनीहरुले राहुलको मोटरसाइकल देखे तर राहुललाई देखेनन् । 

वर्कशपमा पुगेको छोरो वर्कशपमा नै नदेखेपछि उनीहरुले मण्डललाई राहुलको बारेमा सोघपुछ गरे । परिवारको जिज्ञासामा मण्डलले राहुल त्यहाँबाट पैसा लिएर पठाओमा निस्किएको बताए । 
केही समयको सोधीखोजीपछि राहुलका परिवार उनले लगेको मोटरसाइकल लिएर घर फर्किए । घर फर्किएर उनीहरुले आफ्नो छोरो हराएको भन्दै बौद्ध प्रहरीलाई जानकारी गराए । तर प्रहरीले बेवास्ता गरेको उनीहरुको आरोप छ । 

सो रातभर राहुलका परिवार उनकै बाटो कुरेर बसे तर उनी फर्र्किएनन् । भोलिपल्ट बिहान हुन नपाउँदै उनीहरु सोही वर्कशप पुगे । तर मण्डलले राहुल आफूहरुकहाँ नआएको बताए । 
सोही समयमा उनीहरुले वर्कशपमा रगतको थोपा देखे । त्यसपछि ‘यो के को रगत हो ?’ भनेर सोधीखोजी गर्दा निपु लगायत उनका साथीहरुले आफूहरुले कुखुरा काटेको र सोही रगत त्यहाँ लागेको बताए । 

त्यसपछि राहुलको परिवारलाई झनै शंका उत्पन्न भयो । उनीहरु राहुलको खोजीमा गोकर्णेश्वरका विभिन्न ठाउँमा छरिए । तर राहुलको अत्तोपत्तो भएन । त्यसपछि उनीहरु बौद्ध प्रहरी पुगेर राहुल हराएको भन्दै लिखित निवेदन दिए । 

प्रहरीले राहुलको खोजीमा कुनै प्रगती गरेन । त्यसको भोलिपल्ट बिहानै राहुलका बाबुआमा पुनः सोही वर्कशपमा पुगे । मण्डलले राहुल नआएको कुरा दोहोर्याए । मण्डलले दैनिक एउटै कुरा दोहोर्याएपनि परिवारलाई उनीप्रति आशंका थियो । १३ गते बिहानै वर्कशपमा पुगेका परिवारसँग सोही कुरा दोहोर्याएपछि उनीहरुले प्रहरीलाई दबाद दिन बौद्ध पुगे । 

परिवारको दबाबपछि प्रहरी वर्कशप पुग्यो र निपु मण्डललाई उठाएर बौद्ध लग्यो । अनुसन्धान गर्ने निकायले उनलाई त्यहाँ सामान्य सोधपुछ मात्रै गरेर छोडिदियो । मण्डलसँग ससंकित रहेका परिवार त्यसपछि प्रहरीबाट समेत छोरा भेटिने आश गुमाउन थाले । तर उनीहरुले राहुललाई खोज्न छोडेनन् । 

उनीहरु १४ गते बिहानै पुनः सोही वर्कशपमा पुगे र वर्कशप वरिपरि खोजतलासी गर्न थाले । खोजीका क्रममा उनीहरुले वर्कशप परिसरमा एक चप्पल भेट्टाए । सो चप्पलमा राहुलले आफ्नो मोटरसाइकलको पाङ्ग्रामा लगाएको रातो रङ्ग लत्पतिएको थियो । उनीहरुलाई सो चप्पल राहुलको रहेको छुट्याउन समस्या भएन । 

तर पनि मण्डलले भने पठाओ गरेर निस्किएको बताउन छोडेनन् । त्यसपछि परिवारले सो चप्पल लिएर पुनः प्रहरीकहाँ पुगे । चप्पल पाएपछि प्रहरी पुनः मण्डलको वर्कशपमा पुगे । प्रहरीसँग पनि उनले पुरानै कुरा दोहोर्याए– राहुल पठाओ गरेर निस्किएका थिए । राहुलको कुरा शंकास्पद लागेपछि प्रहरीले मण्डललाई पुनः पक्राउ गर्यो र प्रहरी वृत्त बौद्ध पुर्यायो । 

त्यसपछि प्रहरीले उनीमाथि विस्तृत अनुसन्धान सुरु गर्यो । सो दिन समेत राहुल आफ्नो वर्कशपबाट बाहिरिएको दाबी गर्ने उनले भोलिपल्ट मात्रै आफूहरुले शाहको हत्या गरेको स्विकार गरे ।
मण्डलले आफूसहित आफ्ना बाबु र वर्कशपमै काम गर्ने अन्य साथीहरु समेत मिलेर राहुलको हत्या गरेको समेत बताए । त्यस्तै उनले आफूहरुले राहुलको शव वर्कशपकै परिसरमा गाडेको बताएपछि प्रहरीले उनलाई हतकडी लगाएर वर्कशपमा पुर्यायो । प्रहरीले राहुलका परिवारलाई समेत बोलायो । 

उनीहरु सबैजना वर्कशपमा पुग्दा निपुले आफूहरुले राहुललाई गाडेको भन्दै वर्कशपको एक कुना देखाए, जहाँ सामान्य रगत समेत लत्पतिएको भेटियो । त्यसपछि प्रहरीले सो ठाउँ खोतल्दा त्यहाँ राहुलको शव भेटियो । परिवार मुर्छा पर्यो । राहुलका परिवारले सो शव आफ्नै छोराको भएको सनाखत गरे । प्रहरीले शवको पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठायो र अन्य अभियुक्तको खोजी सुरु गर्यो । 

चप्पल भेटिएकै दिन फरार भएका निपुका बाबु उत्तम मण्डल, वर्कशपमा काम गर्ने विजय यादव र करन कुमार महत्तोलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । त्यस्तै सोही प्रकरणमा सर्लाहीकै जोधन मण्डल र भारत घर भएर सोही क्षेत्रमा काम गर्ने सुनिल शर्मा समेत पक्राउ परेका छन् । 

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले आफूहरुले राहुलको घाँटी कसेर लडाएपछि टाउकोमा रडले हानेर मारेको बताएका छन् । उनीहरुको बयानलाई सपोर्ट गर्ने घटनास्थलमा डोरी र रडसमेत भेटिएको छ । प्रहरीले उनीहरु सबै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान  गरिरहेको जनाएको छ । 

उता राहुलका परिवार प्रहरीको निकम्मापनले आफ्नो छोराका शव ४/४ दिनसम्म नभेटिएको गुनासो गर्छन् । त्यस्तै आफँै तदारुकता दिएर अनुसन्धान गर्नुपर्ने निकायले आफूहरुले अनेक क्लु दिँदा समेत बेवास्ता गरेको उनीहरुको आरोप छ । 

आफूलाई आवश्यक पर्दा सहयोग गर्ने साथीलाई आफैँले हत्या गरेको यो घटनाले एकपटक सबैलाई सोच्न बाध्य बनाएको छ । ‘पैसाको मुख कालो हुन्छ’ भन्ने नेपाली समाजको कथनलाई यस घटनाले एकपटक पुन प्रमाणित गरिदिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
टोखामा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल (भिडियाे)

टोखामा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल (भिडियाे)

लामाले पौडेलको बारेमा केहि नखुलाएपछि अन्ति पटक उनैसँग कुराकानी भएको देखिएको र बैंकिक कारोबार समेत अस्वभाविक देखिएको छ। पौडेलेको घर, कारोबार स्थल, गोदाममा खानतलासी गरी ती क्षेत्रको सीसीटिभी...
जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

यसरी प्रहरीले मान्छे ताकिताकि, त्यसमाथि पनि आन्दोलनमा संलग्न नै नभएकाहरुमाथि निर्मम ढंगले गोली प्रहार गर्नुले सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ । सो दिन नेपाल प्रहरीले आन्दोलनमा सहभागि भएका...
ज्ञानेन्द्र शाह जेल जान्छन ? तीनकुने घटनाको जिम्मेवार को को ?

ज्ञानेन्द्र शाह जेल जान्छन ? तीनकुने घटनाको जिम्मेवार को को ?

के सरकारले राजावादीहरु उग्र हुन्छन् भन्ने थाहा पाएर पनि सोही अनुसारको तयारी नगरेको हो ? कि गृह मन्त्रालयले भनेजस्तै यस्तो घटना होला भन्ने अनुमान गरिएकै थिएन ? कि...
भर्खरै