नेभिगेशन
सिधाकुरा विशेष

‘तिलमायाको चिहान’: २६ वर्षमै पुरिएको सपना

नवलपरासी । त्रिभुवन विमानस्थल बाहिर प्रस्थान कक्षको बायाँ छेउमा रोकिएको छ बा १९ च ८३१४ नम्बरको एउटा शव वाहन । शव वाहनको छेउमा सुक्सुकाउँदै टोलाइरहेकी छिन् नवलपरासीकी मनमाया सार्की । 

Tilmaya-12-1742826593.jpg
तिलमायाकी दिदि मनमाया सार्की

३ वर्षअघि, 
विमानस्थलको प्रस्थान कक्षबाट यसरी नै सुक्सुकाउँदै मलेसिया उडेकी थिइन्, मनमायाकी बहिनी तिलमाया सार्की । 
आज उनै तिलमाया नेपाल फर्कीदै थिइन् । उनी नियमित यात्रु आउने कक्षबाट आइनन्, विमानको कार्गो भागमा राखिएको कफिनमा चिर निद्रामा आउँदै थिइन् तिलमाया । 
केही बेरमा विमानस्थलका कर्मचारी र वैदेशिक रोजगार प्रवर्धन बोर्डका कर्मचारी विमानस्थल भित्रबाट एउटा लामो ट्रलिमा सेतो कफिन लतार्दै आए ।  मनमायालाई विमानस्थल गोदाम छेउको गेटतर्फ आउन भने । मनमाया जान सकिनन् । उनीसँगै आएका उनका देवर हातमा केही कागज बोकेर सेतो कफिनको छेउमा पुगे । 

Dish Home
Global Ime Bank

Tilmaya-09-1742826096.jpg
विमानस्थलका कर्मचारीले कफिनमा लेखिएको विवरण र मनमायाको देवरले हातमा लिए विवरण जुधाए । विवरण मिल्यो । कफिनमा लेखिएको थियो मृतकको नाम तिलमाया सार्की । 
तिलमाया, सानै उमेरमा गरेको बिहे सफल भएन । छोरी जन्मिएपछि श्रीमानले अर्के बिहे गरे । उनी वृद्ध आमासँगै माइती बस्न लागिन् । माइतीको आर्थिक अवस्था कमजोर थियो, हुर्कीदै गरेकी छोरीको भविष्यको चिन्ताले तिलमायालाई मलेसियाको टिकट काट्ने बाटोमा पुर्याएको थियो । 
तिलमायाकी दिदि मनमायाका अनुसार घरेलु कामदारका रुपमा मलेसिया हिड्नुअघि वृद्ध आमा धनमाया सार्कीको काखमा छोरी राख्दै भनेकी थिइन्, “म केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु” । 
मलेसिया पुगेपछि कम्पनीमा काम राम्रै चल्दै थियो । वृद्ध आमा, नाबालक छोरी र आफन्तहरुँग तिलमायाको कुरा भइरहन्थ्यो । 

घर माथिबाट हेलिकप्टर उड्दा आमा यसैमा उडेर विदेश गएको भन्ने गर्थिन् । जब साँझ पथ्र्यो, उनी आमालाई खोज्थिन्, जब बिहान उठ्थिन् मोबाइलमा आमाको म्यासेन्जरमा फोन हान्थिन् । अवोध उनलाई कसैले भन्न सक्ने पनि थिएन कि, ‘अब तिम्री आमा गएको त्यो लोकमा फोनको घण्टी बज्दैन छोरी ।’

अन्तिम पटक वैशाख २८ गते आमा ख्वाउने औँशीका दिन तिलमायाले ७० वर्षीय आमालाई फोन गरेकी थिइन् । आफ्नो अवस्था बारे खासै केही नबताएकी तिलमायाले धेरैबेर आमा र छोरीसँग कुरा गरेकी थिइन् । 
त्यसपछि वृद्ध आमाको फोनमा तिलमाया नामबाट कहिल्यै फोन बजेको छैन । आमा ख्वाउने औँसीका दिनको बोली नै अन्तिम बोली भयो । त्यसपछि उनको फोन कहिल्यै आएन । बरु केही दिनमा खबर आयो, तिलमायाको हत्या भयो । 
एक पाकिस्तानीले तिलमायाको हत्या गरेको खबर पुष्टि हुनै झण्डै तीन साता लाग्यो । 
त्यसपछि शव ल्याउनका लागि वृद्ध आमा र दिदिले कम्ती संघर्ष गर्नुपरेन । झण्डै ११ महिनापछि मलेसियाबाट तिलमायाको शव आयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तिलमायाको शव बोकेर शववाहन नवलपरासी तिर लाग्यो ।

मङ्गलबार एकाबिहानै नवलपरासीपूर्वको कावासोती नगरपालिका–०३ को हसौरास्थित धनमाया सार्कीको आँगनमा छोरी तिलमायाको शव आइपुग्यो । जुन आँगनबाट ३ वर्षअघि तिलमाया मलेसिया हिँडेकी थिइन् । 
मधुरो घाम लाग्दै गर्दा धनमायाको आँगनमा शोकमग्न भीड जम्मा भइसकेको थियो । आँगनको बिचमा राखिएको कफिन आफन्तले घेरेका थिए ।  परदेशी भूमिमा श्रम बेच्न गएकी  तिलमाया अब कहिल्यै नफर्किने गरी आफन्तका बिचमा बाकसभित्र थिइन् । 
तिलमायाकी ६ वर्षीय छोरी हजुरआमा धनमायाको काखमा लुटपुटीएकी थिइन् । हजुरआमा, ठुलीआमा र आफन्त रोएको देखेर उनी पनि रोहीरहेकी थिइन् । उनलाई अहिलेसम्म त्यो सेतो बाकसभित्र आमा छिन् भन्ने थाहा थिएन । 
उनले कहिलेकाँही घर माथिबाट हेलिकप्टर उड्दा आमा यसैमा उडेर विदेश गएको भन्ने गर्थिन् । पछिल्लो ११ महिनादेखि आमाको फोन नआउँदा हजुरआमा, ठुलाआमालाई आमा कहाँ हराइन् भन्दै न्यास्रो मान्ने गर्थिन् । 
जब साँझ पथ्र्यो, उनी आमालाई खोज्थिन्, जब बिहान उठ्थिन् मोबाइलमा आमाको म्यासेन्जरमा फोन हान्थिन् । अवोध उनलाई कसैले भन्न सक्ने पनि थिएन कि, ‘अब तिम्री आमा गएको त्यो लोकमा फोनको घण्टी बज्दैन छोरी ।’

Tilmaya-04-1742826156.jpg
धनमाया, नातिनीको अनुहार हेर्छिन्, आँसु पुछ्दै आँगनमा राखिएको कफिन हेर्छिन् । घरको माहोल शोकमग्न छ । छिमेकीहरू मौन छन् । आफन्तहरु अन्तिम संस्कारको तयारी गर्दैछन् । 
छोरीको अन्तिम अनुहार हेर्न पाउँ भन्दै धनमायाले गरेको बिलौनपछि विभिन्न निकायको सहयोगमा तिलमायाको शव ११ महिनापछि आँगनमा आइपुगेको थियो । 
आफन्तहरुले तिलमायाको शव भएको कफिन खोले । सेतो कफिनभित्र सेतै कात्रोले बेरिएकी थिइन् तिलमाया । 

Tilmaya-01-1742826245.jpg
जब कफिन खोल्दै आफन्तहरुले तिलमायाको अनुहार हेर्न लागे कोलाहाल मच्चियो । सुन्दर भविष्यको कल्पना गरेर विदेसिएकी छोरीको मृत अनुहार देख्दा धनमाया मुर्छा परिन् । 
आमालाई त्यस्तो अवस्थामा देखेपछि तिलमायाकी ६ वर्षीय छोरी चिच्याएर रुन थालिन् । आफन्तहरुले आशुँ थाम्न सकेनन् । 
घरबाट तिलमायाको शव दाहसंस्कारका लागि निकालियो । गाउँले तथा आफन्तहरुले चिहान खने । तिलमायाको इहलिला माटोसँगै पुरियो । तिलमायासँगै पुरियो छोरीको भविष्य सुन्दर बनाउने सपना, तिलमायासँगै बिलिन भयो ६ वर्षीया छोरी र ७० वर्षीया धनमायाको भरोसा । 

Tilmaya-10-1742826294.jpg
तिलमायाकी आमा धनमाया सार्की

तिलमायाका छिमेकीहरु तिलमायाले जस्तो कसैले भोग्न नपरोस् भनेर कामना गर्छन् । 
तिलमायाको शव नेपाल ल्याउन समन्वय गरेको कावासोती नगरपालिका अन्तर्गतको सुरक्षित आप्रवासन केन्द्रले छोरीका लागि प्राप्त हुने राहत रकमका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ । 

Tilmaya-02-1742826314.jpg

Tilmaya-1742826320.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको...
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्ब भ्रष्टाचार ! 

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्ब भ्रष्टाचार ! 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणका क्रममा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाउँदै भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो । र हाल नागरिक उडड्ययन...
१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

ललितपुरको मंगलबजारमा नसाको सुरुमा रहेको दाजुले आफ्नै ११ वर्षीय बहिनीको हत्या गरी पानीट्यांकीमा लुकाएको घटना बाहिर आएको छ । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।