नेभिगेशन
समाज

शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई छ :  राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको बताएका छन् । शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको उनले बताए । 

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैँ मालिक हुने व्यवस्था भएको बताएको उनको सचिवालयले जनाएको छ ।

Dish Home
Global Ime Bank

उनले भने, “शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य एवं भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो ।” उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य नहुने बताए ।

राष्ट्रपति पौडेलले भने, “इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरङ्कुशताका नाम र अवशेषलाई रुचाएनन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ । यो हजारौँको त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो ।”

राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदलयात्रा गर्दै यस ठाउँमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गरे । उनले भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रुझ्दै र भिज्दै पुगेको बताए । टिम्बुबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अवरूद्ध भएको थियो । टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पञ्चायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो । 

राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा वृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए । उनले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न सम्बद्ध सबैलाई आग्रह गरे। 

राष्ट्रपति पौडेलले सङ्घीयता कार्यान्वयनका लागि तीन तहको सरकार मुलुकमा क्रियाशील भएको भन्दै जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याएको बताए। उनले भने, “यसलाई सार्थक बनाउन संविधानको मर्म र भावनाअनुसार जनताको आवश्यकतामा जिम्मेवार ढङ्गले काम गर्न स्थानीय सरकार अझ बढी क्रियाशील हुनुपर्छ भन्ने म ठान्दछु ।” 

उनले कृषि, जलस्रोत पर्यटन, पूर्वाधार र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार भएको बताउँदै यही भूगोलको सोलु र दूधकोशी नदी क्षेत्रमा निर्माणाधीन साना ठूला जलविद्युत् आयोजनाबाट मुलुकको आर्थिक विकासमा योगदान पुग्नेमा आफू विश्वस्त भएको बताए। उनले भने, “हिमाल आरोहण, पदयात्रासहित साहसिक गतिविधिमार्फत सगरमाथा क्षेत्रले मुलुकको पर्यटनको विकास र विस्तार एवं अन्ततः राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान महत्वपूर्ण छ ।” 

राष्ट्रपति पौडेलले राजधानी र मधेसबाट सर्वोच्च शिखर सगरमाथाको काख अब धेरै टाढा नभएको देख्दा आफू अत्यन्तै खुसी भएको भन्दै अपर सगरमाथा मार्ग निर्माणका लागि भएका पहल र आफूले गरेको सङ्घर्षको स्मरण गरे । 

राष्ट्रपति पौडेलले सगरमाथाको काख मात्र नभई डोल्पाको दुनैदेखि पूर्वी पहाडमा समेत सडक पुगेको बताए । उनले भने, “नुन, तेल लिन भारी बोकेर कैयो दिन हिँड्नुपर्ने हिजोको परिस्थितिबाट टाउकोको भारी बिसाउने अवस्था बहुदलीय लोकतन्त्रले ल्याएको हो । लोकतन्त्रले यो परिवर्तनलाई हामीले भुल्न हुँदैन ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

माइतीघर मण्डला नयाँबानेश्वर सडक पूर्ण रुपमा कब्जा गरी प्रदर्शनी गर्दा नयाँबानेश्वर थापागाउँ सडकमा सवारी चाप बढेको छ भने भित्रिबाटोहरु पनि अस्तव्यस्ता बनेका छन् । 
सरकारको गति :  असोजमा बाढीपहिरो, सातमहिनापछि  क्षति आकलन सुरु

सरकारको गति : असोजमा बाढीपहिरो, सातमहिनापछि क्षति आकलन सुरु

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुआत गरेका छन् ।
दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन ।