नेभिगेशन
विचार
विचार

रवि लामिछाने : दशकौँपछिको क्रान्तिकारी पुस्ता 

२०६८ साल । मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा । कक्षा ११ को दोस्रो त्रैमासिक परीक्षा। नेपाली विषयको प्रश्नपत्रमा सोधिएको थियो, ‘राजनीति भनेको के हो?’ 

व्याख्यात्मक उत्तरको अपेक्षा गरिएको प्रश्नमा मेरो एक वाक्यको उत्तर थियो, ‘मलाई राजनीतिमा उति चासो छैन, त्यसैले यसबारे गहिरो ज्ञान पनि छैन ।’ 
उत्तर पुस्तिका जाँच्दा गुरु निमेश निखिलले मेरो उत्तरमा कस्तो भावभङ्गीको प्रतिक्रिया जनाए होलान् भन्नेमा मलाई अझै पनि चासो छ । भेट्दा सोध्छु जस्तो लाग्छ । तर, उनले के सम्झिरहेका होलान् र भन्ठान्छु । र, आफैँ बिर्सन्छु । यो प्रसङ्ग विषय प्रवेशका लागि मात्रै हो ।

त्यस ताकाका म जस्ता अधिकांश विद्यार्थीलाई राजनीतिबारे चासो हुँदैनथ्यो। राजनीतिबारे परीक्षा या परिणाममा चासो नहुनुको नतिजा सायद यतिबेला हामी भोग्दैछौँ। किनकि, हाम्रै पुस्ताले राख्नुपर्ने थियो चासो, लिनुपर्ने थियो चिन्ता र, गर्नुपर्ने थियो निरन्तर खबरदारी। 

‘किन मैले त्यतिबेला नै राजनीतिबारे चासो दिइन?’ भनेर अहिले आफैँमा प्रश्न गर्ने अवस्थामा आइपुगेको छु। किनकि, यो दस वर्षमा म मा राजनीतिको महत्वबारे काफी चेत बढेको छ। म चाहान्छु, अबको पुस्ताले कुनै पनि परीक्षामा मेरोजस्तो कुतर्क नगरोस्। व्यवहारमा त झनै नगरोस् ! 

अब विषयमा प्रवेश गरौँ।,
गत असोजमा अछामको ढकारी गाउँपालिकामा २९ वर्षकी सुत्केरीले समयमा उपचार नपाएर ज्यान गुमाइन। रगतमात्रै पाउन सकेको भए सङ्खुवासभाको सिलिचोङकी सिर्जना कुलुङले २६ वर्षमै संसार छोड्नुपर्ने थिएन। दुर्गमले यस्ता पीडा दिनदिनै खपिरहेकै छ। ताजुब त, बिलौना गर्दागर्दै सिंहदरबारको मात्र साढे ६ किलोमिटर पर दिन दहाडै मान्छे बाढीमा बग्छन्। 

समसाँझै पार्टीका कार्यकर्ताबाट कुटिन्छन्, ड्युटीमा खटिएका प्रहरी। कसुरदार समाउन सिंहदरवारकै आदेश पर्खिन्छ, सङ्गठन। अदालतले छोडिदिन्छ नगन्य धरौटीमा। अनि, तिनै कुर्लिन्छन्, ‘हामीलाई दादागिरी गर्ने छुट छ।’ सोच्नुस् त, किन भइरहेको छ यस्तो?

नवीकरण गर्ने बेलासम्म आउँदैन सवारी चालक अनुमतिपत्र। घुस नदिई तत्काल पाइन्न सरकारी सेवा। एउटा सिफारिस सहज रुपमा लिन पनि आफ्नै पार्टीको हुनुपर्छ, वडाध्यक्ष। पैसा हुनेलाई छुट्टै खुल्छ, पशुपतिनाथ मन्दिरको ढोका। बील तिर्न नसक्ने गरिबको लास समेत दिँदैनन्, अस्पताल। तै पनि हामी सहिरहेका छौँ। अचम्मका धैर्यवान छौँ हामी। 

एक गाग्रो पानी लिन घण्टौँ हिँड्छिन, आमा। विद्यालय छेवैमा आफ्नै उमेरका साथीको जुत्ता सिलाउँछ, बालक। जीवनको मध्यभागमा राहदानीको लाइनमा उभिएका छन्, बा। नेताहरुबाटै यौन शोषणमा परेका छन्, छोरी–चेली। प्रेम प्रस्ताव अस्वीकार गर्दा किशोरीका अनुहार तेजावले धोइदिन्छ, पागल प्रेमी। सोच्नुस् त, कसको न्यायका लागि खडा भएका हुन् अड्डा–अदालत ?

न्याय माग्न राजनीतिक दलकै फेरो समातेर पीडितले नै सिंहदरवार धाउनुपर्छ। अझ, सहजै खुल्दैनन् चोटा–कोठाका ढोका। 

एकसमय टेलिभिजन प्रस्तोता हुँदा सहकर्मीको मृत्युपछि आत्महत्या दुरुत्साहनको परिभाषा बदलेर मुद्दा लगाइयो। अहिले, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको परिभाषा बदलेर। अपराधको परिभाषा नै बदलेर कुनै व्यक्तिलाई सकाउन कोही किन उद्दत हुन्छ? यसको सिधा उत्तर हो, उनी पछिल्लो पुस्तामा आशा जगाउन सफल हुँदैछन्। जसले केही दलका नेतालाई भाउन्न बनाएको छ। उनी आशा हुन् तपाईं–हाम्रो निरासाका। उनी आवाज हुन् यो पुस्ताको। जसले राजनीतिमा अघिल्लो पुस्ताविरुद्ध धावा बोल्यो। र, हजारौं युवाका लागि राजनीतिको ढोका खोलिदियो।  


२०७२ सालमा त्रिभुवन विमानस्थलमा बिदाइ गर्न जाँदा भाइ सन्तोषले पाँचै वर्षमा देश फर्किने कसम खाएको थियो। दस वर्ष बित्दा देश फर्कने मनै मर्यो भन्दैछ उ। फर्केर यतै केही गरौँला भन्ने जाँदाखेरीको हिम्मत हरायो रे ! बरु बितेका दस वर्षमा सँगै हुर्किएका कैयौँ परदेशिए। सकेसम्म उतै बस्ने, केही नलागे फर्किने भन्दै दैनिक जहाज चढ्नेको ताँतीलाई संख्यामा मात्रै गन्छौँ हामी। युवा रित्याउन भूमिका खेलेकै राजनीतिक नेतृत्व भन्छ, ‘हामी राजनीतिमा युवा देख्न चाहान्छौँ।’ विरोधाभाषको पनि हद छ। 

देशले अहिले भोगिरहेको अवस्था हाम्रै मौनता र हेलचेक्रयाईँकाे उपज हो। यो अवस्था हाम्रा लागि सजाय हो, आफ्नै लापरवाहीको। 

सत्तापक्षका नेताले सहकारीको बचत अपचलनबाट उन्मुक्ति पाउँछन्, संलग्नै नभएका विपक्षी दलका नेतालाई झुटा मुद्दा लगाइन्छ। श्रम शोषणको आरोप लाग्ने सत्तापक्षीय माननीयविरुद्ध मुद्दा चल्दैन। सरकारी सम्पत्ति दुरुपयोग गर्नेहरु राजनीतिको छत्रछायाँमा निर्धक्क शीर ठाडो पारेर हिँड्छन्।

ठेकेदारले दिन्छ, शीर्ष नेतालाई निवास। व्यापारीको दानमा बन्छ, पार्टी कार्यालय। बिचौलियाले नेताका घर–घर पुर्याउँछन्, मांस–मदिरा। नेताको विस्तारामै पुग्छन, बिचौलिया। हामी यिनै कृत्यबाट कहिँ कतै सिंचित हुन पाएका छौँ र, मौन छौँ। सिंचाइ नपुगेकाहरु फलाक्नबाहेक अरु केही सक्ने अवस्थामा छैनौँ। 

तर, सधैँ एउटै रहँदैन परिस्थिति। बदलिन्छ नागरिकको पनि चेतना, सोच र शैली। अनि, बदलिन्छ अवस्था। रुपान्तरण गर्न कोही न कोही आउँछ। 

हिजोसम्म टेलिभिजनको पर्दामा प्रश्न गर्थ्याे। केही महिनाकै बीचमा संसदमै पुगेर हुंकारपूर्ण प्रश्ज गर्ने भयो उ। उ अर्थात् रवि लामिछाने। ८० को दशकमा उदाएको क्रान्तिकारी पुस्ताको प्रतिनिधि हो, रवि लामिछाने। जसले देशको अवस्था बदल्ने संकल्प लिएको छ। 

यही पुस्ता हो, अब देशलाई बर्बाद हुनबाट जोगाउने। यही पुस्ता हो, जसबाट रुपान्तरणको नेतृत्व हुन्छ भनेर आशा गर्ने। यही पुस्ता हो, जो आधुनिक नेपालको निर्माणकर्ता बन्न सक्छ । हरेस खाएर देश छोड्नुअघि एकपटक ‘लि क्वानयु’लाई पढ्नुहोस्। सिंगापुरलाई विश्वमै उदाहरणीय बनाउन एउटै व्यक्ति कसरी काफी भयो? त्यो परिवर्तन धेरै परको कुरा होइन। तर, नेपालमा पनि जनताले चिन्न सक्नुपर्छ अवको रुपान्तरणकारी नेतृत्व। 

हुन त रवि लामिछानेसँग विमती राख्ने पनि कम छैनन्। तर, व्यक्ति रवि लामिछानेलाई आफ्नो प्रतिस्पर्धी मानेर विमति राख्ने, विमति प्रस्ट्याउन व्यक्तिगत जीवनमै प्रहार गर्ने, उ ढलेपछि मात्रै आफू अग्लिन्छु भन्ठान्ने र अहिलेको मुख्य समस्या रवि लामिछाने नै हुन् जसरी प्रचार गर्नेप्रति भन्नु केही छैन। अफवाहका कारण गलत धारणा बनाउनेका लागि चाहिँ केही तथ्य राख्न चाहान्छु। 

सरदर ९० लाख रुपैयाँ खर्च गरेर अबैध बाटोबाट अमेरिका पुगेका केही नेपाली फागुन २१ गते नेपाल फर्काइए। त्रिभुवन विमानस्थलको अध्यागमनमा सोधपुछ भयो। तर, अबैध रुपमा पठाउने एजेन्टबारे उनीहरुले सूचना दिन मानेनन् । बरु घर फर्कँदै गर्दा भने, ‘ट्रम्पको शासनकाल सकिएपछि फेरि उतै जाने हो।’ फेरि अमेरिका जान सहयोग गर्ने मान्छेबारे किन सूचना दिन्थे उनीहरु? 

मैले त अमेरिकाबारे सुनेको र पढेको मात्रै हुँ। तर, त्यहाँ केही त छ जसका कारण देशका भविष्यहरु फेरि पनि उस्तै जोखिम मोलेर त्यहाँ जान चाहन्छन्। सोच्नुस् त आफ्नै देशसँग यसरी अघाएकाहरु अब कुनै विकसित देशको सुविधा सम्पन्न जीवन छोडेर फर्किएलान्, आउने पुस्ताका लागि क्रान्ति गरिदिन? अनि, रवि लामिछाने? 

उनी भने त्यही अमेरिकाको स्थायी बसोवास अनुमतिसमेत लत्याएर देश फर्किए र फुके परिवर्तनको बिगुल। उनीमाथि अहिलेको पुस्ताले एकपटक विश्वास कसरी नगर्ने?

राजनीति त परिस्थितिले उनीमाथि बोकाएको भारी हो। उनी त टेलिभिजनमा निमुखाहरुको आवाज बोल्थे। राजनीतिका कारण सिर्जित विकृति–विसंगतिविरुद्ध चिच्याउथे। सरकारी अड्डाका घुसखोर र कामचोर कर्मचारीका अनुहार देखाइदिन्थे। उनी देशका शासकलाई खबरदारी गर्न नेपाल फर्किएका थिए, न कि आफैं शासक बन्न। तर, पुराना दलको अकर्मण्यताले उनलाई राजनीतिमा होमायो। पुराना दलहरुले ‘भाग खोस्न आएको’ भाष्य बनाएका छन्। तर, मैले चिनेसम्म उनी कसैको भाग खोसेर आफ्नो पेट पाल्न राजनीतिमा होमिएका होइनन्।

नयाँ पुस्ताले बुझ्नुपर्छ कि, जनताका दुःख र देशको लावारिस अवस्थाले जन्माएका नेता हुन् रवि। जसले क्रान्तिको रंग रातै हुन्छ भन्ने भ्रमको बादल हटाउन खोजिरहेको छ। त्यसैको प्रभाव हो आज सडक र सदनमा सुनिने ‘निलो क्रान्ति’। नयाँ पिढीले यो पनि बुझ्नु पर्छ, सत्ता र शक्तिले सबैभन्दा बढि त्यही व्यक्तिलाई प्रहार गर्छ जसबाट आफुलाई अधिक खतरा महसुस हुन्छ। 

अब रवि लामिछानेमाथिको प्रहार विश्लेषण गर्नुस्। एकसमय टेलिभिजन प्रस्तोता हुँदा सहकर्मीको मृत्युपछि आत्महत्या दुरुत्साहनको परिभाषा बदलेर मुद्दा लगाइयो। अहिले, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको परिभाषा बदलेर। अपराधको परिभाषा नै बदलेर कुनै व्यक्तिलाई सकाउन कोही किन उद्दत हुन्छ? यसको सिधा उत्तर हो, उनी पछिल्लो पुस्तामा आशा जगाउन सफल हुँदैछन्। जसले केही दलका नेतालाई भाउन्न बनाएको छ। उनी आशा हुन् तपाईं–हाम्रो निरासाका। उनी आवाज हुन् यो पुस्ताको। जसले राजनीतिमा अघिल्लो पुस्ताविरुद्ध धावा बोल्यो। र, हजारौं युवाका लागि राजनीतिको ढोका खोलिदियो।  

यही कुरा सह्य छैन पुराना नेताहरुलाई। उनीहरु सक्काउन चाहन्छन् उदाउँदोलाई। उनीहरु बेलैमा निमिट्यान्न पार्न चाहन्छन् प्रतिश्पर्धीलाई। र, त्यसकै लागि दुरुपयोग गरिएको छ कानून र अड्डा–अदालत। 

चिन्ता यो होइन कि, उनीहरु यस्ता आवाज दबाउन या सके सदाका लागि अन्त्य गर्न उद्दत छन्। चिन्ता यो हो कि, अफवाहकै पछि लागेर हाम्रो पुस्ता पनि उनै रवि लामिछानेलाई लखेट्न खोज्दैछ। सत्य र तथ्य नबुझी सत्तासिनले सिर्जना गरेका मिथ्या कथाको प्लटकै आधारमा हामी पनि रविमाथि हिलो छ्यापिरहेका छौँ। हामीलाई कसैबारे पनि गहिरो अध्ययन गर्ने रुची छैन। स्वार्थबस कसैले लगाइदिएको फत्तुरको तथ्य जाँच्ने बानी छैन। सामाजिक सञ्जालमा प्रवाह हुने अफवाहकै आधारमा धारणा बनाउँछौं। तर, सोच्दैनौँ – तथ्यहीन हाम्रो धारणालाई व्यक्ति, समाज र व्यवस्थामा कस्तो असर गरिरहेको छ।


सोचौँ त हर्कहरु पानी माग्न पनि यिनीहरुकै दैलो पुग्नुपर्ने। बालेनहरु कर्मचारी माग्न पनि यिनीहरुकै चाकरी गर्नुपर्ने। अनि, रविहरु न्याय माग्न पनि यिनीहरुसँगै हारगुहार गर्नुपर्ने ! 

देशका संरचना दल र नेताहरुको दबाब र प्रभावमा हुँदैनथ्यो त यस्तो बेथितिको कल्पनै गर्न सकिन्नथ्यो। कुनै पेशा–व्यवसाय बिना राजनीतिका नाममा वर्षौदेखि लुट मच्याएकाहरु नयाँ आउने हरेकलाई दैलोमै रोक्न चाहन्छन्। राजनीतिको कोर्स बदल्न आउने हरेक युवाले पुरानो सत्ताले खडा गरेका गलत संरचनासँग पैठाजोरी खेल्नुपर्छ। रवि लामिछानेको यो उतारचढाब यही लडाइँको परिणाम  हो। उनीहरु सोचिरहेका छन्, रविहरु ढले भने कसैले पनि हामीलाई चुनौती दिने छैनन्। 

हुन पनि यो पुस्ताको प्रतिनिधि ढल्यो भने को रहन्छ राजनीतिमा निषेधको पर्खाल भत्काउन लड्ने लडाकु ? ब्रिफकेस बोकेर विमानस्थलको लाइनमा उभिएको युवा फेरि फर्केर होमिएला यो लडाइँमा? खै ...! 

१८७२ मा बम शाहहरुले कुमाउमा अंग्रेजसँग घुँडा टेक्दा अमरसिंहजस्ता वीर योद्धा निरिह भई पश्चिम नेपाल सुम्पिएर महाकाली तर्नुपर्यो। दुई सय वर्षपछि पनि लडाईँको यही रणनीति समाएर पुराना दलहरु सोचिरहेछन्, एउटा योद्धालाई घुँडा टेकाउन पाए त कैयौँ वर्ष सहजै राज गर्न सकिन्छ। र, कायम रहन्छ आफ्नै विरासत। अनि, त्यसैलाई मलजल गरिरहेको छ हाम्रो मौनताले। अबको पुस्ताले चिन्नुपर्छ रवि लामिछानेहरु। किनकि, उनीहरु नै हुन् हाम्रा प्रश्नका प्रतिनिधि। रवि जोगिए जाग्ने हो, उज्यालो भविष्यको सपना। 

नेताहरु माथि विश्वासको खडेरी लागेका बेला पछिल्लो पुस्ताले ठण्डा दिमागले सोच्नुपर्छ कि, रवि लामिछाने को हुन्, को थिए, के गरे? उनीविरुद्ध कसले के गरिरहेको छ? राज्यले रविविरुद्ध गरेको ज्यादती नयाँ पुस्ताप्रतिको वेइमानी हो। पुस्ताप्रतिकै वेइमानी स्वीकार्न अभिसप्त हो त हाम्रो पुस्ता? होइन भने तथ्यको जगमा उभिएको सत्यलाई स्थापित गर्न आवाज उठाऔँ। यो लडाइँ रवि लामिछानेको व्यक्तिगत होइन, पुरानो र नयाँ पुस्ताबीचको हो। सत्य र असत्यबीचको हो। यथास्थिति र अग्रगमनबीचको हो। 

प्रकृतिको नियमले भन्छ, पुरानोलाई नयाँले विस्थापित गर्छ। धार्मिक दस्तावेजहरु भन्छन्, सत्यकै जीत हुन्छ। अनि, इतिहासले प्रमाणित गरेको छ, यथास्थितिलाई अग्रगमनले पछाडि पार्छ।
अब आफैँ रोज्नुस्, आफ्नो कित्ता !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विचार
कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?

कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?

जीवनभर निःशुल्क काम गर्दा जीविकोपार्जनमा समस्या छ । स्वास्थ्य स्वयंसेविकाहरु दिनरात नभनी काममा खट्छन् । जीवनको उर्भर समय स्वास्थ्य अभियानमा बिताउँछन् । तर राज्यले उनीहरुका लागि केही गरेको...
 आफू विरुद्धको असन्तुष्टिमा भारतलाई जोड्दै एमाले 

 आफू विरुद्धको असन्तुष्टिमा भारतलाई जोड्दै एमाले 

राष्ट्रिय सुरक्षा र व्यवस्थामाथि प्रहार गरिएको संवेदनशील विषयमा आफ्नो विरुद्धको असन्तुष्टी र आक्रोशलाई विषयान्तर गर्न कम्तिमा सत्तामा बसेकाहरु दुर्गा प्रसाईं बन्नु हुन्न । आन्तरिक राजनीतिको असन्तुष्टिमा आफ्नो सम्बन्ध...
‘सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन्’

‘सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन्’

सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभङ्ग बढाउँदै लगेको उने बताए । आठ महिना अघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष नभएको दाबी गर्दै प्रचण्डले आफ्नो नेतृत्व कालमा...
भर्खरै