नेभिगेशन
समाज

दूध बेचेर मासिक दुई लाख कमाइ !

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन् । गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गरेका हुन् ।

लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले गाउँ फर्केर यो पेसा अँगालेको कृषक बाँस्तोला बताउँछन् । उनका फार्ममा अहिले २२ वटा गाई छन् । जसमध्ये १५ वटा दुहुना गाईबाट दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आएका छन् । ‘शुरूमा एक करोडको लगानी भएको छ,’ उनले भने, ‘मासिक चार लाखको दूध बिक्री गर्छु, सबै खर्च कटाएर मासिक दुई लाख कमाउँदै आएको छु ।’


त्यसैगरी अर्का दुग्ध व्यवसायी मेघनाथ आचार्यले नौ वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन् । १३ वर्ष वैदेशिक रोजगारीमा रहेका आचार्य स्वदेश फर्किएर गाईपालन व्यवसायमा लागेका हुन् । खर्च कटाएर मासिक ४५ हजार कमाउँदै आएको कृषक आचार्य बताउँछन् । आफ्नो चार रोपनी र भाडामा १२ रोपनी जग्गा लिएर घाँसखेती गरेको छु,’ उनले भने, ‘शुरूमा दश लाख लगानी गरी थालिएको व्यवसायबाट परिवार सन्तुष्ट छौं ।’

गाउँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा लागेपछि यस क्षेत्रको मुहार फेरिएको छ । आर्थिक क्षेत्रमा सबल बन्नुका साथै अन्यका व्यक्तिका लागि पनि गरे हुँदोरहेछ भन्ने गतिलो सन्देश यस क्षेत्रका पशुपालन कृषकले दिएका छन् ।

गाउँबाट दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएको छ । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ । संस्थामा आबद्ध एक सय जना शेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गर्दै आएको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए।

उनले भने, ‘कृषकको खरिद मूल्यअनुरूप दैनिक एक लाख ३० हजार मूल्यको दूध सङ्कलन हुने गरेको छ, थोरैमा रू १५ हजारदेखि दुई लाखसम्म मासिक कमाउने गरेका छन् ।’ यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट छ सय लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाइने गरिएको छ । पोखरा नपठाई स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझै बढी फाइदा लिनसक्ने उनी बताउँछन् ।

दूधका साथै दही, पनिर, नौनी र घ्यू पनि बिक्री गर्ने गरिएको छ । आठ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यस क्षेत्रका अधिकांश मानिसहरू पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन् । व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुनसक्ने संस्थाका अध्यक्ष केशवबहादुर रानाले बताए।

गाउँ नजिकै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न समेत सहज भएको छ । कृषकका मागबमोजिम बेलबास दुग्ध उत्पादक सहकारी संस्थालाई दुई वटा डिप फ्रिज अनुदानमा सहयोग गरिएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए । उनले भने, ‘नगरपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रतिलिटर दूधमा एक अनुदान प्रदान गर्दै आएकोमा वृद्धि गर्ने योजना बनाएको छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
उखु अभावले ‘क्रसिङ’ लक्ष्य हासिल भएन, उद्योग एक महिनाअघि नै बन्द

उखु अभावले ‘क्रसिङ’ लक्ष्य हासिल भएन, उद्योग एक महिनाअघि नै बन्द

किसानले उखुको प्रतिक्विन्टल रु ७५० पाउनुपर्ने माग राख्दै आएका थिए तर सरकारले गत वर्षको मूल्यमा प्रतिक्विन्टल रु २० मात्र बढाएर ५८५ कायम गरेको छ ।
घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

नेयमार चोटका कारण करिब डेढ वर्ष ब्राजिली टोलीबाट बाहिरिएका थिए तर फेब्रुअरीमा सान्तोसमा फर्किएका थिए ।