नेभिगेशन
मुख्य समाचार
विचार

 आफू विरुद्धको असन्तुष्टिमा भारतलाई जोड्दै एमाले 

काठमाडौँ । खुलामञ्चमा देउडा कार्यक्रममा सहभागी हुँदा प्रधानमन्त्रीविरुद्ध नारा लाग्छ । रङ्गशालामा फुटबल हेर्न जाँदा प्रधानमन्त्रीलाई देश छोड भन्दै नाराबाजी गरिन्छ । धरान जान्छन् त्यही बाटोमा जनताले हर्न बजाएर धपाउने धम्की दिन्छन् । नेपालगञ्ज पुग्छन् उस्तै हुन्छ ।


सङ्ख्यामा लगभग दुई तिहाइ भए पनि कार्यकर्ताबाहेक र तारे होटलको उच्च सुरक्षाका कार्यक्रम बाहेकमा प्रधानमन्त्री र उनका मन्त्रीहरू खुलस्त सहभागी हुने र जनतासामु आफ्नो कुरा राख्न नसक्ने अवस्थाबीच राजावादीहरू सल्बलाएका छन् ।


पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर दिएको अभिव्यक्ति राजनीतिक थियो । 
फागुन ७ अघि र पछिको उनका गतिविधि, उनलाई काँधमा हाल्न लागेका फरकफरक तप्का र अहिले चलाइएको व्यवस्था विरोधी गतिविधिहरू यो मुलुकका लागि हितकर छैन र देखिदैन ।


सरकार संरक्षित भ्रष्टाचार, महँगी, अन्याय, अत्याचार र आर्थिक सङ्कटका कारण जनता प्रताडित भइरहेका बेला मुलुकमा व्यवस्था नै फेर्ने ह्वीम चलाइएको छ । एकातर्फ दुई तिहाइको बलियो सरकारको दावा र अर्कोतर्फ तिनै सरकारका सबै मन्त्री र प्रशासननै जनताबाट उपेक्षित भइरहेको अवस्थाबीच व्यवस्था विरोधी आन्दोलनले आइतबार काठमाडौँमा आफ्नो तागत देखाएको छ ।

राष्ट्रिय सुरक्षा र व्यवस्थामाथि प्रहार गरिएको संवेदनशील विषयमा आफ्नो विरुद्धको असन्तुष्टी र आक्रोशलाई विषयान्तर गर्न कम्तिमा सत्तामा बसेकाहरु दुर्गा प्रसाईं बन्नु हुन्न । आन्तरिक राजनीतिको असन्तुष्टिमा आफ्नो सम्बन्ध बिग्रिएको तुष पालेर भारतलाई तान्नु हुन्न।


१६ वर्षअघि राजमुकुट जनताको नासो भन्दै सुम्पिएर दरबार छाडेका ज्ञानेन्द्र शाहले अब त्यो नासो फिर्ता माग्ने बेला भएको धम्की मात्रै दिएका छैनन्, खोस्ने तागत नै आफूसँग भएको दाबी आइतबार प्रस्तुत गरेका छन् । राजावादीको नाममा बढ्दो गतिविधि र सरकारको गैरजिम्मेवारीले मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिँदै त छैन ? भन्ने भय उत्पन्न गराएको छ । ज्ञानेन्द्र शाह र उनका समर्थकको गतिविधि त लोकतन्त्रमा खुल्ला नै छ तर सरकार संयमित र जिम्मेवार बनेन भने जोखिम व्यवस्था माथि नै पर्नसक्छ । किनभने अहिलेको ताजा विश्लेषणले भन्छ सरकारी संयन्त्र राजा वा राज्य विरुद्धको शक्ति र सामर्थ्य मापन गर्न चुकेको छ ।
फागुन २१ गते काठमाडौँमा राप्रपाको आह्वानमा राजसंस्था ब्युँताउने मागसहित मोटरसाइकल र्याली आयोजना गरियो ।

Raprapa_Protest_at_Babarmahal_Kathmandu-1741696637.png
 



पूर्वराजा ज्ञानेन्द्रले छोडेपछि सङ्ग्रहालय बनाइएको दरबारसम्म पुग्नेगरि बबरमहलबाट सुरु भएको र्यालीमा सरकारले २ हजार हाराहारी मानिसहरू सहभागी हुने अनुमान गरेको थियो । तर, १२ हजार मानिसहरू सो आन्दोलनमा सहभागी भए । 
काठमाडौँमा विशाल र्याली भइरहँदा पूर्वराजा ज्ञानेन्द्र भने बाग्लुङमा नागरिक अभिनन्दनमा सहभागी हुँदै थिए । राजाको भव्य अभिनन्दन धार्मिक आवरणमा भएको थियो । राजा बोकेको राप्रपाको बलियो संगठन नै नभएको जिल्लामै शाहलाई हजारौँ मानिसले अभिनन्दन गरिदिए ।

Ex-king-Gyanendra-Shah-at-Baglung-1741697007.png


त्यसको भोलिपल्टै २२ फागुनमा शाहले १६ वर्ष अघि माओवादीले भत्काएको आफ्ना दाजु एवम् पूर्व राजा विरेन्द्र शाहको शालिकको अनावरण गरे ।
फागुन २४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा वीरगञ्जमा अर्को भव्य कार्यक्रम भयो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता सहभागी कार्यक्रममा २०७२ को संविधानलाई अवैध भन्दै खारेज गर्न माग गरिएको थियो भने राजतन्त्र फर्काउनुपर्ने कार्यक्रमको उद्देश्य थियो । 
यी सबै कार्यक्रमका बीच पूर्वराजा पोखराबाट काठमाडौँ आउने कार्यतालिका साता दिनअघि नै तय थियो । अर्थात फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र निर्मल निवास आउदैँ थिए । तर, सरकारले २४ फागुनको राति नै काठमाडौँका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गर्यो ।

आइतबारको आन्दोलनमा आन्दोलनकारीले एउटा फोटो भारत उत्तर प्रदेशका मूख्यमन्त्री योगीआदित्यनाथको प्रयोग गरेका थिए । आन्देलनमा सहभागीहरुका अनुसार सो फोटो दुर्गा प्रसाईं समूहले सांकेतिक रुपमा प्रस्तुत गरेको थियो ।


जिल्ला प्रशासन कार्यालय काठमाडौँद्धारा जारी गरिएको सो निषेधाज्ञामा २५ गतेदेखि ५ भिभिआइपी क्षेत्रमा ४ जना भन्दा धेरै मानिस उपस्थित हुन, भेला विरोध, तोडफोड र आगजनीजन्य कार्य गर्न निषेध गरिएको थियो । 
सुरक्षा स्रोतले पछिल्लो समय भइरहेको राजाको गतिविधि र सरकारको बढ्दो आलोचनालाई नजिकबाट नियालीरहेको थियो । सुरक्षा स्रोतको दाबीअनुसार सरकारमाथि बढिरहेको नागरिक असन्तुष्टि, बदलिएको विश्व भूराजनीति र नेपाल सरकारको तालमेल मिलिरहेको छैन र यहाँ जुनसुकै बेला त्यसको असर देखिन सक्छ । 
यसबारे सुरक्षा निकायले राजनीतिक वृत्तमा गरेको रिर्पोटिङमा नेपालमा भइरहेको सरकार विरोधी गतिविधि र असन्तुष्टिमा जनताहरु आफैँ मात्रै बोलिरहेका छैनन्, कुनै तत्वको अदृश्य प्रभाव छ । यी सबै परिस्थितिले सरकार बेलैमा सचेत नबन्ने हो र गणतन्त्रवादीहरु एक ठाउँमा उभिएर सच्चिने गरी नतिजा दिएनन् भने परिस्थिति जटिल बन्ने मोडमा पुगेको छ । 
तर, आइतबार राजावादीको प्रर्दशनपछि एमालेमा पलाएको दम्भ भने व्यवस्थाका लागि झनै घातक बन्ने जोखिम छ । सुरक्षा निकायले नेपालमा बढ्दो असन्तुष्टिमा अदृश्य मानेको घटनाको नेतृत्व अहिले दुर्गा प्रसाईं समूहले गरिरहेको छ । 
नेपालका सबै प्रणालीबाट लखेटिएका उनी अहिले धार्मिक आवरणमा व्यवस्था विरोधी गतिविधिमा संलग्न छन् । हिन्दू सनातन धर्म पक्षधरको बलमा आस्थासँग जोडिएको सबै संघ संस्था र आवरणका मानिसहरुलाई उनले एकीकृत गरिरहेका छन् । 
यही बलमा उनी अहिलेको सत्तालाई गलाउने मनसायमा छन् र त्यसका लागि उनले राजालाई ढाल बनाएका छन् । यत्तिको माहोलमा राजा नहौसिने कुनै कारण नै छैन । तर, यसलाई एमालेले झनै घातक ढंगबाट सरकारको नेतृत्वमा रहेर मलजल गरिरहेको पछिल्लो दुुई दिनको घटनाले देखाउँछ । 
आइतबारको आन्दोलनमा आन्दोलनकारीले एउटा फोटो भारत उत्तर प्रदेशका मूख्यमन्त्री योगीआदित्यनाथको प्रयोग गरेका थिए । आन्देलनमा सहभागीहरुका अनुसार सो फोटो दुर्गा प्रसाईं समूहले सांकेतिक रुपमा प्रस्तुत गरेको थियो ।

Yogi-Adityanath's-Photo-on-Protest-1741697353.png

स्रोतका अनुसार भारतले भाउ नदिइरहेको सरकारलाई तर्साउन ति फोटो प्रयोग गरिएको थियो तर त्यसैलाई एमालेले जबरजस्त उचालेर अहिले संस्थागत गरिदिएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘राष्ट्रवादी महोदयहरुले र्यालीमा प्रयोग गरेका यी २ फोटाहरु...’ भनेर राजावादीको आन्दोलनबारे खिसिट्युरी गर्दै सबैभन्दा पहिले सो तस्विरबारे चर्चा गरेका थिए । 

 


फेसबुकमा उनले आन्दोलनलाई खिसिट्युरी गर्दै राष्ट्रवादको नाममा विदेशीको फोटोको साहारा लिनु परेको दाबी गरेका थिए । उनको उक्त पोस्ट एमाले कार्यकर्ताहरुले पार्टीको आधिकारीक धारणा नै बनाएर सामाजिक सञ्जालमा बाँडिरहेका छन् ।
कुरा यत्तिमा मात्रै रोकिएको छैन । सोमबार एक सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री ओलीले सो फोटोबारे टिप्पणी गरेर विष्णु रिमालको भनाई आफ्नै भएको आधिकारिकता प्रदान गरे ।
उनले भनेका छन् ‘त्यो मान्छे मैले नै ल्याईदिएको, फोटो मैले नै टाँस्न लगाएको, मोटरसाईकल मैले नै बोलाई दिएको ... कम्तीमा जुलुस निकाल्न विदेशीको फोटो हामीलाई टाँस्न परेको छैन ।’ 
बाक्लो भिडबीच राजाले उठाएको जनमतलाई बिटुलो बनाउन एमालेजनले भारतसँग सम्बन्ध नसुध्रिएको झोँक साटिरहेको छ । अझ खतरनाक चाहीँ के छ भने एमाले पुनः राष्ट्रियताको कार्ड खेल्न सत्तामा बसेर परेड गर्दैछ । 
आफ्नो जनमत नभएको तर सधैँ एमाले अध्यक्षको फेरो समातेर जनमतबिनै मन्त्री सरहको पदमा आसिन व्यक्ति हुन्, विष्णु रिमाल । 
एक पछि अर्को गर्दै जनसर्मथन गुमाई रहेको सरकार र सत्तारुढ पार्टी देशभित्रको आन्तरिक असन्तुष्टि सम्बोधन तर्फ पटक्कै अग्रसर छैन । उल्टै आन्तरिक राजनीतिको असन्तुष्टिमा छिमेकी मुलुक र अमुक नेता जोडेर आफ्नो असक्षमतालाई भूराजनीतिक भूमरीमा धकेल्ने चेष्टा गर्दैछन् र ओली रिमाल यसैको अग्रपङ्तिमा छन् । 
समयमै राजनीतिक सुझबुझ भएन भने नेपाल अर्को संकटको भूमरीमा फस्न अब धेरैबेर कुर्नुपर्ने अवस्था छैन । चाहे त्यो राजा ल्याउने नाममा होस् वा व्यवस्था परिवर्तनका नाममा वा अहिलेको सरकारको असक्षमता र नालायकी पनका कारणले । 
२०६२–६३ को जनआन्दोलनपछि कांग्रेस एमालेको वर्गीय शत्रु थियो, माओवादी । जसरी पनि माओवादीलाई कमजोर बनाउने खेलमा यिनीहरुले मुलुकलाई १० वर्ष लामो संक्रमणकालमा धकेले ।
२०७२ को संविधान जारी हुनुअघि मुलुक त्रिपक्षीय समझदारी (कांग्रेस, एमाले र माओवादी) मा गयो । महाभूकम्प २०७२ ले पनि यो केही राहत त दियो । संविधानको जगमा भएको पहिलो स्थानीय र संघीय निर्वाचनले मुलुकमा गणतन्त्र संस्थागतको जग बसेको थियो । 
त्यसो त स्पष्ट दुुई तिहाईको बहुमत सहितको गणतान्त्रिक सरकार चलाउने सौभाग्य हालका प्रधानमन्त्रीलाई नजुरेको होइन तर आफ्नै ढङ्ग नहुँदा ७ दशक यताकै बलियो सरकार केही वर्षमै छिन्न भिन्न भयो । केही दशक दौडिन सक्ने स्थिर सरकार र विकासको रफ्तार अवरुद्ध गरेर ओलीले स्थायी सत्तालाई कब्जामा लिए । भलै २०७९ को स्थानीय निर्वाचन र संघीय निर्वाचनबाट गणतान्त्रिक लोकतन्त्रको जगमा टेकेर 'लोकतन्त्रका नयाँ फूलहरु' फुलेका थिए । नयाँ पुस्ताबाटै लोकतन्त्रको जग बलियो बनाउने अभियानले जन्मिएका वैकल्पिक राजनीतिले व्यवस्थाको सुन्दरता थप्दै थियो । भलै यही बीचमा ओली पुनः सत्ताको बागडोर सम्हाल्ने ठाउँमा छन् । 
आफूले सत्ता सम्हालेदेखि नै वैकल्पिक शक्तिको खेदो खन्न लागेका ओलीको भय वैकल्पिक शक्तिले शुसासनका नाममा कम्तिमा आफ्ना र आफूहरुमाथि अनुसन्धानको डण्डा नबर्साओस भन्नेमा केन्द्रित देखिन्छ । ओली सरकारसँग असन्तुष्ट जनमत पनि राजा बोक्न भन्दा पनि ओली सरकार फ्याँक्नमा सडक असन्तुष्टिमा लागेको देखिन्छ । 
राजावादीका नाममा प्रसाईं, राप्रपा वा राप्रपा नेपाल हुन् वा जो कसैले योगी आदित्यनाथको फोटो प्रयोग गर्नु धर्मको आड र सत्तामाथिको असन्तुष्टीमाथि टेकेर निम्त्याइएको गम्भीर भूराजनीतिक चलखेल हो । 
यो विषय राष्ट्रिय सुरक्षाका अङ्गगले आन्तरिक अनुसन्धान गर्ने विषय हो । राष्ट्रिय सुरक्षा र व्यवस्थामाथि प्रहार गरिएको संवेदनशील विषयमा आफ्नो विरुद्धको असन्तुष्टी र आक्रोशलाई विषयान्तर गर्न कम्तिमा सत्तामा बसेकाहरु दुर्गा प्रसाईं बन्नु हुन्न । आन्तरिक राजनीतिको असन्तुष्टिमा आफ्नो सम्बन्ध बिग्रिएको तुष पालेर भारतलाई तान्नु हुन्न।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

थप मुख्य समाचार
माथिल्लो अरुण र अरुण चौथो परियोजनाको छलफलमा कुलमानलाई बाइपास

माथिल्लो अरुण र अरुण चौथो परियोजनाको छलफलमा कुलमानलाई बाइपास

यति महत्वपूर्ण छलफलमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भने बाइपास गरिएको छ । आयोजनाबारेको साेमबारकाे छलफलमा अप्पर अरुण हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक फणिन्द्र जोशी, प्राधिकरणका आयोजना विकास...
‘सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन्’

‘सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन्’

सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभङ्ग बढाउँदै लगेको उने बताए । आठ महिना अघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष नभएको दाबी गर्दै प्रचण्डले आफ्नो नेतृत्व कालमा...