मकवानपुर । तालिम, अनुगमन जस्ता कार्यक्रममा फर्जी बिल पेश गरेर भ्रष्टाचारमा संलग्न कर्मचारीलाई जोगाउन खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग नै लागेको छ । केही समयअघि सिधाकुराले खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले गरेको विभिन्न कार्यक्रममा पेश गरेको फर्जी बिल प्रकरणबारे रिपोर्ट प्रकाशित गरेको थियो ।
हेटौंडाका तत्कालिन खाद्य अनुसन्धान अधिकृत सागर दहालले कार्यक्रम र सेमिनारका नाममा फर्जी बिल बनाएको र डेढ बर्षदेखि बिग्रेर बसेको मोबाईल भ्यानमा इन्धन हालेको जस्ता दर्जनौ फर्जी बिल बनाएको र काशिनाथ घिमिरेले उक्त बिल पास गरेको उजागर गरेको थियो ।
तर, सो प्रकरणमा संलग्न कर्मचारीलाई विभागले कुनै कारबाही गरेको छैन । अझ अचम्म चै के भने सो समाचार प्रकाशित गरेको भन्दै विभागले सिधाकुराका सञ्चारकर्मीलाई उल्टै अनुसन्धान गर्ने धम्की दिएका छन् ।
सिधाकुरामा सो घटना उजागर भएपछि विभागले तत्कालिन खाद्य अनुसन्धान अधिकृत दाहाललाई विभागमा हाजिर गराएको छ र अन्य कुनै कारबाही नगरी घटना गुपचुप राखेको छ ।
यस विषयमा प्रश्न गर्दा विभागका प्रवक्ता, सूचना अधिकारी, प्रशासन प्रमुख कोही पनि यो जवाफ दिन चाहदैनन् । तर, सिधाकुराको सम्पर्कमा आएका विभागका उपनिर्देशक सोमकान्त रिजालले यो विषयमा प्रहरी वा अख्तियारमा उजुरी गर्न आग्रह गरे । उनले धम्कीको भाषामा यो विषयमा अब नसोध्न पनि आग्रह गरे । उनले फर्जी बिल पेश गरेको विषय सार्वजनिक गर्ने पत्रकाररलाई सूचना कसले दियो भन्दै छानबिन गर्ने चेतावनी दिए ।
यसअघि सिधाकुरामा प्रसारित रिपोर्टमा देखाईएको फर्जी बिलहरुको सम्बन्धमा विभागले आफ्ना कुनै पनि धारणा सार्वजनिक गर्न सकेको छैन ।
पेश्की लिने खाद्य अनुसन्धान अधिकृत सागर दाहाल र पेश्की फछ्र्यौट गर्दा प्रमाणित गर्ने कार्यालय प्रमुख काशिनाथ घिमिरे दुबैले प्रत्येक बिल भर्पाईमा हस्ताक्षर गरेको सिधाकुराले फेला पारेको छ ।
आधिकारिक हस्ताक्षर पछिमात्रै पेश्की फछ्र्यौट भएको यो विषयलाई विभागले आजसम्म चुपचाप जस्तै राख्नुमा विभागमाथि पनि प्रश्न चिन्ह खडा भएको छ ।