काठमाडौँ । काठमाडौँ गोठाटारकी मनिता शर्माको प्रसूतिका क्रममा भएको मृत्युमा बानेश्वरमा रहेको एभरेस्ट अस्पतालले लापरवाही गरेको शंकास्पद रिपोर्टहरु भेटिएका छन् ।
२ वर्षदेखि सिनामंगलको केएमसी अस्पताल हुँदै बानेश्वरको एभरेष्ट अस्पतालमा डा. ज्योत्सना शर्मासँग नियमित चेकजाँच गर्दै आएकी मनिता शर्माको मंसिर २५ गते शल्यक्रिया बिग्रिएपछि निधन भएको थियो ।
मनिताको मृत्यु शंकास्पद रहेको भन्दै परिवारका सदस्य न्यायको पर्खाइमा छन् । प्रसूतिको अप्रेशन गरेको एभरेष्ट अस्पतालमा हुँदासम्म कुनै पनि कागज नपाएका सुवासले मनितालाई ह्याम्स अस्पताल लगेको केही दिनपछि अर्थात मनिताको मृत्युपछि मात्रै एभरेस्ट अस्पतालमा भएको मेडिकल परीक्षण तथा उपचारको कागजपत्र पाएका थिए ।
मनिताका श्रीमान सुवास पराजुलीको हात पारेको अस्पतालका मेडिकल रिपोर्ट र कन्टिन्युएसन सिटमा देखिएको विवरण अनुसार मनिताको उपचारमा एभरेस्ट अस्पताल गम्भीर नभएको देखिने आधारहरु भेटिएका छन् ।
सिधाकुरालाई प्राप्त कागजात अनुसार एभरेस्ट अस्पतालले २६ गते नै रिफर गरेर मनितालाई ह्याम्स अस्पताल पठाएको थियो । तर, एभरेस्ट अस्पतालले २८ गते पनि औषधि उपचार गरेको रिपोर्ट अहिले परिवारलाई दिएको छ ।
मनिताका श्रीमान सुवासका अनुसार मनितालाई प्रसव पिडाले सताएको मंसिर २५ गते हो । सोही दिन नै सिनामंगलमा रहेको केएमसी पुगेका उनीहरुलाई डा. ज्योत्सनाले एभरेस्ट अस्पताल बोलाएकी थिइन् । तर एभरेस्ट अस्पतालले उनीहरुको इमर्जेन्सी टिकट भने पुरानो मिति अर्थात भदौ २८ गतेको दिएको छ ।
मिति मात्रै बिग्रिएर उपचारमा समस्या नभएको भए खास समस्या हुने थिएन तर मनिताको रक्तचापको विवरण पनि फरक–फरक उल्लेख गरिएको सुवास बताउँछन् ।
अस्पताल छिर्दा बित्तिकै नापिएको ब्लड प्रेसरमाथि २२० र तल १३० लेखेर केरिएको छ भने उनलाई शल्यक्रियाका लागि लैजाने समयमा दायाँ हातमा १५० माथि र तल ८० लेखिएको छ । यस्तै, बायाँ हातमा १५० माथि र तल ९० उल्लेख गरिएको छ तर मनितासँगै बसेर परीक्षण हेरिरहेका सुवासले उनको रक्तचाप १८० माथि र तल १२० भएको देखेको बताउँछन् ।
चिकित्सक ज्योत्सनाले समेत मनिताको रक्तचाप शल्यक्रियाको समयमा १६० माथि र तल १३० रहेको बताएकी थिइन् । त्यसो भए मनिता शर्माको रक्तचाप शल्यक्रिया गर्न मिल्ने अवस्थामा थियो त ? अहिले मनिताका श्रीमान प्रश्न गर्छन ?
यति मात्रै होइन, शल्यक्रिया गर्नुभन्दा पहिला गरिएको परीक्षण रिपोर्टमा उनकोे प्रि इक्लेम्सीयाको पहिचान नै गरिएको छैन । जबकी यो समस्या प्रसूति हुनुभन्दा केही साता पहिले देखिनै सुत्केरी महिलामा देखिने चिकित्सकहरु बताउँछन् । र चिकित्सकहरुले समयमा नै प्रि इक्लेम्सीयाको उपचार गर्न नसकिएकाले मनिताको मृत्यु भएको परिवारलाई बताएका थिए ।
इमर्जेन्सी टिकटमा परीक्षण तथा पहिचान गरिएको सूचीमा प्रि इक्लेम्सीया कतै उल्लेख गरिएको छैन । जबकी २ः४१ मा लिएको परीक्षणमा नै मनिताको लिभरमा उच्च समस्या देखिएको थियो । ३ः३४ मा आएको रिपोर्टमा ४० भन्दा कम हुनुपर्ने लिभरको एसजिपिटी ३०८ थियो भने ३७ भन्दा कम हुनुपर्ने एसजिओटी ३६८ पुगेको थियो । ३०६ भन्दा कम हुुनुपर्ने अल्क फसफोटेस ४८१ पुगेको थियो ।
यति मात्रै होइन, मनिताको मृत्युपछि मात्रै परिवारले पाएको रिपोर्टमा बच्चाको घाँटीमा शाल बेरिएको कुरा लेखिएको छ । अरु सबै विवरण कम्युटर प्रिन्ट गरिएको छ भने घाँटीमा शाल बेरिएको विवरण मात्रै पछि रिपोर्ट परिवारलाई दिने बेला थप गर्न हातले लेखिएको छ । त्यस भन्दा अघिका कुनै पनि अल्ट्रासाउण्ड रिपोर्टमा बच्चाको घाँटीमा शाल बेरिएको उल्लेख गरिएको थिएन, न चिकित्सकले नै भनेका थिए । जबकी यस्तो समस्या पहिला नै पहिचान भैसक्ने चिकित्सकहरु बताउँछन् । त्यस दिन अल्ट्रासाउण्ड गर्दा पनि चिकित्सक बिरा शाक्यले पानी मात्रै हल्का कम देखिएको, अरु सबै ठिकठाक रहेको भनेको सुवास बताउँछन् ।
साथै शल्यक्रिया लगत्तै गरिएको परीक्षणमा पनि मनिताको मुटुमा जटिल समस्या सिर्जना भैसकेको देखिएको थियो । शल्यक्रियापछि लिइएको सिपिके एमबी परीक्षणमा २५ भन्दा कम हुनुपर्ने भएपनि १७७ पुगेको रहेछ जसले हर्ट एट्याक भएको अवस्था देखाउँछ । यस विषयमा परिवारलाई कुनै जानकारी नगराइएको सुवासको भनाई छ ।
शल्यक्रियापछि पिसाबमा रगतको मात्रा निकै धेरै देखिएको अवस्थामा पनि स्वास्थ्यकर्मीले उनको ख्याल नगरेको सुवास बताउँछन् । ‘शल्यक्रिया गरेर आईसीयूूमा लगेपछि मनितालाई कसैलाई भेट्न दिइएको थिएन । त्यसबेला उनको रिपोर्ट खराब आएको रहेछ’ सुवासले भने ।
सिधाकुुरालाई प्राप्त रिपोर्टअनुसार भोलिपल्ट २६ गते बिहान ९ बजेको रिपोर्टमा डब्लुबिसी ४३ हजार २ सय पुगेको देखिन्छ । सामान्य अवस्थामा यस्तो ४ हजार देखि ११ हजारको रेन्जमा हुनुपर्ने चिकित्सकहरु बताउँछन् । यस्तै, प्लेटलेट्स १ लाख ५० हजार देखि ४ लाख ५० हजार सम्म हुनुुपर्ने भएपनि मनिताको ५५ हजार मात्रै रहेको रिपोर्ट अध्यायन गरेको एक चिकित्सक बताउँछन् । सुवासको परिवारले अहिले गरेको चिकित्सकसँगको परामर्शअनुसार मनिताको त्यो अवस्थाबारे एभरेस्ट अस्पताल र डाक्टरले परिवारलाई जानकारी पनि गराएनन् र उपचार पनि गरेनन् ।
सुुवासले बताएअनुसार सो दिन दिउँसो १२ बजे आएको रिपोर्टमा मनिताको एलके फसफेट्स ८० देखि ३०६ सम्म हुनुपर्नेमा ४६० पुगेको थियो भने प्रोटिन लेवल घटेर ४.२ मा आएको थियो । जब कि हुनुपर्ने थियो ६ देखि ८ सम्म । यस्तै किड्नीमा प्रत्यक्ष असर गर्ने अल्बुमिनको मात्र १.६ थियो जब कि हुनुपर्ने ३.५ देखि ५ सम्म थियो । तर शल्यक्रिया हुँदाको दिनमा अल्बुमिनको मात्र ३.५ नै थियो ।
सुवासलाई मनिताका लागि रगत प्रयोग भएको भन्ने कुरामा नै शंका छ । किनकी सुवासले २ पिन रगत ल्याएर आउने बेलामा मनितालाई सिपिआर दिइएको थियो । त्यसपछि उनको शरीरमा रगत दिएको सुवासले कतिबेलै पनि देखेनन् । त्यसको केहि बेरमा रिफर गरिएको थियो ।
ह्याम्समा रिफर गरिएको केही दिनपछि अस्पतालको रगत बैंकबाट रगत प्रयोग नभएको भन्दै, त्यसका लागि तिरेको पैसा फिर्ता लिन बोलाएका थिए । उनले रगतका लागि तिरेको सबै पैसा फिर्ता पनि पाएका छन् ।
तर, एभरेस्ट अस्पतालले दिएको कन्टिन्युएसन सिटमा भने मनितालाई २ पिन रगत दिइएको उल्लेख गरिएको छ । अब प्रश्न मनितालाई रगत कति बेला चढाइयो, यदि चढाइयो भने कुन रगत चढाइयो ? किनकी सुवासले लगेको रगत त प्रयोग नै नभएको भन्दै अस्पतालकै ब्लड बैंकले पैसा फिर्ता गरेको छ ।
लापरवाहीको हद देखाउने अर्को रिपोर्ट पनि हेर्नुहोस् ।
कन्टिन्युएसन सिटमा मनितालाई असोज २८ गते १ः३५ मा सिपिआर दिइएको उल्लेख गरिएको छ । त्यसमा पनि महिना केरमेट गरिएको छ । जब कि मनिता २५ गते एभरेस्ट अस्पताल भर्ना भएर २६ गते ह्याम्समा रेफर भैसकेकी थिइन्, २६ गते साँझ नै उनी ह्याम्स भर्ना भैसकेकी थिइन् । तर एभरेस्टले कन्टिन्युएसन सिटमा कसरी २८ गते सिपिआर दिएको उल्लेख गर्यो गम्भिर प्रश्न खडा भएको छ ।
यस्तै, कन्टिन्युएसन सिटमा साँझ ७ बजे मनितालाई म्याग्नेसियम सल्फेट दिएको उल्लेख गरिएको छ । जब कि यो म्याग्नेसियम शल्यक्रिया पहिलै नै दिनुपर्ने चिकित्सकहरु बताउँछन् । उनलाई सिजर आइसकेपछि मात्रै दिइएकोले यो शंकास्पद देखियो चिकित्सकहरु बताउँछन् ।
कन्टिन्युएसन सिट हेर्दा नै यो पछि तयार गरेको देखिन्छ । जब कि जति बेला औषधि उपचार गरिन्छ, सोही बेला लेखिहाल्नुपर्ने कन्टिन्युएसन सिटमा भोलिपल्ट कुन औषधि दिएको छ भन्ने कुरा अघिल्लो दिननै लेखिएको छ । अर्थात एभरेस्ट अस्पतालको रिपोर्टमा २६ गतेपछि मात्रै २५ गते औषधि दिएका विवरण उल्लेख गरिएको छ । र यो रिपोर्ट कसले कसरी तयार पारियो कतै लेखिएको छैन ।
एभरेस्ट अस्पतालले ह्याम्स अस्पताललाई दिएका रिपोर्टहरु हेर्दा लापरवाही गरेको देखेपछि सुवासले एभरेस्ट अस्पताललाई मनिताको उपचारमा प्रयोग भएका औषधि, तथा उपचारका क्रममा भएको प्रक्रिया, सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीका विषयमा जानकारी माग गर्दै पत्र लेखेका थिए । तर, अस्पताले एउटा सामान्य पत्र दिएर टारेको छ । जहाँ मनिताका रक्तचाप १८० माथि र तल १३० भएको मात्रै उल्लेख गरिएको छ, जसमा कुन मितिको हो भन्ने समेत उल्लेख गरिएको छैन ।
मंसिर १६ गते जाँदा नै उनको रक्तचाप १३० माथि र तल १०० पुगेको थियो, मंसिर ९ गते नै मनिताको रक्तचाप १४० माथि र तल १०० थियो । चिकित्सकहरुका अनुसार रक्तचाप यो तहमा पार गर्दा अस्पतालमा भर्ना गरेरै उपचार गर्नुपर्ने थियो । तर मनिताको हकमा यस्तो नभएको मेडिकल रिपोर्टहरुमा देखिन्छ ।
२०८० असार २९ गते डा ज्योत्सनासँग उपचार गराउन सिनामंगलको केएमसी अस्पताल पुगेका उनीहरुलाई केएमसीमा अल्ट्रासाउण्ड गराएपछि ज्योत्सनाले सोही दिन दिउँसो एभरेस्ट अस्पताल बोलाएकी थिइन् । एकै दिन दुई अस्पतालका कागजमा डा. शर्माको हस्ताक्षर देखिएको छ ।
अनुसन्धानमा ढिलासुस्ती
मृतक मनिता शर्माका श्रीमान सुवास पराजुलीले अस्पताल र चिकित्सकको लापरवाहीले श्रीमतीको मृत्यु भएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको डेढ महिना बढी भएको छ । मेडिकल काउन्सिलले एभरेस्ट अस्पताल र चिकित्सकलाई स्पष्टिकरण सोधेपनि थप प्रक्रियामा ढिलाई गरेको छ ।
काउन्सिलका रजिष्ट्रार डाक्टर सतिदेश देवले काउन्सिलको अध्ययन टोलीले एभरेस्ट अस्पतालले बुझाएको विवरण अध्ययन गरिरहेको जनाए ।
चिकित्सक र अस्पतालमाथि छानबिन नगर्न स्वास्थ्य मन्त्रालयको दबाब
मृतक मनिताका श्रीमान सुवास पराजुलीले स्वास्थ्य मन्त्रालयमा घटनाको छानबिनका लागि निवेदन दिएको पनि एक महिना बढी भएको छ । तर, स्वास्थ्य मन्त्रालयका सूचना अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले यस विषयमा अध्यय नै गरेको छैन ।
मन्त्रालय स्रोतका अनुसार एभरेस्ट अस्पतालमा स्वास्थ्य मन्त्रालयका निवर्तमान स्वास्थ्य सचिव डा. रोसन पोखरेलकै आवद्धता रहेका कारण स्वास्थ्य मन्त्रालयले घटनालाई ढाकछोप गर्न लागेको छ ।
स्रोतका अनुसार यस विषयमा स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई समेत जानकारी छ । तर उनले समेत यस विषयमा मौनता साँधेका छन् ।
स्वास्थ्य मन्त्रालयबाट केही दिनअघि मात्रै अवकास पाएका स्वास्थ्य सचिव पोखरेल एभरेस्ट अस्पतालको कोर टिममा छन् । अस्पतालको वेबसाइटमा उल्लेख भएअनुसार उनी अस्पतालको एनेस्थेसियोलोजीका प्रमुख हुन् ।
गैरजिम्मेवार अस्पताल
मनिताको मृत्युपछि उपचार प्रक्रियामा भएको हेलचेक्रयाँइको विषयमा कुराकानी गर्न सुवासले एभरेस्ट अस्पतालका निर्देशक दीपक बराललाई भेट्न बारम्बार प्रयास गरेका थिए । बरालले अस्पतालमा सुवासलाई बोलाएर पनि व्यस्त रहेको भन्दै फर्काउने गरेका छन् ।
उसो त, एभरेस्ट अस्पतालबाट ह्याम्समा रिफर गर्दा अस्पतालमा डा.ज्योत्सना शर्माका श्रीमान डा.सन्जिव तिवारी पनि अस्पतालमा पुगेका थिए । उनी नेपाल मेडिकल एशोसियसनका महासचिव समेत रहेका छन् ।
एभरेस्ट अस्पतालसँग असम्बन्धित उनले सुवासलाई केही पर्यो भने सम्पर्क गर्नु समेत भनेका थिए । तर अहिले उनकै दबाबमा मेडिकल काउन्सिलले समेत स्वतन्त्र अनुसन्धान गर्न नसकेको मेडिकल काउन्सिल स्रोतको दाबी छ । आफूूलाई समेत विभिन्न निकायबाट दबाब दिन खोजिएको सुवास बताउँछन् ।
केएमसी पनि मौन
सिनामंगलमा रहेको केएमसी अस्पतालमा डा. ज्योत्सना शर्मा पूर्णकालीन चिकित्सक हुन् । केएमसीको गेटभित्र छिरिसकेकी मनितालाई शर्माले नै एभरेस्ट अस्पताल बोलाएकी थिइन् । आफ्नो अस्पताल आइसकेको बिरामीलाई अन्य अस्पताल बोलाउने चिकित्सकका विषयमा केएमसीले पहिले कारबाही गर्ने जनाए पनि अहिले पछि हटेको छ ।
स्वास्थ्य मन्त्रालय तथा मेडिकल काउन्सिलले बेवास्ता गरेपछि सुवासले अदालति प्रक्रियामा जाने बाटो खोजेका छन् । उनीले जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका छन् । साथै सुवासले मानव अधिकार आयोगमा समेत उजुरी दिएका थिए ।
मानव अधिकार आयोगले नेपाल मेडिकल काउन्सिललाई घटनामा भएको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गरेको छ । आयोगका अनुसार काउन्सिलले अहिलेसम्म कुनै जवाफ पठाएको छैन ।
आँखैअघि श्रीमतीको उपचारमा लापरवाही भएका प्रमाण भेटिदाँ पनि स्वास्थ्य मन्त्रालय तथा नियमन गर्ने निकाय नै प्रभावित भएको देखेपछि सुवासलाई न्याय पाउनेमा शंका लागेको छ । काउन्सिलले प्रतिवदेन दिनै ढिलाई गर्दा थप लडाइँमा समस्या भएको उनी बताउँछन् ।
न्यायको खोजिमा भौँतारिहरका सुवास अहिले विछिप्त छन् । छोरीको अनुहारमा मनिता झल्किन्छन्, उनी भन्छन् भोलि छोरीले आमा खोज्ने बेलामा पनि आमाको न्याय खोज्नुपर्ने अवस्था नआओस् भनेर उनी भौतारिइरहेका छन् ।
सम्बन्धित समाचार :
काखमा छोरी, साथमा छैनन् मनिताः न्याय माग्दै भौतारिइरहेछन् सुवास