नेभिगेशन
सबै कुरा

ट्रम्प र जेलेन्स्कीबीच तनावपूर्ण भेटवार्ता, सम्झौता गर्न पुगेका जेलेन्स्कीलाई जब ह्वाइट हाउसबाट बाहिर निस्कने बाटो देखाइयो

शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच तनावपूर्ण भेटवार्ता भयो । 

प्रत्यक्ष प्रसारण गरिएको भेटवार्तामा ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी गर्दै जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप लगाएका थिए । जवाफमा जेलेन्स्कीले भने, ‘हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौँ।’

साथै ट्रम्पले जेलेन्स्की शान्ति नचाहने आरोप लगाउँदै उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने चेतावनी दिएका थिए । युक्रेनले अमेरिकालाई बहुमूल्य खनिज दिने सम्झौतामा हस्ताक्षर गर्न भनेर युक्रेनी राष्ट्रपति जेलेन्स्की शुक्रबार ट्रम्प भेट्न अमेरिका पुगेका थिए । तर वार्ता सकरात्मक नभएपछि उक्त सम्झौता असफल भएको छ।

बैठकपछि अपमानपूर्वक जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर निस्कने बाटो देखाइएको थियो ।डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीच तनावपूर्ण भेटवार्ता चलिरहँदा अमेरिकाका लागि युक्रेनकी राजदूत ओक्साना मार्कारोभाले अत्यन्तै तनावग्रस्त देखिएकी थिइन् । 


उनले आफ्नो निधार र अनुहारमा हात राखिरहेकी थिइन् । बैठकपछि ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै जेलेन्स्कीविरुद्ध विभिन्न आरोप लगाएका छन्। ट्रम्पले भनेका छन्, ‘बैठकमा धेरै कुराहरू आए। तर राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ। मलाई कुनै फाइदा चाहिँदैन, म केवल शान्ति चाहन्छु।’

ट्रम्पले जेलेन्स्कीले अमेरिकाको अपमान गरेको आरोप पनि लगाएका छन्।उनले अगाडि भनेका छन्, ‘यदि उनी शान्ति चाहन्छन् भने फेरि फर्केर यहाँ आउन सक्छन्।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation