नेभिगेशन
सबै कुरा

सुरजको परिवार रुवाइरहेको एपेक्स कन्स्ट्रक्सन !

काठमाडौँ । काम गर्ने कम्पनी बेइमान भयो भने एउटा गरिखाने श्रमिकको जीवन कुन हालतसम्म बिग्रन्छ भन्ने पर्याय बनेकोे एउटा घटना आज हामी सार्वजनिक गर्दैछौँ । 


नाम चलेको ‘क’ वर्गको ठेकदार कम्पनी दाबी गर्ने एपेक्स कन्स्ट्रक्सनले काममा लगाउँदा दुर्घटनामा परेका पाँचथरका सुरज राईको परिवार यतिबेला हरेक दिन रुनु परेको छ ।

कम्पनीको कामका क्रममा फिल्डमा सडक दुर्घटनामा परेका सुरज स्पाइनल कर्ड इन्जुरीका कारण आधा शरिर नचल्ने अवस्थामा पुगेका छन् । दुर्घटनापछिको छोटो समय सुरजलाई कम्पनीले सहयोग पनि ग¥यो ।

तर, जब उनलाई कम्पनीको सहयोग खास चाहिने बेला भयो ठेकेदार कम्पनी सम्पर्कबाट भाग्यो । आफैँले काम गरेको कम्पनी उपचारको दायित्व र जिम्मेवारीबाट भागेपछि सुरज केही समय अस्पतालको बिल तिर्न नसकेर बन्धक पनि भए । 

के हो घटना ?

बि.स. २०८१ बैशाख ३१ गते साँझ इलामको माई नगरपालिका १० लुम्बुकमा बालुवा बोक्ने टिपर दुर्घटना भयो । 

बा २ क ५६५८ नम्बरको उक्त टिपरमा बालुवा लोड गर्न गएका चार जना श्रमिकहरु घाइते भए । घाइते मध्येका एक थिए, मिक्लाजुङ गाउँपालिका ४ पाँचथरका सुरज राई । टिपर थियो, एपेक्स कन्स्ट्रक्सन प्रालिको । 

इलामको भालुकोप–खुदुनाबारी सडकको स्तारोन्नतिको जिम्मा एपेक्स कन्स्ट्रक्सनले पाएको थियो । सो ठेक्काको पेटी ठेकेदार थिए, पाँचथरका रत्न राई । उनैले सुरजलाई काम गर्न इलाम ल्याएका थिए ।  

रत्नकै निर्देशनबमोजिम सुरज र अन्य तीन जना निर्माणाधिन सडकका लागि बालुुवा लिनका लागि क्रसरमा गएका थिए । तर उनीहरु फर्कने क्रममा सो टिप्पर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेकालाई उपचारका लागि कम्पनीले नै रातारात झापाको बिर्तासिटि अस्पतालमा पुर्यायो । 


सुरज घाइते भएको परिवारले रातको करिब १० बजेमात्रै थाहा पाए । थाहा पाउनासाथ दमकमै बस्ने उनकी दिदी हत्तारमा अस्पताल पुगिन् । ‘अस्पताल पुग्दा सुरजको अवस्था अचेत थियो । अस्पतालले सुरजको ढाड भाँचिएको हुन सक्ने आँकलन गर्यो । उनको भिडियो एक्सरेको रिपोर्ट भोलि बिहान मात्रै आउने बताएपछि हामीहरु घर फर्कियौँ,’ दिदी अस्मीता राईले सिधाकुरासँग भनिन् । उनकाअनुसार सुरजलाई आइसियूमै राखियो ।

सुरजकी दिदी भोलिपल्ट बिहानै अस्पताल पुगिन् । अस्पताल पुगेर आईसीयूमा भाई भेट्न गएकी उनले सुरजलाई बोलाउने कोसिस गरिन् । तर उनी बोल्न सक्ने अवस्थामा थिएनन् । 

त्यसको केही समयमै सुरजको ढाड भाँचिएको अस्पतालको रिपोर्टले देखायो । त्यसपछि उनको त्यहीँ शल्यक्रिया भयो र २ महिनासम्म अस्पतालमै राखेर उपचार समेत भयो । 

२ महिनासम्म उपचार गर्दा सुरजका अन्य साथीको भने स्वास्थ्यमा सुधार आयो तर सुरजको मेरुदण्डमा समेत असर परेको हुनाले उनलाई थप उपचारका लागि काठमाडौँ रेफर गरियो ।

कम्पनीले सुरजलाई अस्पतालकै अनुरोध बमोजिम बनेपामा रहेको स्पाइनल इन्ज्युरी अस्पतालमा भर्ना गरायो । सुरजलाई अस्पताल भर्ना गर्दासम्म कम्पनीले खर्च व्योहोरिरहेका थियो । तर, त्यसपछि भने उ सम्पर्कबाट टाढियो । 

बनेपाको सो अस्पतालमा सुरजको ३ महिनासम्म उपचार भयो । ३ महिनापछि अस्पतालले सुरजको कम्मरभन्दा तल नचल्ने निष्कर्ष निकाल्दै अस्पतालबाट घर लाने बतायो । त्यसपछि परिवारले सुरजलाई घर लान भन्दै निर्माण कम्पनीलाई सम्पर्क गर्यो । तर, कम्पनीले सुरजसँग कतै पनि मुद्दा मामिला नगर्ने सहमति गरे मात्रै अस्पतालबाट निकाल्न सहयोग गर्ने शर्त राख्यो । 

सुरजका परिवारले कम्पनीसँग सहमति गर्न आधार खोजे । तर, कम्पनीले सुरुवातमा आफूहरुले उपचार गरिदिएको तर अब केही गर्न नसक्ने आशय व्यक्त ग¥यो । 

सो विषयमा परिवार सहमत भएनन् । उनीहरुले कम्पनीसँग सुरजको जीवन चलाउन केही आधार बनाइदिन आग्रह गरे । 

परिवारको सो माग कम्पनीले असम्भव भएको बताएको सुरजी दिदीे अस्मिता बताउँछिन् । त्यसपछि कम्पनीका पेटी ठेकेदारदेखि ठेकेदार कम्पनी र कम्पनीका प्रतिनिधि सम्पर्कमै नभएको सुरजी श्रीमती बिनु राई बताउँछिन । कम्पनीले बेवास्ता गरेपछि उनीहरुका दुखदायी दिन सुरु भए । 


कम्पनीमा काम गर्ने क्रममा सुरज घाइते भएका कारण कम्पनीले क्षतिपूर्ति व्योहोर्नुपर्ने पीडित परिवारको माग छ । 

ज्याला मजदुरी गरेर श्रीमती र सानी छोरी पाल्दै आएका सुरज जीवनभरका लागि अपाङ्ग बनेका छन् । परिवारको जीउने आधार भत्किएको छ । परिवार पाल्नकै लागि कम्पनीमा काम गर्ने सुरज त्यो अवस्थामा पुगेपछि परिवार विक्षिप्त छ । 

क्षतिपूर्तिको सुनिश्चितता गरिदिएर सुरजलाई अस्पतालबाट निकालिदिन परिवारले कम्पनीलाई पटकपटक आग्रह गरेको छ । तर कम्पनीले आफूहरुले इन्स्योरेन्स क्लेम गर्ने, इन्स्योरेन्सले जति दिन्छ त्यति दिने, जहिले दिन्छ त्यहि बेला दिने बताउँदै आएको सुरजकी दिदी बताउँछिन् । 

अस्पतालको बेडमा कम्पनीको सहायता कुरेर बसिरहेका २७ वर्षीय सुरज पनि कम्पनीका म्यानेजर पछिल्लो समय सम्पर्कविहिन भएको दुखेसो पोख्छन् । 

अहिले त कम्पनीले आफूहरु ठूलो कम्पनी भएको र कानुनी उपचार खोजे पनि आफूहरुलाई केही फरक नपर्ने चेतावनी दिँदै आएको पीडित परिवारको आरोप छ । 


सुरजलाई काम गर्न पाँचथरबाट इलाम ल्याएका कम्पनीका पेटी ठेकेदार रत्न राईले आफू सो कम्पनीको जिम्मेवार नरहेको बताए । उनले इन्स्योरेन्स अनुसारको क्षतिपूर्ति व्योहोर्न कम्पनीसँग आफूले पहल गर्ने आश्वासन दिए । 

कम्पनीको यो हदको लापरवाही र बेवास्ताको सिकार भएका सुरज केही दिन अघि अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालले घर लैजानु भनेको ८ महिनापछि उनी आफन्तसँग ऋण गरेर अस्पतालबाट छुटेका छन् । तर, घर परिवार कम्पनीको लापरबाहीबाट दुःखी छन् । 

यस विषयका कम्पनीका प्रोजेक्ट म्यानेजर विजय राई आफूहरुलाई पछिल्लो समय आर्थिक अभाव भएका कारण सहयोग गर्न नसकेको बताउँछन् । त्यस्तै उनी आफूहरुले सुरजको बेवास्ता नगरेको र सल्लाहपश्चात उनलाई सहयोग गर्ने बताउँछन् । 

यति लामो समय अस्पतालको बसाई र कम्पनीको व्यवहारबाट सुरज मानसिक रुपमा समेत विक्षिप्त भएका छन् । उनले कतिपटक त अस्तालमै आत्महत्याको प्रयास समेत गरेका छन् । 

कम्पनीले सहयोग नगरेपछि महिनाैँ लामो अस्पतालबाट बल्लतल्ल छुटेका छन्, सुरज । केही कमाउने र परिवारलाई खुसी दिने सपना बोकेर काम गर्न पुगेका उनी बिरामी शरिर र ऋणको भारी बोकेर घर फर्किएका छन् । 

आफ्नो कम्पनीमा काम गर्ने कर्मचारी दुर्घटनामा पर्दा कम्पनीले गरेको यो व्यवहारप्रति उनीहरु कानुनी उपचारमा जाने तयारीमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation