नेभिगेशन
सबै कुरा

विजय कृष्णमूर्ति महाराजकाे ठगी धन्दा

काठमाडाैँ । कहीँ कतै तपाईँहरूले यसरी ठुटै पारेर काटेका रुखको फोटो देख्नुभएकै होला ।

यसरी ठुटै पारेर काटिएका रूखहरू पोखराका सयौँ वर्ष पुराना ऐतिहासिक चौतारीहरू हुन् । पोखरा महानगरपालिका–१४ मा  पर्ने भोटे चौतारो माघ ६ गते मठारिएको थियो । कसले किन कसरी के का लागि चौतारो काट्यो स्थानीयले केही मेसो पाउन सकेका थिएनन् । 


पोखरा महानगरपालिका वडा नम्बर १४ मा यसैगरी ६ ओटा चौतारो काटिएको छ । यसैगरी चाँप, शमीका रूखहरू पनि काटिएका छन् । पोखरा १४ मा मात्र होइन अन्य वडामा पनि यसैगरी चौतारो तथा रूख काटिएको छ । पोखरा महानगर १४ का वडाध्यक्ष बोधबहादुर कार्कीका अनुसार पोखराका तीन वटा वडामा २५ भन्दा बढी बर, पीपल, चाँप तथा शमीका रूखहरू काटिएको छ । 

स्थानीयले सो विषयमा वडाध्यक्षदेखि पोखराका मेयरसम्मलाई मनलाग्दी चौतारो फडानी भइरहेको जानकारी गराएका थिए । तर सुरुवातमा कसैले पनि वास्ता नगरेको स्थानीयहरु बताउँछन् । ठुटै पारेर मठारिएको चौताराका फोटोसहितको समाचारहरू आउन थालेपछी बल्ल स्थानीय सरकारले चासो देखाए ।

कसले किन काट्यो रूख ? 

विवाद चुलिँदै गएपछि खुल्न आयो चौतारो मठार्ने काम मानव सेवा फाउन्डेसनले गरेको रहेछ । यो फाउन्डेसन विजय कृष्णमूर्ति भनिने विजय भण्डारीको समूहको हो । अर्थात यो चौतारो फाँड्ने तिनै हुन् जसले पशुपतिनाथ मन्दिरमा १ महिना लामो कोटीहोम लगाएको थियो । त्यही समूहले २०८२ बैशाख १७ गतेदेखि पोखरामा ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ आयोजना गर्न लागेको छ । सोही महायज्ञमा हुने हवन कार्यका लागि चौतारा र सदियौँ पुराना रूखहरू मठारिएको हो ।  

तर पुण्य कार्यको सुरुवात नै पापबाट गरेको भन्दै विजय कृष्णमूर्ति समूहको चर्को आलोचना भइरहेको छ । हिन्दु धर्ममा चौतारोका बर पीपल, शमीको निकै ठूलो महत्व छ । पुजा आजा गरी ढोग गरिने वृक्षलाई काट्नै नहुने र काट्नै पर्यो भनेपनि धार्मिक विधि अनुसार पूजापाठ गरी क्षमायाचना गरेर मात्र काट्नुपर्ने जानकारहरू बताउँछन् । तर कृष्णमूर्ति समूहले यस्ता कुनै विधि प्रक्रिया पुरा नगरेको स्थानीय बताउँछन् । 

त्यतिमात्र होइन रुपमा पनि धार्मिक तथा ऐतिहासिक चौताराहरुलाई कानुनले संरक्षण गरेको छ । यस्ता चौताराहरु काट्नुपरेमा सम्बन्धित निकायको अनुमति लिएर मात्र काट्न पाइन्छ । गण्डकी प्रदेशले जारी गरेको वर, पीपल शमी र चौतारो संरक्षण ऐन २०७५ ले वर, पीपल शमी र चौतारो स्थानीय सरकारको सम्पत्ति हुने उल्लेख छ । उक्त ऐनमा वर, पीपल शमी र चौतारो काट्नुपर्ने भएका स्थानीय तहको प्रमुख, डिभिजनल वन अधिकृत, वडाध्यक्ष, स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत वा तोकिएका प्रतिनिधिहरुले अध्ययन गरी उनीहरुले सिफरिस गरेपछि मात्र काट्न पाइन्छ । तर यहाँ कुनै प्रक्रिया पुरा गरिएको छैन । पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोधबहादुर कार्की आफूहरुले चौतारो काट्नको लागि कुनै अनुमति नदिएको बताए । "हामीले रुख तथा चाैताराे काट्नकाे लागि कुनै अनुमति दिएका छैनाैँ ।" उनले भने, "चौतारो काटेर विवाद सुरु भएपछि बरु केही मानिसहरु सिफारिस माग्न आएका थिए ।" 

यता मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिले पनि आफूहरुले चौतारो काटेको स्वीकार गरेका छन् । उनले आफूहरुलाई दाउरा चाहिएको र स्थानीयले काटेर लैजान अनुरोध गरेपछि काटिएको उनको भनाई छ । 

महानगरकाे श‌ंकास्पद भूमिका

अहिले पोखरा महानगरले अनुमतिबिना रूख तथा चौतारो काटिएको विषयमा अनुसन्धान गर्न डिभिजन वन कार्यालयलाई सिफारिस गरेको छ भने काठ दाउरा महानगरले जफत गरेको छ । त्यतिमात्र हाेइन मानव सेवा फाउन्डेसनलाई कोटिहोम लगाउन दिने पक्षमा महानगर छैन । तर मानव सेवा फाउन्डेसनले भने पोखरा महानगरपालिका वडा नम्बर ६ मा पर्ने फेवातालको छेउमा रहेको नेपाल ट्रस्टको जग्गा भाडामा लिएर काम थालिसकेको छ । फाउन्डेसनले अस्थायी कार्यालय नै राखेर तयारी गरिरहेको छ । त्यस्तै पोखरा महानगरसँग कुनै अनुमति नलिएका कारण उक्त स्थानमा कोठिहोम गर्न नदिने पोखरा महानगरको अडान छ । यद्यपी वडा नम्बर ६ का वडाध्यक्षले भने कोटिहोमको लागि अनुमति दिईसकेको छ । तर पोखराका मेयर धनराज आचार्य भने महानगरसँग अनुमति नलिएको, यति लामो समय फेवातालको छेउमा कोटिहोम गर्नु पर्यटकीय दृष्टीले पनि सही नभएको बताउँदै आएका छन् । उनले आफू महायज्ञ र कोटीहोमको विपक्षमा नरहेको तर अहिले भनिएको ठाउँमा कोटिहोम गर्न संभव नभएको उनको भनाई छ । महानगरका सार्वजनिक स्थलमा यति ठूलो कार्यका लागि अनुमति दिने अधिकार वडालाई नभएको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिना बताउँछन् । 

अचम्मको कुरा के छ भने सुरुमा कोटिहोमको लागि भन्दै पोखरा महानगरले यसअघि काटेर रुखका काठ तथा दाउराहरु फाउन्डेसनलाई निशुल्क उपलब्ध गराएको थियो । त्यस्तै चौतारो काटेको विषयमा स्थानीयले पटक पटक जानकारी गराउँदा पनि महानगरले चासो दिएकै थिएन । र अहिले फेवाताल छेउमा कोटिहोम आयोजन हुन नदिने निर्णय कार्यपालिका बैठकले गरेको छ । 

यता मानव सेवा फाउन्डेसन भने तोकिएकै ठाउँ र समयका कोटिहोम गराएरै छाड्ने अडानमा छ । चौतारो काटिएको विषयमा विवाद चर्कदै गएपछि फाउन्डेसनले पत्रकार सम्मेलन आयोजन गरेको थियो । सो क्रममा फाउन्डेसका अध्यक्ष विजय कृष्णमूर्तिले भने, ‘धर्मको लागि अधर्म गर्न पनि पछि पर्दिन ।’

तर बिहिबार पोखरामा आयोजना हुने भनिएको गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु, नगराउनु भनी उच्च अदालत पोखराले पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरी १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

विजय भण्डारीकाे विवादास्पद पृष्ठभूमि

विष्णु प्रपन्नाचार्य महाराज, बाल योगेश्वर विजय कृष्णमूर्ति महाराज, विजय भण्डारी । यी तिनै व्यक्ति एउटै हुन् । धेरैले उनलाई विजय कृष्णमूर्तिको नामले चिन्ने गर्दछन् । उनी नेपालको अदालतबाट प्रमाणित भईसकेका नामुद ठग हुन् । उनीविरुद्ध २०७१ सालमा जिल्ला अदालत काठमाडौँ ठगीको मुद्दा परेको थियो । उनले अमेरिकामा धार्मिका कार्यक्रम आयोजना गरेको र सो कार्याक्रममा लैजाने भन्दै ३३ जनाबाट १ करोड २७ लाख ६० हजार रुपैयाँ उठाएका थिए । उनले आफूले उक्त रकम लिएको स्वीकार समेत गरेका छन् । जिल्ला अदालत काठमाडौँले गरेको फैसलाको ठहर खण्डमा लेखिएको छ, ‘प्रतिवादी विजय भण्डारीले जाहेरवालाबाट रकम लिएको भन्ने मिसिल संलग्न रिसप्टहरु तथा निजको बयानबाट पनि पुष्टि भएको छ ।’

भण्डारीले उक्त रकम अमेरिका पठाउन नभई धार्मिक कार्यको लागि दान वापत लिएको दावी गरेको थिए । तर फैसलाको ठहरखण्डमा श्री विष्णु प्रपन्नाचार्यजी महाराजका नामबाट श्री मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको लेटर प्याडमा अमेरिकामा २९ महिनाको धार्मिक अनुष्ठानमा जान पाइने जानकारी भनि गरिएको समेत गरेको देखिएको उल्लेख छ । 

फैसलामा भनिएको छ, ‘प्रतिवादी विजय भण्डारीले जाहेरीवालालाई अमेरिका पठाईदिन्छु भनी झुक्याइ गफलतमा पारी लिई ठगी गरेको भन्ने जाहेरिवालको जाहेरी, निजहरुले गरेको बकपत्र, रिसिप्ट पेपर समेतबाट पुष्टि हुन आएकोले निज प्रतिवादी विजय भण्डारीलाई मुलुकी ऐन ठगीको महलको १, ४ नम्बर बमोजिमको कसुरमा ऐ. ४ नं. बमोजिम २ वर्ष ६ महिना कैद र बिगो ८१ लाख ८५ हजार रुपैयाँ जरिवाना हुने ।’ 

यो मुद्दाको फैसला २०७३ साल मंसिर ६ गते फैसला भएको थियो । भण्डारीले २०७१ भदौ ७ गतेदेखि फैसला भएको मितिसम्ममा २ वर्ष २ महिना २९ दिन थुनामा बसिसकेका थिए । बाँकीको ३ महिना १ दिन सजाय भोगेर भण्डारी जेलमुक्त भएका थिए । 

उनी जिल्लाको फैसलाविरुद्ध पुनरावेदनको निवेदन लिएर उच्च अदालत पनि पुगेका थिए । तर उच्चले जिल्ला अदालत काठमाडौँका न्यायाधीश हरिप्रताप केसीले गरेको  फैसलाकै सदर गरिदियो । 

त्यसपछि उनी सर्वोच्च पनि पुगे । तर सर्वोच्चबाट पनि आफ्नो विपक्षमा फैसला आउने बुझेपछि उनले आफूले ठगेको व्यक्तिहरुलाई रकम फिर्ता गरेर २०८१ कात्तिकमा मिलापत्र गरेका छन् । 

उनीविरुद्ध बैदेशिक रोजगारीको कसुर गरेको पनि आरोप छ । २०७५ जेठ २७ गते बैदेशिक रोजगार न्यायाधीकरणले उनलाई डेढ वर्ष कैदको फैसला सुनाएको थियो । 

पशुपति कोटीहोममा घाटा भएको दावी

विजय भण्डारीले २०८१ साउन १ गतेदेखि पशुपति क्षेत्रमा कोटीहोम आयोजना गरेका थिए । शास्त्रीय मान्यताअनुसार कोटीहोम लगाउने समय नभएको भन्दै सुरुवातमै विरोध भएको थियो । तैपनि कोटीहोम चल्यो । लाखौँ श्रद्धालु भक्तजनहरु कोटीहाेममा पुगे । खुलेर दान पनि गरे । २०८१ भदौ २७ गते पत्रकार सम्मेलन गर्दै विजय भण्डारीले खर्च विवरण सार्वजनिक गरे । सो क्रममा उनले कोटीहोम गर्दा ७२ लाख ५० हजार रुपैयाँ घाटा लागेको बताए । उनका अनुसार कोटीहोममा २० करोड १५ लाख ८२ हजार बराबरको नगद र जिन्सी संकलन भएको थियो । तर कोटीहोममा २० करोड ८८ लाख ३२ हजार खर्च भएको बताए । उनका अनुसार २ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ । मानव सेवाको लागि गरिएको कोटीहोममा लाखौँ घाटा लागेको खर्चविवरण सुनेपछि दानकर्ताहरु खुसी छैनन् । धेरैले यहीँबाट उठेको रकमबाट सर्वोच्चमा रहेको मुद्दामा मिलापत्र गरिएको हुनसक्ने आशंका गरेका छन् । 

उनले धर्मलाई धन्दा बनाउन थालेको २०६८ सालदेखि हो । त्यतिबेला उनले कलंकीमा महायज्ञ लगाएका थिए । त्यसपछि उनले बिभिन्न ठाउँमा पटक पटक महायज्ञ लगाउँदै आएका छन् । उनले सामाजिक कार्यमा रकम खर्च भन्दै धार्मिक कार्यक्रम आयोजनाा गर्ने गर्छन् तर रकम कति उठ्यो कहाँ खर्च भयो भन्ने हिसाव पारदर्शी गरेका छैनन् । 

उनको वस्तविक नाम विजय भण्डारी हो । उनको घर गुल्मीको धुर्कोट हो । उनले ८ कक्षा पढेर गाउँ छोडेका थिए । त्यसपछि उनले कहाँ गएर कति पढे कसैलाई थाहा छैन । उनले काठमाडौँ, बंगलादेश उच्च शिक्षा लिएको बताउने गरेका छन् । उनी ठग्नकै लागि आफ्नो नाम परिवर्तन गरिरहन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation