नेभिगेशन
सबै कुरा

स्वर्गद्वारी गुठीका मोही किसान पुनः आन्दोलित (तस्विरहरु)

काठमाडौँ । स्वर्गद्वारी गुठीका मोही किसान पुनः आन्दोलित भएका छन् । सरकारले आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरु गौशाला क्षेत्रबाट रातोपुल, सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर आइपुगेका हुन् । परम्परागत पोशाकमा सजिएका उनीहरुले ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढकिया लगायतका सामग्री बोकेका छन् ।

२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो । सो सहमति अनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया शुरू गर्ने उल्लेख गरिएको थियो ।

तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले काठमाडौँ केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका प्रवक्ता प्रविण थारुले मोही किसानहरुलाई मोही पूर्जा प्राप्त भएपनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको बताए । उनले सरकारले आफुहरुसँग यसअघि गरेको सहमति कार्यान्वयन हुनुपर्ने उल्लेख गरे । 


काठमाडौँको आन्दोलनमा पनि सुनुवाइ नभए दाङ फर्केर शान्तिपूर्णदेखि सशक्त र दाङ बन्दसम्मका कार्यक्रम गर्ने तयारी पनि भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले चेतावनी दिएको छ । स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाह १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिगाह जग्गामा मोही कायम छ । मोही कायम भएको जग्गाको स्वामित्व आफुहरुले पाउनुपर्ने मोही किसानको माग छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation