काठमाडौँ । काठमाडौँमा ‘होलोकास्ट स्मृति दिवस’ मनाइएको छ । नेपालस्थित अमेरिका, जर्मन र इजरायली राजदूतावासको संयुक्त आयोजनामा इजरायली राजदूतावासको निवासमा सोमबार आयोजित स्मृति दिवसमा सहभागी वक्ताहरूले विश्वले अब यस्तो अमानवीय क्रूरता भोग्न नपारोस् भनी कामना गरे ।
दोस्रो विश्व युद्धको अन्तिम चरणको उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र त्यसबाट पीडित परिवारका मानिसप्रति समवेदना प्रकट गर्दै वक्ताहरूले होलोकास्ट इतिहासको कालो घटना भएको स्मरण गरे ।
धार्मिक आस्था र जन्मको आधारमा जुइस समुदाय (यहूदी) माथि भएको उक्त क्रूर राजनीतिक नरसंहार विश्वमा पुनः कहिल्यै नदोहोरियोस् भन्दै वक्ताहरूले कामना पनि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन उक्त घटना इतिहासकै दुःखद घटना भएको बताए । उक्त घटनाको विपक्षमा र उक्त घटनाबाट पीडित बनेकाहरूको सहयोगका पक्षमा अमेरिका सधैँ साथै रहेको थम्पसनले बताए ।
‘त्यो कठिन समयलाई हामीले आज स्मरण गर्दछौँ । हामी अब यस्तो कहिल्यै नहोस् भन्ने चाहन्छौँ । त्यो साँच्चै दुःखद थियो,’ राजदूत थम्पसनले भने, ‘अब यस्तो दिन कहिल्यै नदोहोरियोस् । कहिल्यै ।’
इतिहासका कठिन समयहरुबाट सिक्दै विश्वले अब शान्तिका लागि काम गर्नु पर्ने उनले औँल्याए । इजरायलको अहिलेको उपलब्धिलाई हेरेर यहुदीहरूको क्षमतालाई विश्वले मानेको उनको भनाई थियो ।
यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले विश्वले यस्तो दिन पुनः दोहोर्याउनका लागि काम गर्नुपर्ने बताए । विश्वमा शान्ति र स्थायित्व फैलाउन र युवापुस्तालाई उक्त गलत इतिहासबारे सचेतनाका लागि आजको दिन स्मरणीय रहेको बताए ।
‘६० लाख जुइस प्रजातिका मानिसहरू (यहूदी) माथिको उक्त क्रूर नरसंहारको दिनको सम्झना उपस्थित हुनु भएका सबैलाई स्वागत छ,’ राजदूत श्मुलिक आरी बासले भने, ‘युवा पुस्तालाई त्यो गलत घटनाबारे जानकारी दिनु जरुरी छ ।’
संयुक्त राष्ट्र सङ्घले गरेको घोषणाअनुसार विश्वभर नै अहिले होलाेकास्ट दिन सम्झिने गरिएको उनले बताए ।
कार्यक्रममा बोल्दै सङ्घीय गणतन्त्र जर्मनीको नेपालस्थित मिसन उपप्रमुख बेञ्जामिन सिडेलले होलाेकास्ट नरसंहारको ८० औँ वर्ष बितेको बताए । उक्त घटना अत्यन्तै आतङ्ककारी गतिविधिको रुपमा स्मरणमा रहने बताए ।
उनले होलोकास्टमा ज्यान गुमाएका ६० लाख मानिस, महिला, बालबालिकाप्रति श्रद्धाञ्जली व्यक्त गरे ‘त्यो एउटा आतङ्ककारी गतिविधि थियो, जसले ६० लाख मानिसहरुको निर्मम रुपमा ज्यान लियो,’ रुसेकले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा.सुर्य प्रसाद शर्मा ढुंगेलले होलोकास्ट मानव जातिको इतिहासकै दुःखद घटना भएको बताए । उक्त घटनाको सम्झना मात्रैले पनि विचलित हुने अवस्था सृजना हुने उनको भनाई थियो । डा. ढुंगेलले अब विश्वले यस्तो कहिल्यै भोग्न नपरोस् भनि कामना गरे । ‘विश्वले अब यस्तो आतातायि समय कहिल्यै भोग्नु नपरोस्’ उनले थपे,‘म नेपालबाट सबैलाई आह्वान गर्छु । कसै मानवजाती माथि यस्तो नहोस् । ’
दोस्रो विश्वयुद्धका बेला भएको बीभत्स नरसंहार पुनः नदोहोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले पछिल्लो २० वर्ष देखि हरेक वर्ष २७ जनावरीका दिन विश्वभर होलोकास्ट स्मृति दिवस मनाईन्छ ।
संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्तावमा २७ जनावरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।
होलोकास्टमा ६० लाखभन्दा बढी यहुदीहरुको विभत्स हत्या गरिएको थियो । पृथ्वीको इतिहासमै यस घटनालाई सबै भन्दा बीभत्स नरसंहारको रुपमा चित्रित गरिन्छ । धार्मिक पहिचानकै कारण यहुदीहरूको हत्या गरिएको थियो । र, यो हत्या तानाशाह एडोल्फ हिटलर नेतृत्वको जर्मन नाजी पार्टीले गराएको थियो ।
नाजीहरूको निशानामा मुख्यतः यहुदीहरू थिए । उनीहरू नै सबैभन्दा बढी संख्यामा नाजीको शिकार बनेका थिए । पहिचानका कारण युरोपमा बस्ने हरेक १० मध्ये ७ यहुदीको हत्या गरिएको थियो । नाजीहरूले रोमा (जिप्सी) र अपाङ्गता भएका व्यक्तिसहित अन्य समूहको समेत हत्या गरेका थिए । होलोकास्लाई राष्ट्रियता, नस्ल वा धर्मको आधारमा ठूलो समूहले जानीबुझी गरेको सामूहिक हत्या भनिन्छ ।