नेभिगेशन
सबै कुरा

असुरक्षित बन्दै इन्ड्राइभः चालकले महिला यात्रुलाई अमर्यादित प्रस्ताव गरेको घटना सार्वजनिक

काठमाडौँ । यात्रुसँग मन लाग्दी भाडा असुल्ने र आफ्नै चालक लुटिदा पनि रमिते बन्ने आरोप खेपिरहेको राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभको अर्को एक गम्भिर घटना सार्वजनिक भएको छ । माघ २ गते घटेको सो घटनाले महिला यात्रुका लागि यो प्लेटफर्म कतिसम्म असुरक्षित भन्ने प्रष्टाउँछ ।  

मुग्लिनबाट काठमाडौँ आउनका लागि इन्ड्राइभ बुक गरेकी एक महिला यात्रुलाई चालकले बिच बाटोमा एकान्तमा बस्न र त्यसबापत भाडा नलिन गरेको प्रस्ताव सार्वजनिक भएको छ । 

एन्जिला खनाल नाम गरेकी एक युवतीले आफूमाथि अमर्यादित प्रस्ताव गरिएको भन्दै न्यायको माग गरेकी छिन् । ‘मुग्लिनबाट काठमाडौँ आउन बुक गरिएको उक्त प्लेटफर्मको चालकले एक घण्टा बसौँ न ल बरु पैसा लिन्न भन्दै अनुचित प्रस्ताव गरेको’ उनले खुलासा गरेकी छिन् । सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश प्रेशित गर्दै खनालले आफूले सो घटनापछि तत्काल इन्ड्राइभबाट सुरक्षाको प्रत्याभूति नपाएको भनेकी छिन् ।

खनालले अपलोड गरेको १० मिनेट लामो भिडियोअनुसार यो घटना माघ २ गतेको हो । 

टिकटकमा अपलोड गरिएको १० मिनेट लामो भिडियोमा उनले आफूले इन्ड्राइभ चालकबाट भोगेको दुर्व्यवहार खुलासा गरेकी छिन् । 

उनका अनुसार माघ २ गते उनी आफ्नी बहिनी सहित चितवनबाट काठमाडौँ फर्किदै थिइन् । मुग्लिन बजार आइपुग्दा उनीहरु चढेको गाडी बिग्रियो । गाडी मर्मत गर्न कति समय लाग्छ भन्ने टुङ्गो नलागेको र साँझको ७ बजिसकेको उनले भनेकी छिन् । 

विकल्प खोज्ने क्रममा उनले इन्ड्राइभले अहिले सुरु गरेको सिटी टु सिटी सेवा लिन एपको प्रयोग गरेको खनालले बताएकी छिन् । ‘अहिले इन्ड्राइभले नेपालका सेलिब्रेटिहरु प्रयोग गरि प्रमोसन गरिरहेको छ । त्यसैले उनले १२ वर्षको बच्चा पनि साथमा भएकाले इन्ड्राइभ नै उपयुक्त विकल्प लाग्यो’ उनले भनिन् ‘आपत्‌ पर्दा सबैभन्दा पहिला इन्ड्राइभ नै सम्झिएकी थिएँ । ’ 

तर, इन्ड्राइभका एक चालकले उनको त्यो विश्वास मात्रै उडाएनन् राइड सेयरिङबाट त्रसित बनाइदिए ।

खनालका अनुसार उनले इन्ड्राइभको सिटी टु सिटी सेवाका लागि राइड बुक गरिन् । उनको रिक्वेस्ट गरेपछि राइडरले स्वीकार गरेर उनलाई इन्ड्राइभकै सिस्टमबाट फोन गरे ।

यो सिस्टममा राइडरको नाम फोन नम्बर आउँदैन तर राइडरको कल आउँछ । सोही अनुसार उनलाई ति राइडरले कल गरे र आफू नारायणगढ भएपनि काठमाडौँ जानुपर्ने भन्दै यात्रुले प्रस्ताव गरेको भाडामामा ५ सय रुपैयाँ थप गर्न अनुरोध गरे । 

उनले आफूले प्रस्ताव गरेको भाडा नै अन्तिम भएको बताइन् । चालकले आफूलाई मुग्लीन आउन ४०/४५ मिनेट लाग्ने भन्दै जाने नजाने २ मिनेटमा खबर गर्ने भन्दै नम्बर मागे र ह्वाट्एसपमा खबर गर्ने बताए । फोनमै उनले २ जना मात्रै हुनुहुने रहेछ म लैजान्छु भन्दै स्विकार पनि गरे । र फोन राखे । 

उनले चालकलाई पर्खीरहेकी थिइन् । लगत्तै चालकले ह्वाट्एसपमा म्यासेज गरे । 

जुन मेसेज हेर्दा एन्जिला झसङ्ग भइन् । राइडरले भाडा बढाउन मेसेज गरेको होला भनेर म्यासेज हेरिन् तर म्यासेज उनले सोचे जस्तो थिएन । ति चालकले उनलाई खराब  नियत राखेर म्यासेज गरेका थिए । उनले सार्वजनिक गरेको भिडियोमा भएको संवाद यस्तो छ ।

राइडरले उनको रिक्वेस्ट एसेप्ट गरेपछि हेल्लो, भर्खर कुरा भएको थियो नि हजुर हो भन्दै प्रश्न गर्छन् । त्यसपछि कल गर्छन् । फोनमा २ मिनेट जति उनीहरुको भाडाको विषयमा बहस भएको यात्रु बताउँछीन् ।

फोन संवादमा जाने नजाने म म्यासेज गर्छु भन्दै फोन राखेका चालकले फेरी सुन्नुन हजुर भन्दै म्यासेज गर्छन् । 

चालकको म्यासेजमा उनले ‘हजुर भन्ने’ जवाफ दिन्छिन् । चाकलले ‘म एउटा कुरा सोधम नरिसाउनुस ल ? ’ भन्दै म्यासेज पठाउँछन् । यात्रुले ‘भन्नुस्’ भन्छिन् । 

फेरी चाकलले ‘हुन्छ कि नाई ?’ भन्ने म्यासेज गर्छन् । 

यात्रुले ‘के भन्नु भएको हो दाई मैले बुझिन’ भन्ने जवाफ दिन्छिन् । 

त्यसपछि चालकले ‘बाटोमा एक घण्टा बसम न ल, बरु पैसा लिदिन हुन्छ ?’ भन्दै म्यासेज गर्छन् । 

त्यस लगत्तै यात्रुले ‘के गर्नुभएको दाई ? भयो छोड्दिनु हजुर नआउनु’ भन्ने जवाफ दिन्छिन्। 

फेरी ति चालकले ‘किन ?’ भन्दै उल्टै प्रश्न गर्छन् । 

‘यात्रुले लाज लाग्दैन, के भन्न खोजेको भन्दै ह्यारसर अर्थात पीडक भन्दै म्यासेज फर्काउँछीन् । साथै ‘कम्पेल्न गर्दीम ? के सोचेर भन्नुभएको यो ?’ भन्दै म्यासेज गर्छीन् । 

यात्रुले यति भन्दा पनि ति चालकको अझै होस खुल्दैन बरु उनले ‘मन मिल्यो भने’ भन्दै म्यासेज गर्छन् । त्यसपछि यात्रुले ‘तपाईले सोचेको जस्तो मान्छे होइन म’ भन्दै ब्लक गर्छिन् ।

 ंंयो घटना पछि उनले टिकटकमा लामो भिडियो राख्दै राइड शेयरीङमा हुने असुरक्षा देखि इन्ड्राइभरको भौतिक कार्यालय तथा सम्पर्क विवरण नराखीएकोमा ध्यानाकर्षण भएको बताएकी छिन् । ‘यत्ति ठूलो समस्यामा मैले तत्काल सम्पर्क गर्न सकिन, उनले भनेकी छिन् ‘यदि ति चालकले ह्वाट्सएपमा मेसेज नगरी आफू र बहिनिलाई रिसिभ गरेर मुग्लिनबाट काठमाडौँ अँध्यरोमा केहि गरेको भए त्यो परिस्थिति कस्तो हुन्थ्यो ? म कहाँ हुन्थे, मेरो बहिनी कहाँ हुन्थ्यो ? त्यो अवस्था नसोचेको हुन्थ्यो ?’

साथै उनले आफूले गुनासो गर्न खोज्दा इन्ड्राइभको भौतिक कार्यालय र सम्पर्क नम्बर नभेटेको बताएकी छिन् । 

उनले एपभित्रै भएको ग्राहक प्रतिनिध सेवामा म्यासेज गर्दा प्रहरीमा उजुरी दिन सुझाव दिएकी बताएकी छिन् । साथै इन्ड्राइभरले प्रहरी उजुरी गर्न भने पनि चालकको विवरण भने दिन नमिल्ने भन्दै चालककै संरक्षण गरेको आरोप लगाइन् । 

साथै उनले इन्ड्राइभर एप्स् र इन्सटाग्राम मार्फत म्यासेज गर्दा पनि थप जानकारी नदिएको गुनासो गरेकी छिन् । 

एन्जिलाले इन्ड्राइभरको कुनै कार्यालय, सम्पर्क विवरण समेत नभएकाले प्रयोगकर्ताहरुलाई इन्ड्राइभर चढ्नुअघि सचेत हुन आग्रह समेत गरेकी छिन् । 

सिधाकुरासँग कुरा गर्दै एन्जलाले आफूले भोगेको पीडा सबैलाई साझा गरेर अन्य मानिसहरु यस्तो समस्यामा नपरुन र गलत मानिस कानुनको दायरामा आउन भन्ने चाहेको बताइन् । 

साथै उनले आफूले पहिले प्रहरीमा उजुरी गरेर मात्रै सामाजिक सञ्जालमा यो विषय सार्वजनिक गरेको सिधाकुरालाई बताइन् । 

‘म बुझेको मान्छे बोलिन भने को बोल्छ ? अहिले मैले सामाजिक सञ्जालमा सबै कुरा सार्वजनिक गरेपछि कयौँ दिदी बहिनीहरु मेरो सम्पर्कमा आउनु भएको छ,’ उनले भनिन्,‘यस्तो धेरैलाई भइरहेको रहेछ । अब बोल्नु पर्छ ।  कम्पनी सुध्रिनु पर्छ ।’

तीनकुने प्रहरीमा दिएको जाहेरी अनुसन्धानको क्रममा रहेको पनि उनले बताइन् ।  

यस विषयमा काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले यस अघि पनि इन्ड्राइभरबाट ठगिका घटनाहरु पनि आएको  बताए । साथै यो घटनाका विषयमा प्रहरीमा जानकारी प्राप्त भएको तर घटनास्थल अन्य जिल्लामा भएका कारण सबै प्रक्रिया बुझेर थप अनुसन्धान अघि बढ्ने बताए । 

यस विषयमा हामीले इन्ड्राइभको नेपाल कार्यालयलाई सम्पर्क गरेका थियौँ । 

सिधाकुराको सम्पर्कमा आएका एक प्रतिनिधिले यो घटनाबारे जानकारी भएको बताए । उनले घटना भएको दिन नै यात्रुले एप मार्फत गुनासो गरेपछि इन्ड्राइभरका तर्फबाट २ पटकसम्म सम्पर्क गरेको दाबी गरे । 

उनकाअनुसार तत्कालै चालकलाई जिवनभरका लागि ब्यान्ड गरिएको छ । 

‘हामीले पीडित युवतिसँग कुरा गरीसकेका छौँ,’ ति प्रतिनिधिले भने,‘हामीले ति चालकलाई कारबाही पनि गरेका छौँ । प्रहरीले मागेको खण्डमा थप विवरण उपलब्ध गराउँछौँ ।’

इन्ड्राभले साथै, यात्रु सुरक्षाका विषयमा एपमा नै तत्कालै इमरजेन्सी नम्बरमाा कल गर्न सकिने पनि दाबी गरेको छ । 

इन्ड्राइभरमा कहिले यात्रु असुरक्षित हुने त कहिले भाडामा मनपरी गर्ने मात्रै होइन, इन्ड्राइभरले आफ्नै चालकहरुलाई समेत सुरक्षा दिन नककेको बिषय पनि यस अघि सार्वजनिक भइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation