नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीलाई १८० किलोको माला, माला लगाइदिनेमा कर्मचारी सरुवामा १० लाख घुस माग्ने मन्त्रीका स्वकीय पनि !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सामा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा सहभागी भए । 

पार्टीको जिल्ला कमिटीले उनलाई एक सय र ८० किलोका दुई वटा मालामार्फत नागरिक अभिनन्दन गर्यो । एमाले पर्साका सचिव महेश दासका अनुसार पार्टीले प्रधानमन्त्री ओलीलाई १ सय किलोको एउटा र अर्को ८० किलोको माला लगाएर अभिनन्दन गरेको हो । 

प्रधानन्त्री ओलीलाई १ सय किलोको मालाले अभिनन्दन गर्दै गर्दा त्यही मालामा बेरिए पर्सा जिल्ला क्षेत्र न ३ का सांसद समेत रहेका संघीय मामिला तथा प्रशासनमन्त्री राजकुमार गुप्ता । गुप्ता सहित अन्य केही व्यक्ति पनि प्रधानमन्त्रीसँगै मालाभित्र छिरे ।  

प्रधानमन्त्रीसँगै एउटै मालामा बेरिनेहरुमा मन्त्री गुप्तासहित अर्का एक व्यक्ति थिए, उनकै निजी स्वकीय उपसचिव शिव पटेल । पटेलले सामान्य प्रशासन मन्त्रालयमा बसेर कर्मचारी सरुवामा ७ देखि १० लाख रुपैयाँ घुस मागेको सिधाकुराले खुलासा गरेको थियो । 

सामान्य प्रशासन मन्त्री गुप्ताका स्वकीय सचिव पटेलले मागे सरुवामा ७ देखि १० लाख घुस

मालाभित्र प्रधानमन्त्रीभन्दा अगाडि दायाँ छेउमा उभिएका उनै शिव पटेल हुन् । 


उनले कर्मचारी सरुवा गराउन एक कर्मचारीसँग ७ देखि १० लाख रुपैयाँ घुस माग गरेको ह्वाटस्एप म्यासेज सार्वजनिक भएको थियो । 

सिधाकुरासँग कुराकानी गर्दै पटेलले उक्त म्यासेज तीन चार महिना अघिको आफ्नै भएका स्वीकार गरेका थिए । ‘उक्त कुराकानी तीनचार महिना अघिको हो, साथिभाईले अहिले दुश्मनी साँधे ठिकै छ,’ उनले भनेका थिए ।  

उनीसँग सरुवा मिलाइन माग गर्ने कर्मचारीसँग पनि सिधाकुराले सम्पर्क गरेको थियो । उनले पटेलले रकम माग गरेको स्विकार गरेका थिए । पटेल र ती कर्मचारीको ह्वाट्सएप म्यासेज सार्वजनिक भएपछि संघिय मामिला मन्त्री राजकुमार गुप्ताले पटेललाई हकारेका थिए । 

प्रधानमन्त्री ओली सहभागी हुने आइतबारको कार्यक्रम तयारीका लागि मन्त्री गुप्ताले नै पटेललाई पर्सा पठाएका थिए । यो बिचमा उनलाई छानबिन गर्दा पर्साको कार्यक्रमको तयारी नपुग्ने भएकाले उनीमाथीको छानबिन मन्त्री आफैँले रोकेको मन्त्रालय स्रोतले जनाएको छ । 

मन्त्रीले यो विषयलाई गुपचुपमै राख्न खोजेपनि मन्त्रालयभित्र पटेलको व्यवहारबाट आजित भएका कर्मचारीहरुले भने छानबिन गर्नुपर्ने बताइरहेका छन् । समाचार सार्वजनिक हुने समयमा वीरगंजमा रहेको पटेललाई काठमाडौँ फर्किएपछि छानबिन गर्ने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ ।  

सामान्य प्रशासन मन्त्री गुप्ताका स्वकीय सचिव पटेलले मागे सरुवामा ७ देखि १० लाख घुस



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation